समाज

आगलागीमा गम्भीर घाइते महिलाको ११ दिनपछि मृत्यु

खोटाङ – आगलागीमा गम्भीर घाइते भएकी खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा भञ्ज्याङकी ४५ वर्षीय रत्नमायाँ सार्कीको मृत्यु भएको छ। फागुन ९ गते बिहान भएको घर आगलागीमा गम्भीर घाइते भएकी सार्कीको शनिबार मृत्यु भएको हो। 

घट्नालगत्तै हेलीकोप्टर चार्टर गरेर काठ्माण्डौं लगिएकी सार्कीको उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि घर फर्काउनेक्रममा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार आइपुगेपछि मृत्यु भएको हो। उपचारकै क्रममा दुई दिनदेखि बोल्न समेत छाडेकी सार्कीले हातको इशाराले घर जाने भनेपछि घर फर्काउनेक्रममा बाटैमा मृत्यु भएको उनका भतिजा एकराज सार्कीले बताए। 

आगोलागीमा परी घाँटी, छाती र नाईटोमुनीको भाग जलेपछि गम्भीर घाइते भएकी सार्कीलाई उपचारका लागि कीर्तिपुर अस्पताल काठमाण्डौमा लगिएको थियो।

प्रकाशित: २० फाल्गुन २०७४ १०:२९ आइतबार

आगलागीमा गम्भीर घाइते महिलाको ११ दिनपछि मृत्यु