समाज

बाँदर बध्याकरणबारे बुझ्न भारत जाँदै सांसद टोली

प्रतिनिधिसभाका दुई समितिमा आबद्ध सांसदहरू विधेयकमाथि छलफल गर्न छाडेर धमाधम भारत जान लागेका छन्। एक टोली गइसकेको छ भने अर्को टोली जाने तयारीमा छ। भारत सरकारको सहयोगबाट उपलब्ध बजेटमा सांसदहरू भारत जान लागेका हुन्।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका कृषि समितिले बन्ध्याकरणमार्फत बाँदरको नियन्त्रणबारे अध्ययनका लागि चिकित्सक र सांसदहरूको टोली भारतको हिमाञ्चल राज्य जान लागेको जनाएको छ।

संसदीय कूटनीति र पर्यटन प्रवद्र्धन गर्न भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सांसदहरू मंगलबार भारत प्रस्थान गरेका छन्। यो समितिका आठ सांसदसहित ११ जनाको टोली प्रतिनिधिसभाको अधिवेशन आह्वान भएको दुई दिनपछि अर्थात् माघ २४ गते मात्र नेपाल फर्कने छ।

माघ २२ गते संसद्को अधिवेशन आह्वान गरिएको छ। एकातिर संसद्मा बिजनेस नहुने भन्दै सभामुखले सबै समितिलाई विधेयकमाथि छलफल गर्न आग्रह गरेका छन् भने अर्कातिर सांसदहरू भारततिर लागेको र लाग्न लागेको अवस्था छ।

१० जना पशु चिकित्सक र वनका पाँच जना रेन्जरसहित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरू भारत जान लागेका छन्।

यो समितिको भ्रमणको मिति तय भएको छैन तर छिट्टै जाने विषयमा छलफल भएको समितिका एक सदस्यले जानकारी दिए। यसअघि संसद् र समितिको बैठकमा सांसदहरूले बाँदर आतंकको विषयमा कुरा उठाउँदै यसको नियन्त्रण गर्नुपर्ने बताएका थिए।

प्रकाशित: १७ माघ २०८० ०१:५२ बुधबार

प्रतिनिधिसभा सांसद छलफल बाँदर बन्ध्या करण कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति भारत हिमाञ्चल राज्य संसद् अधिवेशन