समाज

लाभग्राहीले अनुदान लिए, घर बनाएनन्

धादिङको गजुरीमा अनुदान लिएर घर बनाउन तयार पारिएको जग । तस्बिर : सरिता

धादिङ – गजुरी गाउँपालिका ६ का भूकम्पपीडित केदारनाथ अधिकारीले घर बनाउन पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ लिइसकेका छन् । घर बनाउने भने सुरसार नै छैन । ‘घर बनाउन लगेको पैसा अरू काममा खर्च भयो, घर कसरी बनाउनू,’ अधिकारीले भने, ‘पैसा नभएर घरको जग हाल्न सकेको छैन।’

२०७२ सालमा गएको भूकम्पले उनको घर बस्न नहुने गरी भत्केको थियो । टहरामा बस्दै आएका अधिकारी दोस्रो किस्ता गुम्ने हो कि भन्ने डरमा छन् । ‘सरकारले दोस्रो किस्ताबापतको रकम लिने म्याद चैत मसान्तसम्म तोकेको छ, आफूले भने घरको जग हाल्नसमेत सकेको छैन’, उनले भने । 

भूकम्पपछि अधिकांश परिवार चर्केकै घर टालटुल गरी बसेका छन् । घर पूरै भत्केकाले पनि टहरो मर्मत गर्दैमा पहिलो किस्ताबापतको रकम सिद्ध्याएका छन् । घर नबनाए सरकारले रकम फिर्ता माग्छ कि भन्ने डर भूकम्पपीडितमा छ।

भूकम्पपछि अधिकांश परिवार चर्केकै घर टालटुल गरी बसेका छन् । घर पूरै भत्केकाले पनि टहरो मर्मत गर्दैमा पहिलो किस्ताबापतको रकम सिद्ध्याएका छन् । घर बनाउन सुरु गरेकाले पनि जग हालेर छाडेका छन् । घर नबनाए सरकारले रकम फिर्ता माग्छ कि भन्ने डर भूकम्पपीडितमा छ । ‘घर बनाएन भने पैसा फिर्ता दिनुपर्छ रे’, अधिकारीले भने, ‘अब ऋण गरेर भए पनि घर बनाउन थाल्नुपर्ला ।’ पहिलो किस्ता लिने धेरै भए पनि घर निर्माण कार्यले तीव्रता नपाउँदा दोस्रो र तेस्रो किस्ता पाउने थोरै छन् ।

धादिङमा भूकम्पपछि पुनर्निर्माणका लागि ७३ हजार २ सय ७६ परिवार लाभग्राही सूचीमा परेका थिए । तीमध्ये ६८ हजार ८ सय ४० घरधुरीले अनुदान सम्झौता गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार पुनर्निर्माणका लागि सम्झौता गरेका मध्ये ६८ हजार १ सय ६४ जनाले पहिलो किस्ताबापतको रकम लगेका छन् । रकम लगेका केहीले घरको जग हालेर छाडेका छन् भने केहीले घर बनाउनसमेत थालेका छैनन् । पहिलो किस्ता लिएर घर बनाउन थालेका मध्ये १८ हजार २ सय ६३ जनाले मात्र दोस्रो किस्ताबापतको रकम लगेका छन् । हाल ३१ हजार ६ सय ६६ घरको पुनर्निर्माण भइरहेको प्राधिकरणले जनाएको छ। 

धादिङमा सरकारी अनुदान लिएर पनि घर नबनाउने धेरै छन्। भूकम्पले घर क्षतिग्रस्त भएपछि सरकारले रकम उपलब्ध गराएपनि भूकम्प प्रभावितले घर बनाउन सुरु गरेका छैनन्। घर बनाउनेको संख्या असाध्यै थोरै छ । घर निर्माण अघि बढाएर तेस्रो किस्ताको एक लाख रुपैयाँ लिनेको संख्या झनै कम छन्। पहिलो किस्ता लिएर घर बनाउन थालेका गजुरी गाउँपालिका १ बाँसखर्कका वीरबहादुर तामाङ दोस्रो किस्ताको रकमको पर्खाइमा छन्। अनुदान लिएको धेरैपछि बल्ल घरको जग हालियो तामाङले भने, ‘अब दोस्रो किस्ताका लागिनिवेदन दिनुपर्ला।’ बाँसखर्कका अधिकांश भूकम्पपीडितले घरको डिपिसी सकेर दोस्रो किस्ताका लागि निवेदन दिएका छन् । हिउँद लागेपछि बर्खा र बर्खामा हिउँदमा बनाउने भन्दै पीडितहरूले घर बनाउने भाका सार्दै आइरहेका थिए। 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चैत मसान्तसम्मलाई दोस्रो किस्ता लिने मिति तोकेको छ। तर, पहिलो किस्ताका लागि अनुदान सम्झौता गरेकाहरू पनि घर बनाउन थालेका छैनन् । सरकारले दिएको म्यादमा थोरै घर निर्माण हुने देखिएको छ। विभिन्न समस्याका कारण लाभग्राहीले घर बनाउन सकेका छैनन् । म्याद सकिनै लाग्दा ढुवानी समस्या, निर्माण सामग्री र जनशक्ति अभावले पुनर्निर्माणमा कठिनाइ भएको भूकम्पपीडित बताउँछन्। घर निर्माण सम्पन्न गरेपछि लाभग्राहीले थप एक लाख रुपैयाँ पाउने व्यवस्था छ ।अनुदान लिएपछि घर बनाउने दायित्व व्यक्ति स्वयंको हुन्छ तर उनीहरूमा जागरुकता कम देखिएको सहरी विकास तथा भवन डिभिजन कार्यालय धादिङका प्रमुख दिलीप भण्डारीले बताए।  

प्रकाशित: २५ फाल्गुन २०७४ ०२:२७ शुक्रबार