समाज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वेथिति: ५ जहाज 'ल्यान्ड' गर्दा २ काउन्टर मात्रै खुला

सोमबार बिहान देखिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन कक्षको दृश्य। तस्बिरः नागरिक

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वेथितिका कारण यात्रुहरू समस्यामा परेका छन्। यात्रुहरूको आवागमनका कारण निकै व्यस्त रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागले मनपरी गर्दा यात्रुहरूलाई घन्टौं कुर्नुपर्ने समस्या देखिएको छ।

विमानस्थलमा ५ वटा जहाज अवतरण गर्दा पनि २ वटा मात्रै अध्यागमनको काउन्टर खुल्दा यात्रुहरूलाई घन्टौं कुर्नुपर्ने बाध्यता देखिएको हो।  विशेष गरी बिहान विभिन्न देशबाट विमानस्थलमा ओर्लने यात्रुहरू मर्कामा पर्ने गरेका छन्। दुई वटा काउन्टर मात्र सञ्चालन गर्दा यात्रुहरूले अध्यागमनमा २ घण्टा बढी समय लाइनमा बस्नुपर्ने बाध्यता छ । 

यात्रुको चाप बढ्दा पनि किन २ वटा काउन्टर मात्रै किन खोलिएको भन्ने प्रश्नमा अध्यागमन विभागले कर्मचारी अभाव भएको जानकारी  दिएको छ। 'केही कर्मचारीहरूको परीक्षा चलिरहेकाले १ वा २ वटा काउन्टर मात्र खाेलिन्छ',अध्यागमनका   एक कर्मचारीले भने।  

२४ सैँ घन्टा खुला रहने विमानस्थलमा ४/५ वटा जहाज ल्यान्ड गर्छ। तर, अध्यागमनको काउन्टर नै सबै नखुल्दा घन्टौं लाइनमा बस्नुपर्ने यात्रुहरूले गुनासो गरेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले विदेशबाट आउनेहरूका लागि दुई वटा मात्र काउन्टर सञ्चालन गर्दा सोमबार बिहान देखिएको भिड।  तस्बिर: नागरिक

प्रकाशित: ८ माघ २०८० ०३:१९ सोमबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वेथिति यात्रु समस्या अध्यागमन विभाग