समाज

नेपालका विशिष्ट महिलाको फोटो प्रदर्शनी हुने

काठमाडौँ-  नेपालको सामाजिक, राजनीतिक र आर्थिक रुपान्तरणमा विशेष योगदान पुर्‍याएका महिलाको फोटो प्रदर्शनी हुने भएको छ।

सांस्कृतिक संग्रहालय नेपालको आयोजनामा १०८ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसर पारेर फागुन २४ देखि ३० गतेसम्म नेपालका विशिष्ट महिलाको ऐतिहासिक फोटो प्रदर्शनी हुने भएको हो ।

संग्रहालयका अध्यक्ष क्षितिज अरुण श्रेष्ठले ‘नारी शक्तिलाई सम्झौँ, नारीको सम्मान गरौँ’ भन्ने मूलनाराका साथ १०८औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा फोटो प्रदर्शन गर्न लागेको जानकारी दिए । “प्रदर्शनीमा नेपालका २५० भन्दा बढी विशिष्ट, प्रथम र साहसिक महिलाको फोटो राखिनेछ,” उनले भने।

अध्यक्ष श्रेष्ठले नेपाली महिलाले गरेको योगदानलाई अझै पनि राज्यबाट प्राथमिकताका साथ नहेरिएकाले उक्त प्रदर्शनी गर्न लागेको बताए। “नेपाली महिलाको योगदान र उपलब्धिका बारेमा चित्तबुझ्दो सूचना र जानकारी सजिलै पाउन नसकिरहेको यथार्थ र वास्तविकतालाई आत्मासात् गर्दै आ–आफ्नो क्षेत्र, समय र स्थानबाट योगदान दिएका महिलाको गहन खोज, अध्ययन–अनुसन्धान गरेर फोटो प्रदर्शनी गरेका हौँ,” अध्यक्ष श्रेष्ठले भने।

संग्रहालयका सदस्य सूर्य नेपालले प्रदर्शनीमा सीता, भृकुटी, रानी राज्यलक्ष्मी, योगमाया न्यौपाने, मंगलादेवी सिंह, साहना प्रधान, द्वारिकादेवी ठकुरानी, तारादेवी, अरुणा लामा, विद्यादेवी भण्डारी, ओनसरी घर्ती, झमककुमारी घिमिरे, पारिजात, सुशीला कार्की लगायतका फोटो प्रदर्शनमा राख्ने जानकारी दिए।

यसअघि संग्रहालयले विपी कोइराला, गणेशमान सिंह, मदन भण्डारी, नारायण गोपाल लगायतका व्यक्तिको फोटो प्रदर्शन गरिसकेको छ । प्रदर्शनी बिहान ११ देखि ५ बजेसम्म नेपाल आर्ट काउन्सिलमा हुने संग्रहालयले जनाएको छ।रासस

 

प्रकाशित: २३ फाल्गुन २०७४ ०४:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App