समाज

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात, सतर्क रहन अनुरोध

फाइल तस्बिर

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा  देशका बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा बिहीबार हल्का हिमपातको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग अन्त्रगतको मौसम पूर्वानुमान महाशाखाले तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध गरेको छ। 

महाशाखाले बुधवार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिनका अनुसार बिहीबार  राती सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश सहित देशको पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहनेछ भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यसैगरी शुक्रबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि  साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ तथा  देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहने महाशाखाले जनाएको छ। शुक्रबार राती  देशका पहाडी भू–भागमा आंशिक देखि  साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

प्रकाशित: १० माघ २०८० ११:५२ बुधबार

हिमपात