समाज

सुस्त मनस्थितिकी महिलाको बलात्कारपछि हत्या

दमक – मोरङको मिक्लाजुङ ७ मा सुस्त मनस्थिति भएकी एक महिलाको बलात्कारपछि हत्या भएको छ । सोही स्थानकी ४५ वर्षीया शान्तिकुमारी तामाङको बलात्कारपछि हत्या भएको इलाका प्रहरी कार्यालय मधमुल्लाले जनाएको छ। 

प्रहरी नायब निरीक्षक किरण प्रसाईंले शारीरिक सम्पर्कका लागि राजी नभएको अवस्थामा ढुंगाले हानेर घाइते बनाएर सम्पर्कपछि हत्या गरिएको बताए । ‘हत्याराले ढुंगाले हानेर ती महिलाको अनुहार चिन्न नसक्ने बनाएको छ । शरीरमा कुनै पनि लुगा थिएन’, उनले भने, ‘अनुहार चिन्न नसक्ने अवस्थामा भेटिएको थियो।’

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको देखिएको बताए । आइतबार बिहान १२ बजेतिर तामाङको हत्या भएको प्रहरीको अनुमान छ । ‘पैनीमा लछारपछार गरेर लडाएर ढुंगाले टाउकामा कुटेर बीभत्स तरिकाले हत्या गरिएको छ’, थापाले भने, ‘हत्यापछि गङ्ग्री खोलाको बगरमा शव भेटिएको हो।’

मानसिक अवस्था ठीक नभएकी उनलाई मादक पदार्थ खुवाएको हुन सक्ने उनले बताए । ‘मादक पदार्थ सेवन गराई शारीरिक सम्पर्कका लागि जोड गर्दा महिलाले प्रतिकार गरेपछि घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, थापाले भने, ‘हत्या गरी शव खोलाको बगरमा फालिएको भेटिएको छ।’

प्रहरी निरीक्षक थापाले घटनामा संलग्न फरार रहेको बताए । ‘घटनामा संलग्नहरुको पहिचान भइसकेको  अवस्था छ’, उनले भने, ‘अब थप अनुसन्धान पनि अगाडि बढाउँदैछौं । शव पोस्टमार्टमका लागि मंगलबारे अस्पताल लगिएको छ।’

घटनाको प्रकृति 
शनिबार दिनभर घरमा श्रीमान्सँग सुँगुरका लागि खोर बनाएकी तामाङ मिक्लाजुङ ७ मधुमल्लाको सिसौलीकी बासिन्दा हुन् । उनी बेलुका घरनजिकैको माइत गएकी थिइन् । ३ सन्तानकी आमा उनी मन मिल्नेसँग गीत गाउने गर्थिन् । माइतबाट फर्कंदा घटना भएको प्रहरीको अनुमान छ । घटनास्थल पनि उनको माइतीनजिकै रहेको छ । घटनास्थलनजिकै बाँसको झ्याङ र पैनी छ तर आसपासमा कुनै घर थिएनन् । पैनी र त्यससँगै ७ फिटनजिकैको स्थानमा घम्साघम्सी परेको देखिन्छ।

ढुंगाले हानी महिलाको शरीर नै चिन्न नसक्ने बनाइएको थियो । मृतक महिलाको कपालमात्रै देखिन्थ्यो । छातीमा अलिक ठूलो चोट देखिएको इलाका प्रहरीक कार्यालय मधुमल्लाका प्रहरी जवान राजेन्द्र बस्नेतले बताए ।

प्रकाशित: २१ फाल्गुन २०७४ ०४:०० सोमबार

सुस्त मनस्थितिकी महिलाको बलात्कारपछि हत्या