समाज

विद्युत चोरी गर्नेबाट दुई लाख असुली

बारा- नेपाल विद्युत प्राधिकरणको कलैया वितरण शाखाले हुकिङ्ग प्रयोग गरी विद्युत चोरी गर्ने १५ जनालाई नियन्त्रणमा लिएर कारवाही गरेको छ।

प्रधिकरणको टोलीले कलैया उपमहानगरपालिकाको बिभिन्न वडाहरु बैद्यनाथपुर, बेलहिया, प्रस्टोका र प्रसौनी गाउपालिकाबाट विद्युत हुङ्किग गरी चोरी गर्ने १५ जनालाई नियन्त्रणमा लिएर कारवाही गरेको हो।

विद्युत प्रधिकरणको कलैया बितरण केन्द्र प्रमुख धुपेन्द्र कुमार झाले  हुकिङ्ग गर्नेलाई नियन्त्रणमा लिएर नगर जरीवाना गराईएको बताएका छन्।

झाले मकसुद अंसारीसंग ५० हजार ३ सय ५० रुपैयाँ, सुजायत अंसारीसंग ३७ हजार ३ सय ३० रुपैयाँ, राजदेव साहसंग २४ हजार ३ सय ५०, मुस्तकिम अंसारीसंग १६ हजार ५ सय ५० र शिवलाल महतोसंग १५ हजार १ सय २० रुपैया असुली गरीएको झाले बताए।

जिल्लामा प्रति महिना २ लाख ५४ हजार युनिट बिद्युत चुहावट हुने गरेको जसको कारण करिब ३० लाख रुपैयाँ प्रति महिना प्राधिकरण घाटामा रहेकोले बिद्युत चुहावट तथा चोरी नियन्त्रण अभियान शुरु गरिएको विद्युत प्राधिकरण बितरण शाखा कलैयाले जनाएको छ।

बारा जिल्लामा ५५ प्रतिशत बिद्युत चोरी हुँदै आएको कलैया वितरण शाखाले जानकारी गराएको छ।  केन्द्रको कडा निर्देशनमा चोरी नियन्त्रण गर्ने आदेश भएकोमा त्यसलाई निरुत्साहित गर्न ०७४ माघ १२ गते सुरक्षा समिति लगायत राजनितिक दलको सहभागितामा बिद्युत चोरी नियन्त्रण समिति गठन गरिएको प्राधिकरण प्रमुख झाले जानकारी गराए।

साना तथा ठुला उद्योग, कुषि मिटर, घरेलु उद्योग र घरायसी प्रयोजनमा माघ महिनामा करिब अढाई करोड युनिट खपत भएको छ । यस बितरण केन्द्रमा ४७ हजार ६ सय १ जना ग्राहक मध्ये ०७४ को माघ मसान्तसम्म ५३ करोड ४७ लाख ७१ हजार ४ सय ५९ रुपैयाँ उठाउन बाँकी रहेको लेखापाल नेपालले बताए।

चालु आर्थिक बर्ष ०७४ को साउनदेखी माघ मसान्तसम्ममा २ करोड १६ लाख ७२ हजार ८ सय ३६ युनिट खपत भएकोबाट २० करोड १६ लाख २६ हजार ५ सय ६७ रुपैयाँ आउनु पर्नेमा जम्मा १५ करोड ३४ लाख २१ हजार असुल उपर भएको प्राधिकरणले जनाएको छ।

गर्मी आयो अब साढे ३ सय बढी बिद्युत युनिट खपत हुने अनुमान गरिएको प्राधिकरणका प्रमुख लेखापाल शरदकुमार नेपालले जानकारी दिए।

 

 

प्रकाशित: १४ फाल्गुन २०७४ १४:०८ सोमबार

विद्युत चोरी गर्नेबाट दुई असुली