समाज

विश्व शान्तिको कामना गर्दै मोन्लम पूजा

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा मोन्लम पूजामा सहभागी हुँदै।

बुद्ध जन्मस्थल लुम्बिनीमा मोन्लम पूजा सुरु भएको छ। विश्व शान्तिको कामना गर्दै सुरु गरिएको मोन्लम पूजा पाँच दिनसम्म चल्ने छ। लुम्बिनीमा धार्मिक गतिविधि प्रवद्र्धन गर्दै आध्यात्मिक तरंग ल्याउने र बौद्धमार्गीलाई आकर्षित गर्ने गरी प्राणीधान मोन्लम पूजा सुरु गरिएको हो।

मोन्लम पूजाको शुभारम्भ गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष  डा. ल्हारक्याल लामाले महागुरुहरुको स्मृतिमा विश्व शान्तिको कामना, प्रकृति, प्राणी र जगत भलोको कामना गर्दै मोन्लम पूजा गरिने बताए।

कोभिडपछि शून्यजस्तै भएको लुम्बिनीको धार्मिक तथा पर्यटकीय गतिविधि चलायमान बनाउन आफू लागिपरेको उपाध्यक्ष लामाले बताए। उनले यो वर्ष मात्रै पाँचवटा मोन्लम पूजा गरिएको जानकारी दिए। लुम्बिनी पुण्य भूमि भएकाले महायाना परम्पराका बुद्धिष्टले पूजा गर्न चाहने भएकाले कोषका तर्फबाट वातावरण तयार गर्ने काम भइहेको उनले जानकारी दिए।  

लुम्बिनीस्थित मायादेवी मन्दिरअगाडि सुरु भएको मोन्लम पूजामा उपाध्यक्ष लामासहित, छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा साङम्बो रिपेन्छे, खान्डो छिरिङमा रिपोन्छेसहित विभिन्न गुम्बाका लामा, आनी सहभागी छन। यसपटकको मोन्लम पूजामा चर्चित चिनियाँ चलचित्रकर्मी तथा हलिउड स्टार जेट्लीसमेत सहभागी रहेको लुम्बिनी विकास कोषले जनाएको छ।

मोन्लम पूजामा गुरुहरु, लामा, आनीद्वारा एकै स्वरमा मन्त्रोच्चारण गर्दा लुम्बिनीको वातावरण गुञ्जायमान हुनुका साथै आध्यात्मिक तरंग पैदा गर्ने गर्छ। बुद्धका उपदेश पाठ गर्दै बोद्धिसत्व र विश्व शान्तिको कामना गरिने पूजा महायान परम्परामा निकै महत्व रहिआएको छ। लुम्बिनीमा आयोजना हुने यस्ता पूजा तथा आध्यात्मिक गतिविधिले धार्मिक पर्यटक आकर्षित गर्ने र बुद्धका सन्देश फैलाउन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १२ माघ २०८० ०७:०८ शुक्रबार

धार्मिक पर्यटन लुम्बिनी विकास कोष मोन्लम पूजा विश्व शान्तिको कामना पाँच दिन लुम्बिनी बुद्ध जन्मस्थल