समाज

कुकुर-बिरालो प्रेम, जसले सहरियालाई गाउँले बनायो !

बिरालोसँग रमाउँदै रोमी लामा ।

काठमाडौंको थानकोटबाट उत्तरतर्फ करिब एक हजार उचाइमा रहेको सुवेदी डाँडामा रोमी लामाको एकतले घर छ। त्यही घरमा रोमीले २९ वटा कुकुर र पाँचवटा बिराला पालेकी छन्।  

डिल्लीबजार बस्दै आएकी रोमी पाँच वर्षअघि ती कुकुरसँगै सुवेदी डाँडा पुगेकी हुन्। कुकुर रोमीको एक्लो जिन्दगीका साथी हुन्। कुकुरसँगै रोमीका दिन, रात र सपना बित्छन्।

रोमीको झन्डै ३० वर्षअघि सुरु भएको कुकुर प्रेम अहिले झन् घनीभूत भएको छ। तिनै कुकुरको हेरचाह उनको दैनिकी बनेको छ। ‘मलाई मान्छेले भन्दा बढी माया यी कुकुरले नै गर्छन्। म यिनीहरूलाई माया गर्छु। यिनीहरू भए मलाई एक्लो महसुस हुँदैन,’ कुकुरसँग खेल्दै उनले भनिन्।  

उनी र कुकुर सुत्ने कोठा एउटै छ। उनको घरभित्र पस्दा सबै कोठाबाट कुकुरको गन्ध आइरहेको थियो। रोमीलाई भने कुकुरको क्वाइँक्वाइँँ र गन्ध दुवैमा रमाउने बानी परेको छ। उनी भन्छिन्, ‘म यहीं खाना खान्छु, सुत्छु, कुनै गन्ध आउँदैन, बानी परिसकेको छ।’  

कुकुर पे्रमका कारण उनले दुःखमा परेका कुकुरको उद्धार गरिन्। तीमध्ये केही उमेर पुगेर मरे, केही रोगले मरे, केही हराए। पाँच वर्षअघिको एउटा घटना सम्झँदै उनले भनिन्, ‘सडकबाट उद्धार गरेका कुकुरलाई खाना खुवाउँदै थिएँ। एक छिमेकीले कुकुरमाथि तातो पानी खन्याइदिएँ।’

रोमीले त्यसको विरोध गरिन्। दुई पुरुषले उनलाई थप्पडसमेत हाने। यो विषय प्रहरीसम्मै पुग्यो। पछि उनीहरूले माफी मागे। छिमेकीले कहिले छतमा खेलिरहेका कुकुरलाई ढुंगाले हान्थे। यी घटनाले डिल्लीबजार कुकुरका लागि सुरक्षित देखिनन् उनले। त्यसपछि उनी आफूले पालेका २० वटा कुकुर लिएर सुवेदी डाँडा बस्न पुगेकी हुन्। ‘छिमेकीको व्यवहार जसरी हुन्छ, कुकुर पाल्न रोकौं, कुकुर हटाऔं भन्ने देखियो,’ उनले भनिन्। 

रोमीको कुकुरसँग पे्रम बस्नुको कारण छुट्टै घटना छ। रोमीको सानैमा विवाह भएको थियो। रोमी गर्भवती हुँदा पतिको दुर्घटनामा परेर मृत्यु भयो। उनले छोरी जन्माइन्। छोरी जन्माएको र सानैमा विधवा भएकाले परिवारका अन्य सदस्य रोमीले अर्को विवाह गर्छिन् भन्ने सोंच रहेछ। उनले बिहे नगरेपछि परिवारका अन्य सदस्यले घरबाट निकालिदिए।

उनका अनुसार यो घटना २०५१ सालको हो। त्यतिबेला उनी २२ वर्षकी थिइन्। घरबाट निकालिएपछि उनी पशुपतिनाथको मन्दिर क्षेत्रमा शरण लिन गइन्। राति एउटा कुकुर आएर रोमीलाई सुम्सुम्याएछ। कुकुरको यो व्यवहार देखेर उनलाई संसारमा मान्छेभन्दा यही प्राणी बुझक्की हुन्छ भन्ने लाग्यो।

त्यही दिनदेखि उनमा कुकुरप्रति पे्रम जाग्यो। समयक्रमसँगै उनी एकपटक रोेजगारीका लागि जर्मनी गइन् र चार वर्षपछि फर्किन्। जर्मनीबाट कमाएर ल्याएको पैसाले उनले रेस्टुरेन्ट खोलिन। मनग्गे आम्दानी भयो। डिल्लीबजारमा दुईवटा घर किनिन्।

उनले एक साथीले ‘मेरीक्यु’ नामको पोथी कुकुर सडकमा फाल्न लागेको देखिन्। त्यो कुकुर उनले घरमा ल्याएर राखिन्। उनले सडकमा अर्को घाइते कुकुर भेटिन् र उद्धार गरिन्। दिनहरू बित्दैै गए। रोमीले सडकमा दुःख पाएका, घाइते भएका कुकुरलाई खाना खुवाउन र उपचार गर्न थालिन्। सडकका कुकुर उद्धार गर्दागर्दै घर भरियो।

