समाज

'योङ मिनिष्टर ! सम्झना राख्दै गर्नुस है' (फोटो फिचर)

दोलखाको चिलंखा गाउँमा नर्वे सरकारले बनाएको बिद्यालयमा त्यहाँका विकास मन्त्री निकोलाई अष्ट्रप । तस्विर : नागरिक

(चिलंखा)दोलखा  – नर्वे सरकारका विकास मन्त्री निकोलाई अष्ट्रप बुधबार मध्यान्ह हेलिकप्टरबाट जिल्लाको विकट उत्तरी चिलंखा गाउँमा ओर्लिए। भूकम्पले थला पारेको उत्तरी गाउँहरुमा उनको सरकारले २९ करोड लागतमा बनाउदै गरेका २२ वटा विद्यालय मध्ये एउटा आधारभुत तहको सामुदायिक स्कुल उद्घाटन गर्न आएका थिए उनी। 

निलो कोट पाईन्टसहितको आकर्षक पहिरनमा ठाटिएर आएका उमेरले ४० नकटेका विकसीत देशका युवा मन्त्रीसंग जिल्लाका सांसद, उत्तरका गाउँपालिका र वडास्तरका जनप्रतिनिधि सम्मले उत्साहित हुँदै सुशासनका बिषयका एक घण्टा लामो अन्तरक्रिया गर्न पनि भ्याए।  

तीन वटा गैररकारी संस्थामार्फत नर्वे सरकारले १ करोडको लगानीमा निर्माण गरेको दोलखाको विगु गाउँपालिका ५ चिलंखा स्थित देविटार आधारभुत विद्यालयको बुधबार दिउँसो मन्त्री निकोलाई ले उद्घाटन गरेका थिए। 
काठमाडौंस्थित दूतावासका अधिकारीसहित ओर्लिएका उनले बिद्यालयका प्रत्येक कक्षाकोठा घुमे। बिद्यार्थीसंग भर्खरै बनेको बिद्यालय भवन र शैक्षिक गुणस्तर बारे जिज्ञासा राखे। बालबालिकासंग निकै खुलेका उनले कक्षाकोठामा राखिएको विश्व नक्सामा नर्वे देखाए। 

बिद्यालयका व्यवस्थापन समितिका पदाधिकारीसंग शिक्षक नियुक्ती प्रक्रिया र भवन निर्माणका क्रममा देखिएका समस्याबारे सोधेका उनले पढ्न आउने किशोरीका समस्या पनि मसिनो गरी सुने। चिलंखाको लोटिङस्थित डाँडामा रहेको विद्यालयबाट पारी पट्टी खोपाचागु, आलम्पु र लादुकतर्फ बनेका अरु बिद्यालय पनि नियाले।   

प्रदेशसभा ३ का एमाले सांसद पशुपति चौलागाईसंग मिलेर बिद्यालय भवनको उद्घाटन गर्दै उनले नर्वे र नेपालको मैत्रीपूर्ण सम्बन्ध, नेपालमा नर्वे सरकारको सहयोगबारे बोलेका थिए। समुदायमार्फत खेल मैदान, पुस्तकालय, फर्निचर, शौचालयसहित ४ वटा भवन भएको सुविधा सम्पन्न  बिद्यालय बनेको भन्दै सांसद चौलागाईले नर्वे सरकार र स्थानीय समुदायलाई धन्यवाद दिए। 

बिद्यालय उद्घाटन गरेर जिल्लाका जनप्रतिनिधिसंग एउटा कोठामा आयोजना गरिएको अन्तरक्रियामा मन्त्री अष्ट्रपले संविधान जारी भएपछिको नयाँ संरचनाका काम र समन्वयबारे जिज्ञासा राखे। केन्द्र, प्रदेश र स्थानीय सरकारको समन्वयात्मक सहयोगबारे जिज्ञासा राखेर जनप्रतिनिधिका कुरा सुनेका उनले कुनै सवाल जवाफ भने गरेनन्।

जनप्रतिनिधिले भर्खरै वामे सर्दै गरेको संघीयता सफल हुने र देशका तीन वटै तहबीच समन्वय भइरहेको सुनाए।  महिला सशक्तीकरण र महिला अधिकारका बारेमा लामो जिज्ञासा राखेका उनले महिलालाई नेतृत्वमा पु-याउँदा मुलुक सफल हुने बताएका थिए। स्थानिय तहको विकासका लागि नर्वे सरकारले केन्द्र सरकारमार्फत सक्दो सहयोग गर्ने बचन मन्त्री अष्ट्रपले दिए।   

मन्त्रीसंग सांसद चौलागाईसहित जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डे, कालिञ्चोक गाउँपालिकाका प्रमुख विनकुमार थामी, विगु गाउँपालिकाका प्रमुख युधिष्ठीर खड्का, उपप्रमुखहरु, वडाध्यक्षहरु थिए।  

युवा मन्त्रीसंग विगु गाउँपालिकाका उपप्रमुख सञ्जिव ओलीले विकसित मुलुकमा ४० बर्ष मुनीका युवा नेतृत्वदायी भुमिकामा रहेको भन्दै प्रशंसा गरे। अंग्रेजीमा राम्रो दख्खल भएका ३३ बर्षिय ओलीको प्रशंसाबाट मक्ख हुदै मन्त्री अष्ट्रपले भने– ‘तपाईहरुको देशमा पनि तपाईजस्ता युवाहरु नेतृत्वमा पुग्दै हुनुहुन्छ नी।’ नर्वेमा कन्जरवेटिभ पार्टीको सरकार बनेपछि भर्खरै विकास मन्त्रीमा नियुक्त भएका उनले दक्षिण एसियाको पहिलो भ्रमण नेपालबाट शुरु गरेका थिए। 
नर्वे सरकारको सहयोगमा भवन निर्माणको काम गरिरहेको टुकी सिविनका व्यवस्थापक रविन्द्र पराजुलीले नर्वेको सहयोगमा दोलखा उत्तरका लामिडाँडा, बाबरे, चिलंखा, लादुक, आलम्पु र खोपाचागुमा गरेर २२ ओटा बिद्यालय बनाउँदैछ। ति मध्ये ११ ओटा सम्पन्न भईसकेका छन्। 

कार्यक्रम सकेर राजधानी फर्किन लागेका मन्त्रीलाई जनप्रतिनिधिले भने– ‘योङ मिनिष्टर, नेपाललाई सम्झना राख्दै गर्नुस हैं।’ 

योङ मिनिष्टर सम्झना राख्दै गर्नुस है फोटो फिचर