समाज

मानव वेचविखन रोकथामका लागि सीमा गस्ती

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा मानव वेचबिखन ओसार पसार विरुद्ध स्थानीय समितिले कमी ल्याउन सीमा गस्ती गर्न थालेका छन्।

दक्षिणी क्षेत्रसंग भारतीय सीमा जोडिएको खुल्ला सीमानाकाका कारण मानव तस्करले जतिबेला पनि नाका प्रयोग गर्न सक्ने भन्दै बेल्डाँडीमा स्थानीय समितिले माईती नेपाल कञ्चनपुर र प्रहरीको सहयोगमा गस्ती गर्न थालेको हो।

मानव बेचविखन ओसार पसार नियन्त्रण स्थानीय समितिका अध्यक्ष धन बहादुर थापाको अगुवाईमा सीमा गस्ती गरिन थालेको महिला विकास बेल्डाँडी शाखाका संयोजक कमला जोशीले जानकारी दिइन्।

बेल्डाँडी गाउँपालिकालाई छोएको सीमानामा २७ देखी ३२ नं. पिल्लर रहेको झिलमिला प्रहरी चौकी ईन्चार्ज जय सिंह भण्डारीले बताए।

उनका अनुसार बेल्डाँडी गाउँपालिका खुल्ला नाका भएकाले यहाँका अधिकांश नागरिक दैनिक मजदुरी गर्न झण्डै दुई सयको हारारहरीमा  भारत जाने गरेका छन्। भारतबाट नेपालमा दैनिक उपभोग्य सामान बेच्न नेपाल आउनेको संख्या पनि  राख्ने गरेको उनले बताए। 

नेपालमा बेरोजगारीका कारण दैनिकी गुजारा गर्न सीमा पार जानु पर्ने बाध्यता भएको स्थानीयको भनाई छ। 

बेल्डाँडी गाउँपालिकाका अध्यक्ष थापाले सीमा क्षेत्रका नागरिकहरुका लागि नयाँ बजेटमा धेरै भन्दा धेरै आय मुलक कार्यक्रमका लागि बजेट विनियोजन गर्ने बताए। 

दैनिकी गुजारा गर्न सीमा पार जानेहरुको संख्या घटाउने उनको भनाई छ। ‘दैनिक मजदुरी गर्न जाने तर कुनै दिन फर्केर नआउने जस्ता समस्या यहाँ देखिदै आएको छ ’ उनले भने। यस्तै कारणले सीमा गस्ती थालिएको हो। 

प्रकाशित: १६ फाल्गुन २०७४ ११:४४ बुधबार

मानव वेचविखन रोकथामका लागि सीमा गस्ती