समाज

बालबालिकालाई भावनात्मक रूपमा सबल कसरी बनाउने ?

आजको प्रतिस्पर्धी समाजमा सफल व्यक्ति बन्नका लागि शारीरिक रूपमा स्वस्थ रहनु त छँदै छ, मानसिक तथा भावनात्मक रूपमा सबल हुनु अति आवश्यक छ।

भावनात्मक पक्षका आधारमा व्यक्तिको व्यक्तित्व निर्धारण हुन्छ। भावनात्मक शक्ति जन्मजात गुण होइन। यसलाई आर्जित गर्नुपर्छ। यसका लागि सबैभन्दा उचित समय भनेको बाल्यकाल हो। बच्चाले पारिवारिक संस्कार तथा अभिभावकले आफूप्रति गर्ने व्यवहार अनि बाहिरका व्यक्तिलाई गर्ने व्यवहारबाट मानसिक धारणा बनाउँछ।

यही मानसिक धारणाबाट भावनात्मक गुणको विकास हुन्छ। बच्चालाई सानै उमेरदेखि भावनात्मक रूपमा सबल बनाउन सकियो भने उसले जीवनमा आइपर्ने जस्तोसुकै कठिनाइको सामना गर्न पनि सक्षम हुन्छ। असफलतादेखि हार मान्दैन। निरन्तर प्रयास गरिरहन्छ, जबसम्म लक्ष्य प्राप्त गर्दैन।  

भावनात्मक दुर्बलताका कारण आजका बालबालिकामा धेरै किसिमका समस्या देखिन थालेका छन्। हरेक कुराप्रति नकारात्मक दृष्टिकोण राख्ने, सानोतिनो समस्यादेखि डराउने, आत्तिने, समस्याको समाधान खोज्न नसक्ने, त्यसैमा फस्दै जाने, समस्यादेखि भाग्न खोज्ने, यसको कारणले कहिलेकाहीं बालबालिकाले आत्महत्याको बाटो रोज्न पनि पछि पर्दैनन्।  

भावनात्मक रूपमा सबल बनाउने उपाय स्नेहपूर्ण वातावरण दिने

बच्चालाई स्नेहपूर्ण (मायालु) वातावरणमा हुर्काउनुपर्छ। गाली गर्ने, कुटपिट गर्ने, तर्साउने, धम्काउने गर्नाले बच्चाको मनमा डर पस्छ। बच्चा सानो कुरामा पनि डराउने, आत्तिने स्वभावको हुन्छ। यस कारणले बच्चामा आत्मविश्वासको कमी हुँदै जान्छ।  

बच्चाका कुरा सुन्ने  

परिवारमा सबै सदस्यले आफ्नो मनको कुरा खोल्न सक्ने वातावरण हुनुपर्छ। ठुला मान्छेमा जस्तै बच्चाको मनमा पनि कति कुरा हुन सक्छन्। हामीलाई सामान्य लागेका कुराले पनि उनीहरूलाई मनमा पीडा दिइरहेको हुन सक्छ। उनीहरूसँग बसेर आफ्ना मनका कुरा सुनाउने र उनीहरूका कुरा पनि राम्ररी ध्यान दिएर सुनिदिनुपर्छ। 

यसो गर्दा उनीहरूले कस्तो महसुस गरिरहेका छन् भन्ने बुझ्न सजिलो हुन्छ। समस्या देखिएमा उनीहरूकै स्तरबाट समाधानको उपाय खोज्नुपर्छ र आफू सधैं उनीहरूको साथमा रहेको कुराको विश्वास दिलाउनुपर्छ।

बच्चाले घरपरिवारबाट सानैदेखि यस्तो वातावरणमा हुर्किन पायो भने किशोर अवस्थामा आउने भावनात्मक समस्या समाधानका लागि बाहिरका व्यक्तिसँग भावना साट्न जाँदैन। आफ्नो भावनालाई दमन गरेर मनलाई कुण्ठित पारेर बाँच्नुपर्दैन। परिवारको खुला वातावरणले मनको कुरा व्यक्त गर्ने सिपको विकास हुँदै जान्छ। सानै उमेरदेखि बच्चाले आफ्नो भावना व्यक्त गर्न सिक्छ।  

