समाज

धेरै सन्तान भए खुसी पनि खोसिन्छ!

यस्ताे पनि!

जति धेरै दाजुभाइ भयो, उति मर्दापर्दा साथ पाइन्छ भन्नु मिठो सपना मात्र हुने एउटा अध्ययनमा देखिएको छ। अचेल धेरै सन्तान जन्माइँदैनन्। त्यसैले धेरै दाजुभाइ हुने सम्भावना पनि कम छ। यस्तोमा मेरा धेरै दाजुभाइ भए कति राम्रो हुन्थ्यो होला भनेर दुःख मान्नु वास्तवमा दुःख बोलाउनु हो भन्ने केही शोधकर्ताको निष्कर्ष छ। बरु धेरै दाजुभाइ भएका खण्डमा अधिकांश किशोरकिशोरीहरूको सुख हरणसमेत हुने गरेको शोधमा पाइएको छ।

अमेरिका र चीनका ठूला परिवारबारे गरिएको एउटा अध्ययनमा एकै ठाउँमा बस्ने मानसिक रूपमा कयौँ किसिमका समस्या झेलिरहेको देखिएको छ। सानो परिवारको तुलनामा ठूलो परिवारका सदस्यहरूको मानसिक स्वास्थ्य निकै कमजोर पाइएको थियो।

अमेरिकाको ओहायो स्टेट विश्वविद्यालयका समाजशास्त्रका प्राध्यापक डोउग डाउनीले केही वर्षदेखि नियमित रूपमा ठूलो परिवार र सानो परिवारका सदस्यहरूको मानसिक स्वास्थ्यमाथि शोध गरिरहेका छन्।

उनको समूहले अमेरिकाका नौ हजार एक सय तथा चीनका नौ हजार चार सय औसतमा १४ वर्षका किशोर किशोरीहरूलाई उनीहरूको संयुक्त परिवारबारे सोधिएको प्रश्नमा मिश्रित प्रतिक्रिया दिएका थिए।

चीनका एकल सन्तानको मानसिक स्वास्थ्य सबल देखिएको थियो। अमेरिकामा भने दाजुभाइ नभएका वा एक्लो सन्तान रहेका किशोरकिशोरीको स्वास्थ्य पनि मजबुत नै पाइएको थियो।

समग्रमा धेरै दाजुभाइ भएकाहरूमा भने केही मानसिक समस्या देखिएको थियो तर उमेरमा धेरै फरक भएका दाजुभाइ तथा दिदीबहिनी भएकाहरूमा भने मानसिक स्वास्थ्य सबल रहेको पाइएको छ।

फ्यामिली इस्यु जर्नलमा प्रकाशित आलेखमा भनिएको छ, ‘तपाईंले परिवारलाई एउटा रोटीसँग तुलना गर्नोस्। एउटै सन्तान छ भने उसले रोटीको भाग धेरै पाउँछ। धेरै सन्तान छन् भने त्यही रोटीलाई विभिन्न भाग लगाउनु पर्ने हुन्छ। जति सन्तान बढ्छन्, स्रोतको बाँडफाँड सीमित साधनबाटै हुन्छ र त्यो निकै न्यून हुनपुग्छ। अझ उही उमेरका सन्तान बढी छन् भने त त्यहाँ अझ झगडाको वातावरण बन्न पुग्छ।’

त्यसो त अध्ययनले के पनि भनेको छ भने, ठूलो परिवार छ तर त्यस परिवारको क्षमता पनि ठूलै छ भने त्यस्तो परिवारका सदस्यहरूको मानसिक स्वास्थ्य पनि राम्रो हुने देखिएको छ।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: ५ माघ २०८० ०१:४८ शुक्रबार

धेरै सन्तान भए खुसी पनि खोसिन्छ! यस्ताे पनि!