समाज

विपन्न गाउँमा मिर्गौला जोगाउनै मुस्किल

आर्थिक अवस्था कमजोर भएका काभ्रेका एक युवकले २०७६ सालमा ललितपुरस्थित निदान अस्पतालमा दलालको प्रलोभनमा परी मिर्गौला बेचे। उनले मिर्गौला बेचेबापत तीन लाख रूपैयाँ पाए।

उनको मिर्गौला दलालले रामेछापका शंकरलाल लामालाई नक्कली भान्जा बनाएर दिन लगाएका थिए। दलालले स्वास्थ्यमा केही असर नपर्ने, बदलामा पैसा पाइने भनेर मिर्गौला बेच्न उक्साएका थिए। यसमा स्थानीय दलाल नै सक्रिय थिए।

कागजपत्रमा भने शंकरलालका भान्जा पर्ने सञ्जीव घिसिङ थिए। अस्पतालमा पेस गरिएका कागजातअनुसार व्यक्तिको अनुहार नमिलेपछि घटना बाहिरिएको थियो।

तर गुपचुप पारिएका र कारबाहीको दायरामा नआएका यस्ता धेरै घटना छन्। करिब अढाई दशकअघि काभे्रको होक्से गाउँमा मिर्गौला बिक्रीका लागि होडबाजी चलेको थियो। त्यहाँका स्थानीयले दलालमार्फत भारत गएर मिर्गौला बिक्री गर्थे।

 होक्सेका ५५ वर्षीय सुजन लामा (नाम–थर परिवर्तन) १९८८ सालमा भारतमा गएर मिर्गौला बेच्नेमध्येका एक हुन्। उनलाई दलालले मिर्गौला लिने व्यक्तिको एक सय रोपनी जग्गा भएको र मिर्गौला दिएपछि १० रोपनी दिने भनेर लोभ्याएका थिए।

मिर्गौला दिएपछि उनले लिने मान्छेलाई भेट्न पनि पाएनन्। सम्पर्क गर्न खोज्दा दलालले मिर्गौला लिनेको फोन बन्द रहेको बताए। उनले मिर्गौला त दिए तर त्यसबापत पैसा पाएनन्। उनलाई भैरहवा नाकासम्म ल्याइदिएर दलाल फर्के।

होक्सेकै स्थानीय एकजना दलालीको काम गर्थे। दलाली गर्ने क्रममा भारतमा लामो समय बिताएका उनी १९९६ सालमा होक्से फर्किए। उनले भट्टी पसलमा युवालाई टन्नै खुवाए। उनीसँग यत्रो खर्च गर्ने पैसा कहाँबाट र कसरी आयोे भन्ने जिज्ञासा ती युवामा जाग्यो। ती दलालले भारतमा काम गरेर कमाएको बताए।

टन्न कमाउने सपनामा केही युवक ती दलालसँगै भारत पसे। चार÷पाँच महिनासम्म सुरक्षा गार्डको काम गरे तर भनेको जति कमाइ भएन। दलालले पैसा कमाउने उपाय बताइदिए। त्यो उपाय थियो– मिर्गौला बेच्ने। भारत पसेका मध्ये एक युवकले आफ्नो मिर्गौला बेचे। त्यसबापत एक लाख २० हजार रूपैयाँ लिएर उनी घर फर्किए।

दलालले मिर्गौला दिने र लिने दुवैलाई ठग्थे। मिर्गौला लिनेको आर्थिक स्थिति बुझेर सक्दो पैसा असुल्थे। मिर्गौला दिनेलाई निकै कम पैसा दिन्थे। कतिपय अवस्थामा त मिर्गौला नमिलेको, लिने मान्छे उल्टै बिरामी परेको भनेर पैसा दिँदैनथे।

एक अध्ययनअनुसार काभे्रमा अढाई दशकअघि तीन सय जनाभन्दा बढीले मिर्गौला बेचेको पाइएको छ। मिर्गौला बेच्न उक्साउन भारतीय दलालले काभ्रेका दलाललाई प्रयोग गर्थे। अध्ययन प्रतिवेदनअनुसार स्थानीय दलालले एउटा मिर्गौला दिँदा स्वास्थ्यमा कुनै पनि असर नपर्ने, काम गर्न सकिने जस्ता सूचना प्रवाह गरेका थिए।

तिनै दलालले दलालीमार्फत कमाएको पैसा गाउँमा खर्च गरी आफूसँग टन्न पैसा भएको देखाउँथे। अनि भन्थे– पैसा कमाउने तरिका हामीसँग छ। काभ्रे होक्सेका बासिन्दा गरिबीका कारण मिर्गौला बेच्न बाध्य भएको समाचार प्रवाह गरिँदै आएको थियोे।

