एउटा नै भनाइ छ, ‘हतारमा बिहे फुर्सदमा पछुतो।’ यहाँका जोडीलाई अहिले यस्तै भएको छ।
त्यस्तै सरकारले गर्ने गरेको ‘बिहेवारी २० वर्षपारि’ भन्ने प्रचार पनि उनीहरूमध्ये कतिले सुनेनन् भने केहीले सुनेर पनि वास्ता गरेनन्। उनीहरूले सानै उमेरमा बिहे गरे। समय बित्दै गएपछि सानो उमेरमा गरिएको बिहेका समस्या अहिले देखा परिरहेका छन्, त्यसैले त्यी जोडीहरू यतिखेर पछुताउने गरेका छन्।
जुम्लाको कनाकासुन्दरी- ६ दाँतेओखर गाउँकी पार्वती सार्कीको १८ वर्षमै विवाह भयो। पार्वतीको साथमा अहिले एउटा ६ महिनाको छोरा छ। उनी कक्षा ८ मा अध्ययन गर्दै मागी विवाह भएको बताउँछिन्।
अहिले उनी २१ वर्षकी भइन्। ‘मैले विवाहपछिको जिम्मेवारीबारे थाहै नपाई घरपरिवारले मागी विवाह गरिदिएँ, मलाई सानै उमेरमा बच्चा र परिवार हुर्काउन कठिन भएको छ,’ पार्वतीले भनिन्, ‘‘मेरो अहिलेसम्म स्वास्थ्य अवस्था ठिक छ न त राम्रोसँग पढ्न पाएँ।’
यस्तै, सोही गाउँकी राजा वडले १३ वर्षको कलिलो उमेर विवाह भयो। उमेर नपुग्दै विवाह गरेका कारण अहिले आएर स्वास्थ्यमा गम्भीर खालका समस्या देखिन थालेको उनी बताउँछिन्। उनले २२ वर्षकी हुदाँ पहिलोपटक छोरी जन्माइन्। बच्चा बाँचेन। अर्को बच्चा जन्मिँदा पनि सालनाल उल्टो भयो र दुःख पाइन्। भाग्यले उनी बाँचे पनि शिशु भने खेर गयो।
अहिले राजा वडको एक मात्रै ( छोरा) छ। ‘परिपक्व नहुँदै सन्तान जन्मिए, सन्तान र घरको जिम्मेवारी सँगसँगै उठाउनुपर्दा स्वास्थ्यको ख्याल गर्न सकिएन,’ उनले भनिन्, ‘२७ वर्षमै पाठेघरको शल्यक्रिया गर्नुपर्यो। अहिल्यैदेखि श्रम गर्नुपर्ने काम गर्नै सक्दिनँ, यता कनकासुन्दरी गाउँपालिका ४ हाडसिंजा गाउँकी राधिका उपाध्यायले पनि १८ वर्षमा विवाह गरिन्।
विवाहलगत्तै गर्भवती भइन्। परिपक्व नहुँदै गर्भवती हुँदा उनलाई सन्तान जन्माउन कठिनाइ भयो। उपाध्याय बताउँछिन्, ‘धेरै दुःख पाएँ। अहिले २० वर्ष उमेर नपुग्दै विवाह गरेका कारण स्वास्थ्य अवस्था स्वस्थ नभएको भन्ने पीडाले पोल्छ।’
‘जीवनबारे जान्न नपाउँदै विवाह गरियो, हतारमा बच्चा जन्माइयो,’ राधा भन्छिन्, ‘पढाइलेखाई पनि बिग्रियो, जीवन पनि कष्टकर भयो। उमेर पुगेपछि मात्र विवाह गर्नुपर्छ भन्ने कुरा अहिले आएर बल्ल मनन गर्दैछु।’
उक्त कनकासुन्दरी गाउँपालिका ७ रोकाबाडाकी ६० वर्षीया धनरूपा रोकायाले १० वर्षको उमेरमा विवाह गरिन्। सानै उमेरमा विवाह गर्दा उनले दुई सन्तान गुमाइन्। ‘दुई छोरा जन्मेर मरे, एक गर्भमा खेर गयो। अहिले दुई छोरा तीन छोरी साथमा छन्।
उतिबेला न पढ्ने स्कुल थियो नत कुनै अवसर नै हुन्थ्यो,’ उनले भनिन्, ‘कम उमेरमा विवाह गर्दा शिशु तथा मातृ मृत्युदर बढेको रहेछ। उहिले आमा बच्चाको धेरै मरिरहेका हुन्थे। गाउँमा न स्वास्थ्यकर्मी थिए, न त औषधि नै। साँेडेनीको भरमा सुत्केरी हुनुपर्ने अवस्था थियो।’
बालविवाह छोरीबुहारीको लागि काल नै भएकोले परिपक्क उमेरमा मात्र विवाह गर्न उनी सुझाव दिन्छिन्। बज्यै उमेरकी धनरूपा बालविवाहले छोराछोरी दुवैको भविष्य अन्धकार गराउने बताउँछिन्। उनी गाउँमा आफ्नो सानै उमेरमा भएको विहेबारीको अनुभव सुनाउँछिन्।
उनी परिपक्व उमेरमा विवाह गर्न प्रोत्साहित गर्छिन्। सोही वडाका बुद्धिजीवी दानबहादुर रोकायाले पछिल्लो समयमा प्रविधिको बढ्दो प्रयोगले बालविवाह ह्वात्तै बढेको बताउँछन्।
अबको पिँढीलाई बालविवाह गर्न नदिनेमा उनी छन्। उनले भने ‘न कम उमेरको बुहारी ल्याउँछौं न त कम उमेरको छोरीलाई विवाह गरेर पठाउँछौं। कानुनले तोकेको उमेर नपुग्दासम्म विवाह हुन दिदैनौं।’
किशोरी अन्जना रोकायाले अहिले मोबाइल र बढ्दो सामाजिक सञ्जालको प्रयोगले बालविवाह बढेको बताउँछिन्। उनले भनिन्,‘जसले गर्दा माध्यमिक शिक्षा हासिल गर्न नपाउँदै विवाह बन्धनमा बाँधिनुपर्ने अवस्था छ।’
यी तीनै पुस्ताको अनुभवले अहिले पनि बालविवाह विकराल भइरहेको दर्शाउँछन्। आत्म सम्मानका लागि सहकार्य क्याड नेपालको आयोजनामा भएको बालविवाहसम्बन्धी अन्तरपुस्ता संवाद कार्यक्रममा उनीहरूले बालविवाह पुस्ताअनुसार रूपान्तरण हँुदै गएको बताएका थिए।
कानुनले २० वर्ष पूरा भएर गरिएको विवाहलाई बालविवाह भनिन्छ। त्योभन्दा कम उमेरमा विवाह गर्दा ३ वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्मको जरिवाना गर्ने व्यवस्था छ। नेपालको कानुनअनुसार २० वर्षको उमेरअगाडि गरिने विवाह बालविवाह हो।
उमेर नपुगी भएको विवाहलाई गैरकानुनी र दण्डनीय कार्यका रूपमा परिभाषित गरिएको छ। बालविवाह गर्दा पाठेघरमा असर पर्छ भने रक्त अल्पता हुन्छ। ख्याउटे, कुपोषित र रोगी बच्चा जन्मिन्छ। जसका कारण आमा र बच्चाको स्वास्थ्य अवस्था निकै जटिल हुन्छ।
प्रकाशित: ७ माघ २०८० ०२:२५ आइतबार