समाज

विश्वमा भूमिगत पानीको तहमा तीव्र ह्रास

केन्याको साम्बुरु काउन्टीका एक किसानले गाईलाई इनारको पानी खुवाउँदै। तस्बिर: एपी

जमिनमुनिको पानीको स्रोत पृथ्वीको पारिस्थितिकिय प्रणाली र जीवनयापनको महत्त्वपूर्ण रहेता पनि हाल यसको अत्यधिक दोहन भइरहेको र यसले भविश्यमा कृषि तथा खानेपानीको सङ्कट निम्तिने देखिएको छ।

विश्वका ४० देशका १लाख ७० हजार कुवाहरू र १७ सय अक्वाफेर्स९जलभृत०मा गरिएको एक अध्ययनले  अधिक तापक्रम र कृषिक्षेत्र भएका क्षेत्रमा भूमिगत पानीका तहमा तीव्र गतिमा ह्रास आएको देखाएको छ। नेचर जर्नलमा बुधवार प्रकाशित सो प्रतिवेदनका अनुसार पछिल्ला ४ दशकमा यो क्रममा तीव्रता आएको छ।

अध्ययनका सह लेखक समेत रहेको अमेरिकाको सान्ता बार्बरामा रहेको क्यालिफोर्निया विश्वविद्यालयका सहायक प्राध्यापक स्कट जासेच्कोले भूमिगत पानीको तहमा तीव्र ह्रास आउनेमा अमेरिकाका क्यालिफोर्निया समेत रहेको बताएका छन्।

‘सुख्खा मौसम भएका क्षेत्रमा भूमिगत पानीमा अत्यधिक निर्भर रहनु र पानीको पम्पिङ गरिने तुलनामा रिचार्ज हुन नसक्दा यो सङ्कट देखिएको छ, अनुसन्धानकर्ताले भनेका छन्। कृषि सिचाइका अत्यधिक पानी तान्ने कार्य र जलवायु परिवर्तनका कारण सिर्जित नयाँ सङ्कटले पनि समस्या थपेको अध्ययनको निष्कर्ष छ।

यसैगरी कतिपय स्थानमा भूमिगत पानीको अत्यधिक दोहनले जमिन भासिएको देखिएको छ। सिचाई प्रयोजनका लागि विश्वको ७० प्रतिशत भूमिगत पानी तानिने गरेको  छ। अनुसन्धानको क्रममा जमिनमुनिको पानीको तहलाई सन् १९८० र सन् १९९०को स्तरमा तुलना गरिएको थियो। विश्वका अधिकांश सरकारले यो समस्याको समाधानमा यथेष्ट प्रयास नगरेको अध्ययनको निष्कर्ष छ।

तर विश्वका कतिपय स्थानमा भूमिगत तहको पानीको स्तरमा सुधार आएको देखिएको छ। उदाहरणका लागि  साउदी अरेबियाले अत्यधिक सिचाइको आवश्यकता पर्ने कृषिवालीमा रोक लगाएको कारण पछिल्ला दशकमा भूमिगत पानीको तहमा हुने ह्रास रोकिएको छ।

यसैगरी थाइल्यान्डको बैकक वेसिनमा त्यसअघिको तुलनामा यो शताब्दीको शुरुवातदेखिनै भूमिगत पानीको तहमा सुधार आएको छ। पानी तान्ने कार्यमा कर र शुल्क लाग्ने थाई सरकारले गरेको प्रावधानको कारण यो सुधार भएको अनुसन्धानकर्ताको ठहर  छ। यसैगरी अमेरिकाका अरिजोनामा ग्राउण्डवाटर रिचार्ज परियोजनाका कारण पछिल्ला दशकमा पानीको भूमिगत तहमा सुधार देखिएको छ। भूमिगत पानी स्थानीय संसाधन भएकोले यसको समाधानमा पनि स्थानीय प्रयास आवश्यक रहेको देखिएको छ।

‘केही गर्न चाहेको खण्डमा यो समस्याका समाधान राम्रा उदाहरणहरू छन् र यो चुनौतीको सामना गर्न विश्वले तत्काल ठोस प्रयास गर्न जरुरी देखिएको छ ,’ अनुसन्धानकर्ताले भनेका छन्।

प्रकाशित: १२ माघ २०८० ११:२६ शुक्रबार