समाज

रसुवामा २४९ मानसिक रोगी

रसुवा – रसुवामा दुई सय भन्दा बढी मानसिक रोगी भएको तथ्य सार्वजनिक भएको छ। जिल्ला स्वास्थ्य कार्यालय रसुवाका अनुसार जिल्लामा दुई सय ४९ मानसिक रोगीको पहिचान भएको छ। 

मानसिक रोगीमध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष रहेका कार्यालयले जानकारी दिएको छ। मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सिएमसी) नेपालसँगको सहकार्यमा कार्यालयले गरेको अध्ययनले दुई सय ४९ मानसिक रोगी रहेको तथ्य फेला पारेको हो। 

सिएमसी नेपालले सोमबार सदरमुकाम धुन्चेमा पत्रकार सम्मेलन गरी मानसिक रोगीको अवस्था बारे जानकारी गराएको छ। 
तथ्याङ्क अनुसार जिल्ला अस्पतालमा ४०, जिबजिबे प्राथामिक स्वास्थ्य केन्द्रमा एक सय २७, स्याफ्रु स्वास्थ्य चौकीमा २७, ठूलोगाउँ स्वास्थ्य चौकीमा १७, पारच्याङ स्वास्थ्य चौकीमा ७, थाम्बुचेत स्वास्थ्य चौकीमा १३ र राम्चे स्वास्थ्य चौकीमा १८ जना मानसिक रोगीले सेवा लिइरहेका छन्। 

सिएमसी नेपालसँगको साझेदारीमा जिल्लाको ७ वटा स्वास्थ्य संस्थाबाट समुदायस्तरमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा उपलब्ध गराइएको कार्यालयका प्रमुख डा. गुणनिधी शर्माले बताए।  

भेटिएका रोगीले नियमित औषधी सेवन गर्नुका साथै परामर्श समेत लिइरहेका छन्। मानसिक रोग देखिएका बिरामी औषधी तथा परामर्शका लागि जिल्लाको ७ वटा स्वास्थ्य संस्थाको साथै नुवाकोटको निजी क्लिनिकमा समेत जाने गरेका छन्। 

कडा खालका मानसिक रोगीलाई भने मानसिक अस्पताल र रिदम न्युरो साइकाटिसस क्लिनक सिफारिस गर्ने गरिएको छ। मानसिक रोगीको पुनर्स्थापनाको लागि जीविकोपार्जनमा समेत संस्थाले सहयोग पु-याउँदै आएको छ। 

संस्थाले तीन जनालाई बाख्रापालन र सिलाई बुनाईका लागि सहयोग गरेको बताइएको छ। जिल्लाको स्वास्थ्य संस्थामा मासिक रुपमा २५ प्रतिशत मानसिक समस्या भएका बिरामी पुग्ने गरेका संस्थाकी मानसिक स्वास्थ्य सामाजिक सहजकर्ता रमिता श्रेष्ठले बताइन्। 

प्रकाशित: १४ फाल्गुन २०७४ १२:२७ सोमबार

रसुवामा २४९ मानसिक रोगी