समाज

बँदेलको आक्रमणबाट ७० वर्षीया वृद्धा घाइते

साङ्केतिक तस्बिर।

जङ्गली बँदेलको आक्रमणबाट बैतडीमा एक वृद्धा घाइते भएकी छिन्। पाटन नगरपालिका–५ धनचुलीकी ७० वर्षीय दुरा जोशी घाइते भएकी हुन्।

मंगलबार दिउँसो बाख्रा चराउन घर नजिकै बारीमा गएकी जोशीलाई जङ्गली बँदेलले आक्रमण गरेर गम्भीर घाइते बनाएको पाटन नगरपालिका–५ की सदस्य पार्वती चन्दले जानकारी दिइन्।

घाइते जोशीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ। मानवबस्तीमै पसेर जङ्गली बँदेलले आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेको चन्दले बताइन्। पछिल्लो समयमा जङ्गली बँदेलहरूले मानव बस्तीमै पसेर आक्रमण गर्न थालेका छन्।

जिल्लामा चितुवापछि बँदेलको आक्रमणबाट धेरै जना घाइते भएको डिभिजन वन कार्यालयको तथ्यांक छ। अहिलेसम्म चितुवा, जङ्गली बँदेल तथा बाँदरको आक्रमणबाट २० जना भन्दा बढी गम्भीर घाइते तथा अंगभंग भएको डिभिजन वन कार्यालय बैतडीका सूचना अधिकारी मदनप्रसाद जोशीले बताए।

यो वर्ष मात्रै बँदेलको आक्रमणबाट चार जना घाइते भएको तथ्यांक छ। आहाराको खोजीमा जङ्गली जनावर मानव बस्तीमा पस्ने गरेका छन्।

प्रकाशित: १७ माघ २०८० १३:४९ बुधबार