गल्ती स्वीकार गर्न सिकाउने  

मान्छेले धेरै कुरा गल्तीबाटै सिक्दै जाने हो। तर त्यो  गल्तीको महसुस गर्ने र गल्ती कसरी भयो भन्ने कुराबारे जान्ने क्षमता भयो भने मान्छे अगाडि बढ्छ। होइन भने सधैं यसरी नै गल्ती गरिरहन्छ। त्यसैले बाल्यकालदेखि नै काम गर्दा गल्ती हुन सक्छ र त्यो गल्ती स्वीकार गर्दै त्यसबाट सिक्नुपर्छ भन्ने भावना जागृत गराउनुपर्छ। यसबाट बच्चामा नयाँ कुरा सिक्न र असफलताको भयबाट मुक्त हुन सिकाउँछ। यसले आफ्नो क्षमताप्रति सचेत हुनुका साथै गल्ती लुकाउने प्रवृत्तिको विकास हुन दिँदैन।  

हौसला दिने  

यो संसारमा हरेक व्यक्ति कुनै न कुनै प्रतिभा लिएर जन्मेको हुन्छ। उसको रुचिबाट त्यसको पहिचान गर्न सकिन्छ। बच्चाको रुचि पहिचान गरी त्यसमा अघि बढ्न सधैं हौसला दिनुपर्छ। उमेरअनुसार जिम्मेवारी बहन गर्न प्रेरित गर्नुपर्छ। आफ्नो काम आफैं पूरा गर्ने बानीको विकास गराउनुपर्छ। यसले सानैदेखि चुनौतीको सामना  गर्न सिकाउँछ।  

अनुशासन सिकाउने  

बच्चाको रोलमोडल उसका आमाबाबु हुन्। उनीहरूका हरेक क्रियाकलापबाट बच्चाले सिकिरहेको हुन्छ। त्यसैले हरेक आमाबाबुले आफू अनुशासनमा रही बच्चालाई अनुशासन सिकाउनुपर्छ। बच्चाले आमाबाबु (आफूभन्दा ठुला) ले भनेको कुरा होइन, उनीहरूले गरेको कुरालाई हेरेर सिक्छ। त्यसैले अनुशासन सिकाउन पहिला आफू अनुशासित हुनुपर्छ।  

समय दिने  

बच्चाको वास्तविक संसार उसका आमाबाबु हुन्। आमाबाबुसँग रहँदा नै बच्चा खुसी हुन्छ। त्यसैले व्यस्तताका बाबजुद पनि बच्चालाई समय दिनुपर्छ। बिहान उठ्नेबित्तिकै, खाना खाँदा र सुत्ने बेलामा आफ्ना आमाबाबुको अनुहार हेर्ने बानी परेका छोराछोरीले जीवनभर आमाबाबुको साथ छोड्दैनन्।  

सहअस्तित्वको भावना विकसित गराउने  

यस संसारमा म अलग छैन। मेरो अस्तित्व हरेक चिजसँग गाँसिएको छ। म यस ब्रह्माण्डको एउटा सानो अंश हुँ भन्ने भावना बाल्यकालदेखि नै बच्चाको मनमा पैदा गराउनुपर्छ। यसका लागि पारिवारिक संस्कारको महŒवपूर्ण भूमिका रहन्छ। यसले बच्चाको मनमा उदारताको भावना सिर्जना हुन्छ। सबैको अस्तित्वलाई स्विकार्दै सबैसँग सहकार्य गर्दै आफूलाई अगाडि बढाउँदै लान सक्छ।  

अतः हरेक अभिभावकले यी कुरालाई आत्मसात गर्दै आफ्ना सन्तान हुर्काउने हो भने अवश्य पनि आफ्ना सन्तान मानसिक तथा भावनात्मक रूपमा सबल भएको पाउनुहुनेछ। जो व्यक्ति मानसिक तथा भावनात्मक रूपमा सबल छ, त्यही व्यक्ति हरेक काममा सक्षम हुन्छ।

ऊ हरेक कुराप्रति आशावादी हुन्छ, आत्मविश्वासी हुन्छ। उसमा जस्तोसुकै चुनौतीलाई पार गर्ने साहस हुन्छ। आफ्नो लक्ष्यप्रति हरबखत उत्साही हुन्छ। हरेक कुरा सिक्ने, जान्ने जिज्ञासा राख्छ। पारस्परिक सम्बन्धविस्तार गर्दै हरदम अगाडि बढ्न सक्षम हुन्छ। उसको जीवनमा स्ट्रेस, एङ्जायटीजस्ता मानसिक समस्याले सताउने सम्भावना कमै रहन्छ।

प्रकाशित: ६ माघ २०८० ०५:०१ शनिबार

बालबालिका परिवार प्रतिस्पर्धी समाज अभिभावक पारिवारिक संस्कार अनुशासन