समाज

बालविवाह रोक्न गाउँपालिकालाई सुझाव

माथागढी गाउँपालिकाले चालु आवको यस अवधिमा सम्पादित कार्यहरूको जानकारी गराउँदै प्रमुख प्रशासकीय अधिकृत दीपककुमार नेपाली । तस्बिरः नागरिक

पाल्पा– माथागढी गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाईमा स्थानीयहरूले बालविवाह रोक्न आग्रह गरेका छन् । उनीहरूले विद्यालयका किशोर किशोरीलाई बालअधिकारका विषयमा सचेतिकरण कार्यक्रम सञ्चालन गर्न सुझाएका हुन्।  

स्थानीय पूर्णबहादुर सारुले बालविवाह गाउँपालिकाको झडेवा, रहबास, गोठादी लगायतका स्थानमा अहिले पनि भैरहेको छ। यसलाई न्यूनिकरण गर्ने अभियान कसरी सञ्चालन गर्न सकिन्छ ? सँगै पढ्ने साथीहरू विद्यालय गैरहँदा बच्चा जन्माएर घरजम गर्ने अवस्थामा बालबालिकाका अधिकार हनन् भैरहेका छन् । गाउँपालिकाले उचित पहल गर्नुपर्यो । ‘बालविवाह दर्ता गर्ने वा नगर्ने अधिकार के छ, धेरै बालविवाह दर्ता भएका छन्,’ सारुले भने । शकुन्तला पौडेल भन्छिन्, ‘बालबालिकालाई छुट्याइएको रकम के मा खर्च भैरहेको छ, बालअधिकार, बालहिंसा, बालविवाह जस्ता विषयमा खर्च गर्नुपर्यो । बालबालिकाको रकमले अरुलाई फाईदा पुग्ने काम गर्नु भएन ।’ किसान बहुमुखी क्याम्पस प्रमुख शिवप्रसाद घिमिरेले विद्यालय विद्यार्थी अभावमा दयनीय बन्दै गएको बताए । 

गाउँपालिका अध्यक्ष सन्तोषकुमार थापाले गाउँपालिकाले बालबालिकाको बजेटबाट उनीहरूकै हितमा खर्च गर्ने गरि बस्तीस्तरबाट आएका योजनाहरू कार्यान्वयनमा रहेको बताए । उनले गाउँपालिकाभरी नै बालविवाह रहेको भन्दै यसको समाधानका लागि योजनावद्ध रुपमा अगाडि बढ्ने बताए । ‘गाउँपालिकाले पञ्चवर्षीय योजना बनाउने क्रममा छ । नागरिक बडापत्र, सुझाव पेटिका र सूचना पाटीहरू राखिएको छ । लक्षित वर्गका कार्यक्रम लक्षित समूहमै केन्द्रित गर्न थालिएको छ,’–थापाले भने । उनले भूकम्प प्रभावितहरूको गुनासाहरू केन्द्रमा पठाइएको र प्राविधिक सेवा प्रदान गरिरहेको बताए । 

माथागढी गाउँपालिकाले चालु आवको यस अवधिसम्म ३७ दशमलव ४१ प्रतिशत वित्तीय प्रगति गरेको जनाएको छ । गाउँपालिकाले कुल छत्तीस करोड दुई लाख तेइस हजार दुई सय दुई बजेट मध्ये उन्नाइस करोड पचपन्न लाख पैतिस हजार दुई सय पैतिस रुपैयाँ खर्च गरेको हो । 

गाउँपालिकाले आयोजना गरेको पहिलो सार्वजनिक सुनुवाईमा प्रगति सार्वजनिक गर्दै प्रमुख प्रशासकीय अधिकृत दीपककुमार नेपालीले गाउँपालिकाले १० लाख ८१ हजार १५ रुपैयाँ आन्तरिक आम्दानी गरेको बताए । गाउँपालिकामा रहेका कुल ४ सय ३० योजना मध्ये २ सय ५० योजना सम्झौता भएका छन् । ३० योजना फरफारक भैसकेका छन् । महिला पोषण भत्ता १ सय ५४ जना, अतिविपन्न स्वास्थ्य विमा १ सय ९८ जना, खरको छानो विस्थापन गरी टीन राख्ने कार्य, गाउँपालिकामा चालु रहेको नेपालीले बताए । 

गाउँपालिकालाई सुझाव व्यक्त गर्दै कृष्णप्रसाद कार्कीले गाउँपालिकामा रहेका खानीबाट आन्तरिक आम्दानी वृद्धि गर्न सकिने बताए। दिव्यज्योती माविका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले गाउँपालिकामा वातावरण संरक्षण सम्बन्धी कामहरूलाई ध्यान दिन र विद्यालयको भौतिक अवस्था सुधार गर्नुपर्ने बताएका थिए । माथागढी–१, चिदीपानीका राजकुमार पन्थीले गाउँपालिकाको केन्द्र उचित स्थानमा नहुँदा सेवाग्राहीलाई सास्ती भैरहेको उल्लेख गरे । उनी भन्छन्, ‘जनप्रतिनिधिहरूसँग जनताको अपेक्षा धेरै भयो तर सो अनुसार कार्यसम्पादन हुन सकेको छैन । अतिविपन्नका लागि उचित कार्यक्रम छैन । उपभोक्ता समितिमा सबै राजनीतिक दलका प्रतिनिधिहरू राख्नुपर्यो ।’

पत्रकार महासंघ प्रतिनिधि रेखीराम रानाले भौतिक पूर्वाधार विकासमा न्यून खर्च भएको सामाजिक तथा लैङगिक समानता शिर्षकमा बजेट अभाव भएको बताए । जनप्रतिनिधिको सेवा सुविधाका विषयमा जनतालाई जानकारी हुनुपर्यो ? खर्च सार्वजनिक गर्ने र सूचना प्रवाह गर्ने काम गर्नुपर्यो, रानाले भने । 

गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले घरबाट निस्केर न्यायालयको काम गर्नुपर्दा केही असहज महशुस भए पनि जनताका समस्याहरूमा केन्द्रित रहेर कार्यसम्पादन गरिरहेको बताइन् । उनले गाउँपालिकामा अहिलेसम्म कुनै उजुरी वा मुद्दाहरू दर्ता नभएको तर सानातिना उजुरी वडाबाटै समाधान हुने गरेको बताइन् । उठेका जिज्ञाशा तथा प्रश्नको जवाफ दिँदै वडा अध्यक्षहरूले आफुहरूले गाउँपालिकाबाट कुनै सुविधा नलिएको तर निरन्तर सेवामा लागिरहेको बताएका थिए।

प्रकाशित: १६ फाल्गुन २०७४ ०३:४१ बुधबार

बालविवाह रोक्न गाउँपालिकालाई