समाज

पुसभन्दा माघमा किन बढी जाडो ?

२०६५ सालमा बसेको मन्त्रिपरिषद् बैठकले २०६६ सालमा एक वर्षका लागि चैत महिना हटाउने निर्णय गर्‍यो, जसअनुसार २०६६ को पात्रोमा एक महिना हटाएर तयार गर्न सरकारले पञ्चांग निर्णायक समितिलाई निर्देशन गर्‍यो। त्यति बेला पञ्चांग निर्णायक समितिको अध्यक्षमा डा. माधव भट्टराई थिए। सरकारको यो निर्णयको निकै बहस र छलफल भयो। यो निर्णय हिन्दु धर्म, संस्कृति र परम्पराविरुद्ध भन्दै अधिकांश ज्योतिषले विरोध गरे।

ज्योतिषहरूको विरोधपछि सरकार आफ्नो निर्णयबाट पछि हट्यो। यतिबेला भने यो विषय सेलाउँदै गएको छ। तर प्रकृतिको समयचक्रमा भने केही नियम हरेक वर्ष केही दिन पर सर्दै गएको देखिएको छ। यो वर्ष चिसो पोहोर सालको तुलनामा २०/२१ दिन पर सरेको छ। 

मौसमविद् रोजन लामिछानेका अनुसार गत वर्ष सबैभन्दा बढी चिसो दिन जनवरी ७ (२ दशमलव ५ डिग्री) थियो तर यस वर्ष सबैभन्दा चिसो अहिलेसम्मको रेकर्डमा जनवरी २८ लाई मापन गरिएको छ। जनवरी २८ मा यस वर्ष चिसो २ दशमलव १ डिग्री पुगेको थियो। यो भनेको आइतबार हो। पोहोरको तुलनामा यस वर्ष चिसो पर सर्नुमा वायुमण्डल र विश्वको मौसम प्रणालीले प्रभाव पारेको उनको भनाइ छ।

विज्ञहरू भन्छन्, ‘अहिले हामी वास्तविक समयभन्दा २३ देखि २४ दिन अगाडि छौं। सायन पद्धति (सूर्यलाई आधार मान्दा) लाई मान्ने हो भने यो वर्ष सूर्य २३ दिनअगाडि नै अर्को राशिमा प्रवेश गरिसकेको छ। त्यसैले यस वर्ष नयाँ वर्ष मनाउँदा २३ दिन कटाएर मनाउने हो भने सायन पद्धतिबाट एक वर्ष पूरा हुनेछ। यस पद्धतिअनुसार हरेक ७२ वर्षमा एक दिन बढी हुन्छ। विक्रम संवत् सुरु भएदेखि अहिलेसम्मको हिसाब गर्दा हामी २३ देखि २४ दिन पर गइसकेका छौं। त्यसैले २३ देखि २४ दिन हटाउनुपर्छ भन्ने विज्ञहरूको भनाइ हो। इस्वी संवत् सम्बद्ध पात्रो तयार गर्नेहरूले हरेक ४ वर्षमा फेब्रुअरी महिनामा एक दिन बढाउने गर्छन्। यसलाई लिप एयर भन्ने गरिएको छ।

प्राध्यापक तथा ज्योतिष आमोद आचार्य भन्छन्, ‘हामीले ३ सय ६५ दिनलाई वर्ष दिन मान्ने गर्छौं। तर त्यो यथार्थ होइन। एक वर्ष भनेको ३ सय ६५ दिन र ५ घण्टा ४८ मिनेट हो। त्यसैले ५ घण्टा ४८ मिनेटलाई मिलान गर्न हरेक ४ वर्षमा फेबु्रअरी महिनामा एक दिन बढी मान्ने गरिएको छ। यसलाई लिप इयर भन्ने गरिएको छ।’

उनका अनुसार अरू वर्ष फेब्रुअरी महिनामा २८ तारिखसम्म हुन्छ। तर लिप इयरमा २९ तारेख हुन्छ। ४ ले भाग जाने वर्षलाई लिप इयर भन्ने गरिएको छ। त्यसैले यस वर्ष (सन् २०२४) फेबु्रवरी महिनामा २९ तारेख राखिएको छ। इस्वी संवतनुसार पात्रो तयार गर्दा सूर्यलाई मात्र आधार मान्ने गरिएकाले हरेक ४ वर्षमा एक दिन बढी राख्ने गरिएको उनको भनाइ छ। उनले भने, ‘तर हामी वि.सं. अनुसार पात्रो तयार गर्छौं। त्यसैले हामी लिप इयर मान्दैनौँ। हामीले सूर्य र चन्द्रमा दुवैलाई आधार मान्छौं। उनीहरूका चाडपर्व तारेखअनुसार हुने गर्छन्। तर हामीले तिथिअनुसार चाडपर्व मनाउने गर्छौं।’

नेपालका अधिकांश ज्योतिषीहरूको भनाइ यस्तै छ। उनीहरूका अनुसार हामीले सायन पद्धति नभई निरयण पद्धति मान्ने भएकाले निरयण पद्धतिअनुसार अहिले हामी ठिक ठाउँमा छौं। त्यसैले २३ दिन कटाउन आवश्यक छैन। उनीहरूका अनुसार निरयण पद्धति भनेको सूर्यको गतिलाई भन्दा एक वर्षमा पूरै दिन (३ सय ६५ दिन नै) हुन दिन आवश्यक छ।

‘हामी हजारौं वर्षदेखि यही पात्रोमा चलेका छौँ। हाम्रा पूर्वज तथा विद्धान्हरूले निरयण पद्धतिलाई आधार मानेर पात्रो तयार गरेका हुन्,’ पंचाग निर्णायक समितिका पूर्वअध्यक्ष डा. माधव भट्टराई भन्छन्, ‘त्यसैले २३ दिन हटाउने कुरा हिन्दु धर्म मास्ने कुरा हो। यो हुनै सक्दैन। अहिले हामी सही ठाउँमा छौं।’ 

उनका अनुसार भारतमा पनि नेपालमा झैं एक सालमा २४ दिन हटाउने प्रयास गरिएको थियो। यसका लागि एउटा आयोगसमेत बनेको थियो तर भारतमा यसको विरोध भएपछि भारत सरकार आफ्नो निर्णयबाट पछि हट्यो।

प्रकाशित: १६ माघ २०८० ००:३३ मंगलबार

मन्त्रिपरिषद् बैठक पञ्चांग निर्णायक समिति हिन्दु धर्म मौसम प्रणाली ज्योतिष संस्कृति आमोद आचार्य विक्रम संवत्