समाज

२ घण्टा पैदल हिँडेर पानी बोक्न बाध्य

पाल्पा – पूर्वी पाल्पाका पूर्वखोला, निस्दी गाउँपालिका र रामपुर नगरपालिकाको डाँडा बस्तीमा खानेपानीको अभाव भएको छ। मुहान सुक्न थालेपछि यहाँका स्थानीय बासिन्दा खानेपानीका लागि एक÷दुई घण्टा पैदल हिँडेर पानी बोक्न बाध्य छन्।

पूर्वखोला गाउँपालिका–१, डिलकुमारी परियारको जमलिया पँधेराबाट सिलुवाको डाँडामा पानी डोकोमा बोक्दा बिहान बित्छ। बूढेसकालमा डोकोमा पानी बोकेर दैनिक ल्याउनुपर्ने बाध्यता टरेको छैन। उकालोमा दैनिक दुई तीन गाग्री पानी बोकेर टार्नुपर्ने अवस्था छ।

सरकारले घरघरमा खानेपानीको धारा जडान गर्ने नीति ल्याए पनि दलित बस्तीमा खानेपानीको समस्यामा कमी आएको छैन। सार्वजनिक धारा, कुवा संरक्षण गर्न छाडेर सरकारले प्रत्येक घरमा खानेपानीका धारा जडान गर्ने काम प्रभावकारी हुन नसक्दा दलित समुदाय सबैभन्दा बढी समस्या भोग्न बाध्य छन्।

उकालोमा पानी बोक्दा समस्या हुन्छ, तर पनि हाम्रो दलित बस्तीमा खानेपानीको समस्या रहिआएको दुखेसो डिलकुमारी परियारको छ। खानेपानी समस्याका कारण दैनिक दुई तीन घण्टा पैदल हिँडेर पानी बोक्नुपर्ने समस्या निस्दी गाउँपालिका–५, गल्धाकी नरपति विकको पनि समस्या फरक छैन। तानसेन– रामपुर सडकको स्तरवृद्धि गर्दा खानेपानीको मुहान धसिएपछि खोलामा नै जानुपर्ने समस्या रहेको छ।

गरिबीका कारण समेत खेतीयोग्य जमिनमा पहुँच नहुँदा डाँडाबस्तीमा बस्न बाध्य दलित समुदायको खानेपानीदेखि सबै क्षेत्रमा अझै पहुँच पुग्न सकेको छैन।

डाँडाबस्ती खानेपानीको सधैँ अभाव हुने र प्रशस्त जमिन नहुने, जमिन भएपनि डाँडापाखामा अन्नबालीसमेत प्रशस्त नहुँदा दलित समुदायका आधारभूत समस्या समाधान गर्नुपर्ने देखिएको छ।  (रासस)

प्रकाशित: १५ फाल्गुन २०७४ ०६:२१ मंगलबार

घण्टा पैदल हिँडेर पानी बोक्न बाध्य