समाज

नागरिकता नहुँदा मधेसका बुहारी समस्यामा

नागरिकता नभएका बुहारीहरू हात उठाउँदै । तस्विरः टेकेन्द्र बस्याल /नागरिक

कोहलपुर – जानकी गाउँपालिका ६ प्रिपहवाकी ४५ वर्षीय हसरतजहाँ दर्जीले विवाह गरेको २५ वर्ष भयो । उनका १९ र १६ वर्षीय दुई छोरी र १४ तथा ११ वर्षका दुई छोरा छन्।

१९ वर्षीय छोरीको विवाह भएर दर्जी हजुरआमा भइसकेकी छिन् । तर, उनको नागरिकता प्रमाणपत्र बनेको छैन । उनका पति वाहिद अली दर्जीले हरेक निर्वाचनमा भोट हाल्छन् तर नागरिकता नभएकाले हसरजहाँ चाहेर पनि मतदान गर्न पाउँदिनन् । उनले नागरिकता नभएकै कारण बैंकमा खाता खोल्न पाएकी छैनन् । सहकारी र महिला समूहमा बचत तथा ऋणको कारोबार गर्न पाएकी छैनन् ।विभिन्न निर्वाचनका बेला मत माग्न र मतदान गर्ने तरिका सिकाउन आउनेहरूले समेत उनको नागरिकताका लागिपहल गरिदिएका छैनन्।

छोराछोरी जवान भएर विवाह गर्न थालिसके तर अझै आफ्नो नागरिकता नभएको हसरतजहाँ बताउँछिन् । ‘नागरिकता बनाउने मन छ,’ उनले भनिन्, ‘तर, पतिले विवाह दर्ता नगराइदिँदा नागरिकता बनेको छैन ।’ चुनावमा भोट हाल्न रहर गरे पनि नागरिकता नभएकैलेमतदान केन्द्र जान नपाएको उनी बताउँछिन् । नागरिकता प्रमाणपत्र बनाउन नसकिएकाले सहकारी र आमा तथा महिला समूहमा सक्रिय हुन नपाएको उनको दुखेसो छ ।पिप्रहवाकी २५ वर्षीय ज्योति लोधले विवाह गरेको १० वर्ष भयो । १५ वर्षको उमेरमा विवाह गरेकी उनको छोरा नै अहिले ७ वर्षको भइसक्यो ।

तर, उनको पनि नागरिकता अहिलेसम्मबनेको छैन । नागरिकता बनाइदिनपटकपटक घरमा भनसुन गरिरहेको उनले बताइन् । ‘सासुससुरा र पतिलाई विवाह दर्ता गरी नागरिकता बनाइदिन कर गर्दैआएको छु,’ उनले भनिन्, ‘तर, नागरिकता बनाइदिने सुरसार छैन । नागरिकताकै लागि पतिसँग झगडा गर्नसकिँदैन ।’बेलामै नागरिकता बनेको भए उनी २०६४, २०७० र २०७४ का संसदीय चुनावमा मतदान गर्न पाउँथिन्। तर, नागरिकता नभएकै कारण मतदाता नामावलीमा उनको नामछैन । अन्य गाउँठाउँका बुहारीले भोट हाल्न जाँदा आफूहरू घरआँगनमै समेटिएको यहाँका बुहारीहरू बताउँछन्।

मधेसका धेरैजसो बुहारीसँग नागरिकता प्रमाणपत्र छैनन् । जानकी गाउँपालिका ६ पिप्रहवाकी २६ वर्षीय ताजरुन तेलीले विवाह भएको ८ वर्षसम्म नागरिकता नबनेको पीडा सुनाइन् । पति र सासुससुरालाई मनाइरहेको भए पनि नागरिकता बन्ने टुंगो लागेको छैन । बुहारीहरूका अनुसार जानकी गाउँपालिकामा धेरैको नागरिकता छैन । विवाह भएको २५ देखि ३० वर्षसम्म पनि उनीहरूले नागरिकता प्राप्त गर्न सकेका छैनन् । बाचुञ्जेलसम्म नागरिकता नबन्ने बुहारीकोसंख्या उल्लेख्य छ । वृद्धभत्ता खान पाउने समयमा मात्र केहीले नागरिकता बनाउने गरेको भेटिन्छन् । जानकी गाउँपालिका ६ का वडाध्यक्ष सुरेश यादवले आफ्नो वडामा जनसंख्या ८ हजार भए पनि मतदान गर्नेको संख्या एक हजार ६ सयमात्र रहेको बताए।

५५ प्रतिशतसम्म बुहारीको नागरिकता नरहेको उनको भनाइ छ । ‘गाउँपालिका र वडा कार्यालयबाट नागरिकताका लागि जन्मदर्ता, विवाह दर्ता र नागरिकता सिफारिस निःशुल्क गरेका छौं,’ उनले भने, ‘सबै सिफारिस निःशुल्क गर्दा पनि नागरिकता बनाउन महिला आउँदैनन् ।’ बाँकेमा अझै ५५ प्रतिशतसम्म विवाहित महिलाको नागरिकता नरहेकाले बैंक खाता, सहकारी, समूहमा बचत तथा ऋणको कारोबार गर्न नपाउने, भोट हाल्न नपाउने, अंशबन्डा नपाउने समस्याबाटउनीहरू पिरोलिएकाछन्।

फात्तिमा फाउन्डेसन बाँकेकी संस्थापक अध्यक्ष महोम्मदी सिद्धिकीले मधेसी समुदायका अधिकांश बुहारीको समयमा नागरिकता नबन्ने गरेको बताइन् । ‘धेरै कार्यक्रममा जाँदा अधिकांश विवाहिताको नागरिकता नभएको भेटिन्छ,’ उनी भन्छिन् । घरपरिवारकै कारण उनीहरूले नागरिकता बनाउन नपाएको सिद्धिकीले बताइन्।

जनगणना २०६८ का अनुसार जिल्लाको कुल जनसंख्या ४ लाख ९१ हजार ३१३ छ । जसमा पुरुष २ लाख ४४ हजार २५५ र महिला२ लाख ४७ हजार ५८ छन् ।  जिल्लाको कुल मतदाता संख्या दुई लाख ७६ हजार ७१८ रहेको छ । जिल्लामापुरुष मतदाता १ लाख २५ हजार ९९३ र महिला मतदाता १ लाख २० हजार ८४ छन् ।

 

प्रकाशित: २२ फाल्गुन २०७४ ०१:३७ मंगलबार

नागरिकता नहुँदा मधेसका बुहारी समस्यामा