समाज

उपत्यकामा मेघगर्जनसहित वर्षा

काठमाडौं – स्थानीय वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा शुक्रबार साँझ मेघगर्जनसहित वर्षा भएको छ। 

स्थानीय वायुको प्रभावले बदली भई उपत्यकाको उत्तरपश्चिम भेगमा असिनासहितको वर्षा भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। उनका अनुसार देशको पश्चिमी भेगमा विकसित भएको उक्त वायु अहिले क्रमशः पूर्वतर्फ सर्दैछ। पूर्वी पहाडी भेगका केही स्थानमा समेत वर्षाको सम्भावना छ। अहिले पश्चिमका केही स्थान तथा मध्य र पूर्वी भेगमा बदली भएको छ। उपत्यकामा हुरी बताससहित वर्षा भएको छ।

स्थानीय वायुको सक्रियताले केही दिनयता बिहान मौसम सफा रहे पनि मध्याह्नपछि बदली हुने गरेको छ। पूर्वमनसुनको याम पनि भएकाले यस्तो गतिविधि जारी रहने मौसमविद् प्रधानाङ्गले बताए। सामान्यतः ‘मार्च, अप्रिल र मे’ पूर्व मनसुनी याम मानिन्छ। तापक्रम पनि क्रमशः बढ्दै गएकाले मध्याह्नपछि बदली र वर्षा गराउने सम्भावना हुन्छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँको अधिकतम २५.८ र न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस छ। 

प्रकाशित: १८ फाल्गुन २०७४ १३:४२ शुक्रबार

उपत्यकामा मेघगर्जनसहित वर्षा