समाज

७० प्रतिशत वडा उच्च जोखिममा

फाइल तस्बिर : नागरिक

जिल्ला विपद् व्यवस्थापन समितिले ताप्लेजुङ जिल्लाका ६१ वटा वडालाई बाढी पहिरो, आगलागी, खडेरी र चट्याङको जोखिमका दृष्टिले वर्गीकरण गरेको छ।

जिल्ला विपद् व्यवस्थापन समितिले चालु आर्थिक वर्ष २०८०-८१ का लागि बनाएको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार आगलागीका हिसाबले ४१ वटा वडा उच्च जोखिममा देखिएका छन्। बाढी तथा पहिरो र खडेरीका दृष्टिले भने ४० वटा वडा उच्च जोखिममा देखिएको प्रतिकार्य योजनामा उल्लेख छ।

जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको योजनाअनुसार चट्याङका हिसाबले भने जिल्लाभरमै उत्तिकै जोखिम छ। आगलागीका दृष्टिले फुङलिङ नगरपालिकाका २ देखि ९ सम्मका वडा उच्च जोखिममा छन्। बाँकी मध्यम जोखिममा रहेको पूर्वतयारी तथा प्रतिकार्य योजनामा उल्लेख छ।

यस्तै सिरिजङ्गा गाउँपालिकाको वडा नं १, सिदिङ्वा गाउँपालिकाको वडा नं ४, फक्ताङ्लुङ गाउँपालिकाको १ देखि ६ नम्बरसम्मका वडा, मिक्वाखोला गाउँपालिकाको वडा नं ४ बाहेक बाँकी चारवटा वडा र मेरिङदेन गाउँपालिकाको वडा नं ४ बाहेक बाँकी पाँचवटा वडा उच्च जोखिममा छन्।

यस्तै मैवाखोला गाउँपालिकाको ६ नम्बर वडाबाहेक बाँकी पाँवटा वडा तथा आठराई त्रिवेणी गाउँपालिकाका सबै पाँचवटै वडा तथा पाथिभरा याङ्वरक गाउँपालिकाका सबै ६ वटै वडा उच्च जोखिममा रहेको विपद् व्यवस्थापन समितिले आफ्नो प्रतिकार्य योजनामा उल्लेख गरेको छ।

एक नगरपालिका र आठ गाउँपालिकासहित नौ स्थानीय तह रहेको ताप्लेजुङमा जिल्ला विपद् व्यवस्थापन समितिले पालिका प्रमुखहरूकै उपस्थिति र परार्मशमा विपद्का दृष्टिले जोखिमयुक्त क्षेत्र पहिचान गरेको छ। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हुने जिल्ला विपद् व्यवस्थापन समितिमा स्थानीय तहका प्रमुख पदेन सदस्य हुनेछन्।

प्रकाशित: १३ माघ २०८० ०२:१६ शनिबार

आगलागी जिल्ला विपद् व्यवस्थापन समिति खडेरी ताप्लेजुङ जिल्ला ६१ वटा वडा चट्याङ बाढीपहिरो