समाज

फर्मालिन कम प्रयोग गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले सड्नबाट रोक्न प्रयोग गरिने फर्मालिन (एक प्रकारको रसायन) माछामा प्रयोग गर्दा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुासर मात्र प्रयोग गर्न आदेश दिएको छ। 

प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश केदारप्रसाद चालिसेको संयुक्त इजलासले नेपालमा फर्मालिन धेरै मात्रामा प्रयोग गरिएको भन्दै परिणाम एकदमै कम राख्न आदेश दिएको हो । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक किलो माछाका लागि शून्य दशमलव २ मिलिग्राम फर्मालिन राख्न पाइन्छ । तर, नेपालमा माछा सड्नबाट रोक्न एक किलो माछामा ४ दशमलव ५ मिलिग्राम फर्मालिन राख्ने गरिएको छ। 

अधिवक्ता राजकुमार रानासमेतले माछामा फर्मालिन धेरै राखेर उपभोक्ताको स्वास्थ्यमा असर पुगेको भन्दै सर्वोच्चमा रिट दिएका थिए । फर्मालिन मरेको माछालाई छिटो नसडोस् भन्ने उद्देश्यले प्रयोग गरिन्छ । फर्मालिन रसायन शवलाई नसड्ने गरी राख्नका लागिसमेत प्रयोग गरिन्छ। 

पाँच वर्षअघि २०६९ असोज ३ मा रानाले माछामा राखिएको रसायनले नागरिकको स्वास्थ्यमा असर पुगी क्यान्सरसमेत बनाउने भएकाले रोक्न माग गर्दै रिट हालेका थिए । माछा सड्न र गनाउनबाट जोगाउन उपभोक्ताको स्वास्थ्यमा असर हुनेगरी बढी मात्रा प्रयोग गरिएको भन्दै रोक्न रिट निवेदकले माग गरेका थिए । रिट अनुसार आदेश जारी गरेको हो । 
रिट निवेदकले उपभोक्ता हितसँग जोडेर रिट निवेदन दिएका थिए । नेपालमा फर्मालिन जथाभावी माछामा प्रयोग गर्दा जनस्वास्थ्यमा असर पुगेको दाबी गरेका थिए । फर्मालिन स्वास्थ्यका लागि हानिकारक भएको निवेदकको दाबी छ । 

प्रकाशित: १७ फाल्गुन २०७४ ०२:३८ बिहीबार

फर्मालिन प्रयोग गर्न सर्वोच्चको आदेश