समाज

खानेपानी र सिंचाई सुविधाका लागि ‘लिफ्टिङ प्रविधी’

सुनकोसीभन्दा १ सय मिटर मात्र उचाईमा रहेको त्रियुगा नगरपालिका १५ खाँबुको ज्यामिटार सुख्खा बस्ती। तस्विरः नागरिक

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिकाले पहाडी भेगका वडाबासीको खानेपानी र सिंचाईको सुविधाका लागि सुनकोसीको पानी प्रयोगमा ल्याउन अध्ययन थालेको छ। खानेपानी र सिंचाईको समस्या भोग्दै आएका नगरपालिकाका पहाडी वडाहरु साविक साउने, खाँबु र चिलाउनेबासीलाई सुनकोसी र स्थानीय खोलानालाको पानी ‘लिफ्टिङ’ प्रविधिबाट उपयोग गर्न अध्ययन थालेको हो।

नगरपालिकाका १४ साउने, १५ खाँबु र १६ को चिलाउने वडाबासी खानेपानी र सिंचाई अभावमा वर्षौंदेखि पीडित हुँदै आएका छन्। खासगरी वडाका अधिकतम भूभागलाई सुनकोसी तटीय क्षेत्रले छोएपनि कोसीभन्दा १० मिटर उचाईदेखि बसोबास गर्ने स्थानीयले खानेपानी र सिंचाईको अभाव भोग्दै आइरहेका छन्। कोसीसँगै जोडिएको भूभागमा बसोबास गर्ने साउने र खाँबुबासी १५ मिनेटदेखि आधाघण्टा दूरीमा पर्ने कोसीमा पानी बगिरहे पनि खानेपानी र सिंचाई सुविधा नहुँदा गरिबीको रेखामुनि बस्दै आएका छन्।

वडाबासीको त्यस्तो समस्या निराकरण गर्न चालू आर्थिक वर्ष भित्रै लिफ्टिङ प्रविधीबाट खानेपानी सुविधा दिलाउन नगरपालिकाले अध्ययन गरिरहेको मेयर बलदेव चौधरीले बताए। चौधरीले प्रमुख प्रशासकीय अधिकृत, योजना प्रशासकीय अधिकृत, सम्बन्धित वडाध्यक्ष र सरोकारवाला प्राविधिक तथा विज्ञसहितको टोली लिएर स्थलगत अध्ययन गरी फर्किसकेको बताए। साउनेको धाब्लाङ, खाँबुको छामलिङ, भदौरे, ज्यामिटार, उजेलीचोकलगायत दर्जन हाराहारी बस्तीमा यो प्रविधिबाट पहिले खानेपानी आपूर्ति व्यवस्था मिलाउने गरी योजना बन्दै गरेको छ।

खानेपानीपछि सिंचाई सुविधा उपलब्ध गराउन सकिने अध्ययनले देखाएको प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेलले बताए। लुईटेलका अनुसार पछिल्लो प्रविधीको लिफ्टिङ उपकरण जडान भएपछि नदि किनार आसपासका ३ सय मिटर उचाईसम्मका जमिनमा खानेपानी र सिंचाई सुविधा लिन सकिन्छ। जति तिब्र गतिमा पानी बग्यो उति बढी उचाईसम्म पानी प्mयाँक्ने हुनाले यो प्रविधी मार्र्फद वर्षायाममा थप बढी उचाईसम्म पानी लान सकिने प्राविधिकको भनाई छ।

यो प्रविधी प्रयोगमा ल्याउनसके कोसी किनार आसपासका हजारौं विगाह सुख्खा जमिन सिंचाईले उर्वर बनाएर कृषि उत्पादन बढाउन सकिने लुईटेलले बताए। सिंचाई अभावमा आकाशे पानीको भरमा खेती गर्न विवश स्थानीयहरु खडेरी हुँदा भोकमरी भोग्नसमेत बाध्य हुँदै आएका छन्। कोसीको पानीले सिंचाई गर्न सके कोसी तटीय क्षेत्रमा बसोबास गर्दै आएका हजारौं जनता कृषि व्यवसायबाट आर्थिक उन्नति गर्न सक्ने उदेश्य नगरपालिकाले लिएको छ।

स्थलगत अध्ययन गरी फर्केको नगर टोलीको प्रतिबेदन अनुसार नगरपालिकाले योजना बनाएर सकेसम्म चालू आर्थिक वर्ष भित्रै नसके आउदो आर्थिक वर्षदेखि लागू हुने गरी सो प्रविधीबाट खानेपानी र सिंचाई गर्ने योजना निर्माण गर्नेछ। अध्ययन टोलीले दिएको प्रतिबेदनका अनुसार योजना बनाएर यही फागुनमा हुँन लागेको संसोधित नगर बजेटमा पेश गर्ने तयारी भईरहेको योजना प्रशासकीय अधिकृत विश्वजित राईले बताए। राईका अनुसार नगर बजेटले भ्याएमा परीक्षण गरी चालू आर्थिक वर्ष भित्रै सुरु गर्ने तयारी नगरपालिकाले गरेको छ।

यो प्रविधीबाट योजना लागू गर्न सके खाँबुका ३ हजार र साउनेका २ हजार ५ सय बढी घरधुरी स्थानीय लाभान्वित हुने प्रारम्भिक अनुमान गरिएको छ। १४ नम्बर वडाका वडाअध्यक्ष कुरुङ राईका अनुसार घरमुनि कोसीमा पानी बगिरहे पनि खानेपानी र सिंचाई अभावमा तड्पिनु पर्ने समस्या टार्न नगरपालिकाले यो प्रविधीको योजना यसै वर्षदेखि लागू गर्नुपर्ने बताए। १५ नम्बरका वडाअध्यक्ष निरबहादुर मगरले पनि खानेपानी र सिंचाई दुवै समस्या वडाको प्रमुख चुनौति भएकाले नगरपालिकाले यो प्रविधि लागू गरे ५० प्रतिशत बढी वडाबासी लाभान्वित हुने बताए।

 

प्रकाशित: १७ फाल्गुन २०७४ ०८:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App