विज्ञ भने गरिबीभन्दा पनि दलालले दिने प्रलोभन र अशिक्षा नै यसको प्रमुख कारण बताउँछन्। शिक्षा र जनचेतनामा भएको वृद्धिसँगै अहिले त्यो गाउँमा ‘मिर्गौला बेच्नु हुँदैन’ भन्ने सूचना बोर्ड टाँसिएको छ। ग्लोबल पब्लिक हेल्थ जर्नलमा प्रकाशित ‘इथ्नोग्राफिक स्टडी अफ भिलेज विथ वान किडनी इन सेन्टरल नेपाल’ नामक अनुसन्धानले अहिले होक्सेमा मिर्गौलाको दलाली रोकिएको देखाएको छ।

अध्ययन प्रतिवदेनअनुसार मिर्गौला बिक्री गर्दा स्वास्थ्यमा केही असर नपर्ने भनिएकाले बिक्री गरेकाले जोखिमपूर्ण काम गर्थे। यसबाट गाउँलेलाई मिर्गौला बिक्री गर्नु सामान्यजस्तै लाग्थ्यो। त्यो बेला मिर्गौला बेचेर एक लाख पाउनु पनि गाउँलेका लागि ठुलो रकम थियो। कसैले त मिर्गौला बेचेर घर पनि बनाए।

दलालले मिर्गौला बेच्नेलाई भारत लैजान आवश्यक कागजपत्रदेखि सिमानामा सेटिङ मिलाउँथे। ‘भाइ–भतिजा बनाएर सीमाबाट छिराउँथे, अस्पतालमा चिकित्सकलाई पनि यस्तै जवाफ जवाफ दिन्थे,’ प्रतिवेदनमा उल्लेख छ। मिर्गौला लिनेसँग नाता मिल्नेगरी नक्कली कागजात तयार पार्थे।

अध्ययनअनुसार मिर्गौला बेचेकाले बिरामी हुँदा पनि पोल खुल्छ भनेर स्वास्थ्य परीक्षण गराएनन्, औषधि पनि सेवन गरेनन्। गह्रौं काम गर्न नहुने भए पनि गरिरहे। त्यसबाट स्वास्थ्यमा प्रतिकूल असर पर्न गयो।

मिर्गौला दलाल सक्रिय 

सन् २०२२ मा सार्वजनिक अध्ययनले मुलुकका अन्य विकट गाउँमा पनि मिर्गौला तस्करीको जोेखिम कायमै रहेको जनाएको छ। पछिल्लो समय सिन्धुपाल्चोक, म्याग्दी, काभे्रलगायत जिल्लाका विकट गाउँमा मिर्गौला दलाली भएको समाचार सञ्चारमाध्यममा आएका छन्। इथ्नोग्राफिक अध्ययन विधिले मिर्गौला बिक्रीको कारण दलालीकरण र देखासिकी पनि भएको औंल्याएको छ।

हालै राजधानीमा आयोजित एक कार्यक्रममा विज्ञले नेपालमा मिर्गौला दलालीको जोखिम कायमै रहेको बताएका छन्। मिगौंला दलाल अहिले पनि सक्रिय रहेको जनस्वास्थ्यविद् तथा अक्सफोर्ड विश्वविद्यालयका वरिष्ठ वैज्ञानिक डा. विपीन अधिकारी बताउँछन्। अधिकारी जनस्वास्थ्यको क्षेत्रमा दक्षिण पूर्वीं एसिया र नेपालमा अनुसन्धानरत छन्।

प्रतिवेदनअनुसार मिर्गौला बिक्रीमा होक्सेका स्थानीय दलाललाई प्रयोग गरिएकाले यो विषय लामो समयसम्म बाहिर आउन नसकेको हो। ‘बाहिरी दलाल भएको भए समयमै थाहा हुन्थ्यो,’ डा. अधिकारीले भने। नेपालमा अहिले पनि विकट गाउँ र विपन्न परिवारका मानिसलाई मिर्गौला बेच्न प्रलोभन दिने दलाल सक्रिय रहेको डा. अधिकारीको बताउँछन्। ‘विपन्न, विकट गाउँ धेरै छन्, दलाल यस्ता ठाउँमा पुग्छन्,’ उनले भने।

प्रकाशित: १५ माघ २०८० ०१:१४ सोमबार

कागजपत्र दलाल मिर्गौला विपन्न गाउँ अस्पताल स्वास्थ्य भारत