छोरी उच्च शिक्षाका लागि विदेश गइन्। त्यसपछि एक्ली बनेकी रोमीको घरमा कुकुर थपिँदै गए। घरमा ३० वटा कुकुर पुगे। दिउँसो घाम ताप्न र खेल्न छतमा राख्थिन्। तर घरसँगै जोडिएका छिमेकीले उनको त्यो कामलाई रुचाएनन्। २०७५ सालतिर उनले सडकमा कुकुरलाई खाना खुवाउँदै थिइन्।

छिमेकीले कुकुरमाथि तातो पानी खन्याइदिए। उनले ठानिन्, अब डिल्लीबजार आफू र कुकुरका लागि सुरक्षित नहुने भयो। त्यसपछि उनले अन्यत्र गएर कुकुर पाल्न एकान्त ठाउँ खोज्न थालिन्। डिल्लीबजारमा आफूले किनेको एउटा घर बेचिन् र थानकोटको सुवेदी डाँडामा जग्गा किनेर घर बनाइन्। पाँच वर्षदेखि उनी सुवेदी डाँडास्थित घरमा कुकुरसँगै रमाउँदै आएकी छन्।

यी सबै कुकुर पाल्न मासिक ७० हजार रूपैयाँ खर्च लाग्ने उनले बताइन्। यो सबै खर्च उनले डिल्लीबाजारकोे अर्को घरबाट आउने भाडाबाट जुटाउँछिन्। सुवेदी डाँडा अहिले रोमी र उनका कुकुरका लागि शान्त र प्रिय बनेको छ।

मानव बस्ती खासै नभएको यो डाँडामा डिल्लीबजारमा जस्तो सुविधा भने छैन। सुवेदी डाँडामा पानीको अभवा छ। अन्य प्रयोगका लागि आकाशको पानी जम्मा गर्नुपर्छ भने पिउने पानी घरदेखि टाढाको गहिराबाट बोकेर ल्याउनुपर्छ।

रोमीको विचारमा संसारमा मान्छे होस् या जनावर पे्रमले जितेपछि सबै कुरा सम्भव हुँदो रहेछ। यस्तै लाग्छ, रोेमीको कुकुर पे्रम। जसले विलासी जीवन छाडेर अप्ठेरोे बाटो रोजाएको छ, जहाँ अनगिन्ती चुनौैती र अप्ठेरा छन्।

सुवेदी डाँडामा खाद्यान्न, तरकारी या कुनै पनि सामान नजिक छैन। सुवेदी डाँडा पुग्न आफैंमा अप्ठेरो छ। त्यसमाथि दैनिकी चलाउनु सामान्य विषय हैन। सामान किन्न होस् या कुकुरको उपचार गर्न, उनी आफैं बलेरो भ्यान चलाएर थानकोट पुग्छिन्। ‘दुई सातालाई हुने सामान किनेर राख्छु,’ उनले भनिन्। उनले बलेरो भ्यान पनि घर बेचेर आएको पैसाले किनेकी हुन्।

गत वर्ष दम देखिएपछि उनले थप कुकुरको उद्धार गर्न छाडेकी छन्। ‘अब धेरै कुकुर उद्धार गरेर राख्न सक्दिनँ, दुई÷चारवटाबिना त बस्न सक्दिनँ,’ उनले भनिन्। सुवेदी डाँडामा बस्न थालेपछि उनले पालेका धेरैै कुकुर मरे। घरअघिकै जमिनमा गाडिन्। उनी धेरै कुकुरको मलामी बनेकी छन्। ‘जन्मेपछि मर्नैपर्छ, मेरो पनि यही बाटो हो,’ उनले भनिन्।

कुकुर पे्रमको यति लामो यात्रामा बिनाकारण उनलाई कहिल्यै कुकुरले टोकेनन्। एकपटक बच्चा कुकुरलाई सुरक्षा दिने क्रममा ठुलो कुकुरलाई लात्ताले तर्काउँदा रोमीलाई टोकेको थियो। त्यसपछि उनलाई कुकुरले अहिलेसम्म टोकेनन्। त्यतिखेर कुकुरलाई हेपेको कारण उसले टोकेको उनले बताइन्। ‘बिनाकारण कुुकुरले कहिल्यै टोक्दैन, कसैले आक्रमण गरे मात्र आफ्नो रक्षाका लागि टोक्छ,’ उनले भनिन्।

सरकारले कुकुरको संख्या घटाउने अभियान चलाएका बेला रोमीको कुकुर उद्धार र संरक्षण अभियान उल्टो देखिन्छ। तर ठिक व्यवस्थापनले संख्या घटाउन सकिने उनको तर्क छ। आफूले पालेका कुकुरको बन्ध्याकरण गरेको, रेबिज र अन्य रोगविरुद्धको खोप दिएको उनले सुनाइन्। ‘बन्ध्याकरण गर्नुहोस्, ककुरको संख्या बढ्दैन,’ उनले भनिन्। कुकुर समस्या होइन, व्यववस्थापन समस्या भएको रोमी बताउँछिन्।

कतिपय मानिसले कुकुरलाई मार्ने, पिट्ने गर्छन्। यो व्यवहारले रोमीको मनमा पीडा हुन्छ। उनको विचारमा जन्मेका सबै प्राणीलाई बाँच्ने अधिकार छ। कुकुरलाई मार्नुको सट्टा मालिकलाई जवाफदेही बनाउने नीति ल्याउनुपर्ने उनको सुझाव छ।

प्रकाशित: ११ माघ २०८० ०१:१६ बिहीबार

कुकुर बिराला रोमी लामा जिन्दगीका साथी प्रेम हेरचाह माया