समाज

पुरुषको हत्या आरोपमा २ महिला पक्राउ

उदयपुर – ढुंगा प्रहार गरी पुरुषको हत्या गरेको आरोपमा उदयपुरका २ महिला पक्राउ परेका छन्।

मंगलबार साँझ सामान्य झगडाकै क्रममा हात हालाहाल हुँदा ढुंगा प्रहार गरेर त्रियुगा नगरपालिका ८ का ५१ वर्षीय शिव कार्कीको हत्या भएको थियो। त्रिनपा ७ को चुहाडे चोकमा सँगै बसेर मादक पदार्थ सेवन गरेका उनीहरुबीच भनाभन बढेपछि उदयपुरगढी गाउँपालिका ४ की धमीनी कार्कीको ढुंगा प्रहारबाट कार्की सख्त घाईते भएका थिए।

ढुंगाले टाउकोमा लागेर गम्भीर घाईते भएका कार्कीलाई उपचारार्थ सदरमुकामस्थित उदयपुर अस्पताल ल्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। साढे ५ः०० बजेको घट्नामा घाइते कार्कीको राति साढे ८ः०० बजे मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए। घट्नापछि फरार रहेकी उदयपुरगढी ४ विरालीटारकी धमीनी र घट्नामा संलग्न भएको आशंकामा अर्की १ गरी २ महिलालाई पक्राउ गरी अनुसन्धान थालिएको छ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय जलजले र जिल्लाको संयुक्त टोलीले नियन्त्रण्मा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले बताएका छन्। मृतक र महिलाहरुबीच के विषयमा झगडा भएको भन्ने कारण अहिले खुलिनसकेको उनले बताए।

प्रकाशित: २३ फाल्गुन २०७४ १०:१० बुधबार

पुरुषको हत्या आरोपमा महिला पक्राउ