समाज

रसुवामा ७० प्रतिशत घर पुनर्निर्माण हुँदै

रसुवा – भूकम्प गएको ३३ महिनामा रसुवामा करिब ७० प्रतिशत भूकम्पपीडितले घर निर्माण थालेका छन्। 

पहिलो किस्ता ५० हजार बुझेका १० हजार ४ सय ६१ लाभग्राहीमध्ये ७ हजारले निजी आवास पुनर्निर्माणको काम थालेका हुन्। सरकारले आगामी असार मसान्तसम्ममा तेस्रो किस्ता लिइसक्नु पर्ने समयसीमा तोकेपछि जिल्लामा पुनर्निर्माणले गति लिएको हो। 

सडक नपुगको स्थानमा हेलिकप्टर तथा खच्चडको प्रयोग गरेर निर्माण सामग्री गाउँ पु-याएका छन्। चैत मसान्तसम्ममा दोस्रो किस्ता बुझिसक्नु पर्ने भएकाले भूकम्पपीडित घर बनाउन हतारिएका हुन्। गाउँमा बाटो नपुगेको कारण खच्चडबाट निर्माण सामग्री गाउँमा पु-याएर घर निर्माण गरिरहेको हाकुका याङ्जेन तामाङले बताइन्।

भूकम्पपीडितले पुनर्निर्माणलाई तिब्रता दिनका लागि पर्म गरेर घर बनाउने, बाहिरी जिल्लाबाट कामदार ल्याउने, स्थानीय स्रोत र साधनको प्रयोग गर्ने लगायतका कार्य गरेका छन्। जिल्ला आयोजना कार्यान्वन इकाई रसुवाका अनुसार जिल्लाको पाँच वटा गाउँपालिकामध्ये सबैभन्दा कम आमाछोदिङ्मोमा र सबैभन्दा बढी कालिकामा घर निर्माण भएको छ। 

घर निर्माणका लागि जग राख्ने लाभग्राहीको सङ्ख्या बढ्दै गएको र तथ्याङ्क लिने कार्य भइरहेको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय रसुवाका निमित्त डिभिजन प्रमुख धिर फडेराले बताए।  

अहिले करिब ५७ प्रतिशत लाभग्राहीको दोस्रो किस्ताको लागि सिफारिस भइसकेको निमित्त डिभिजन प्रमुख फडेराको भनाई छ। ५ हजार ९ सय ९४ कोे दोस्रो किस्ता र दुई हजार तीन सय ४३ लाभग्राहीको तेस्रो किस्ताको लागि सिफारिस भएको कार्यालयले जनाएको छ। 

गैरसरकारी संस्थाको सहयोगमा ५२९ घर निर्माण सम्पन्न

निजी आवास पुनर्निर्माणका लागि जिल्ला भित्रिएका ४ वटा गैरसरकारी संस्थाले ५ सय २९ निजी घर निर्माण सम्पन्न गरेका छन्। 

चार वटा गैरसरकारी संस्थाले जिल्लाको एक हजार ५९ घर निर्माण गर्ने जिम्मेवारी पाएका थिए। बतास फाउण्डेसनले जिम्मेवारी पाएको एक सय ५२ वटै घर निर्माण सम्पन्न गरेको छ। 

नेपाल रेडक्रस सोसाइटीले जिम्मेवारी पाएको ४५५ घरमध्ये ७१, लुमन्थीले जिम्मेवारी पाएको ३५१ घरमध्ये २१५ र एलडब्लुएफले जिम्मेवारी पाएको १०१ घरमध्ये ९१ वटा घर निर्माण सम्पन्न गरेको छ। 

प्रकाशित: १८ फाल्गुन २०७४ १४:१३ शुक्रबार

रसुवामा ७० प्रतिशत घर पुनर्निर्माण हुँदै