समाज

विद्युत प्राधिकरणको लापरबाहीले सैनिक ब्यारेकमा अन्धकार

उदयपुुर – नेपाल विद्युत प्रााधिकरणको लापरबाहीका कारण उदयपुरस्थित नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डा दुईदिनयता अन्धकार भएको छ। अघिल्लो दिन ‘भँगेराले तार सर्ट गर्दा’ आगलागीमा परेका कारण त्रियुगा नगरपालिका ३ भुल्केस्थित बाहिनी परिसर विद्युतविहीन हुनुका साथै ठूलो संख्याका स्थानीय गाउँलेको क्षति भएको छ। 

आइतबार विहान ९ बजे एक्कासी विद्युत सर्ट हुँदा भुल्केमा बाहिनीसहित स्थानीय २ सय २६ घरमा आगलागी भएको थियो। विद्युत सर्ट भएका कारण बाहिनीका दुईखालका विद्युतीय क्षति भएको बाहिनीले जनाएको छ। बाहिनीपति सहायक रथी भरत पाठकका अनुसार अचानक भएको दुर्घटनाले बाहिनीमा व्यारकलगायत कार्यालय परिसरको सम्पूर्ण वाईरिङ ध्वस्त भएको छ भने दर्जनौं विद्युतीय उपकरणहरु सबै जलेर नष्ट भएका छन्। 

‘विद्युत सर्ट भएर दुईकिसिमका इलेक्ट्रोनिक क्षति पुगेको छ’ सहायक रथी पाठकले भने ‘एकातिर बाहिनी परिसरभरीको वाइरिङ पूरै जलेर नष्ट भएको छ, अर्कातिर टेलिभिजन, पंखा, फ्रिज, कम्प्युटर, हिटर, मोटरलगायत सम्पूर्ण इलेक्ट्रोनिक एप्लीकेसन्स ध्वस्त भएका छन्।’ बाहिनीमा ठूलो क्षति भएको भएपनि यकिन विवरण निकाल्न भने बाँकी रहेको उनले बताए। क्षति विवरण यकिन गर्न बाहिनीले सैनिक मुख्यालयबाटै प्राविधिक टोली मगाएको जर्नेल पाठकले बताएका छन्।

जर्नेल पाठक खाना खाँदै गरेका बेला विद्युत सर्ट भएर आगलागी हुन थालेपछि बालबाल बँचेको बताए। विहानको समय भएकाले मात्र तत्काल सुरक्षित हुन भ्याएकाले भौतिक सामग्री मात्र क्षति पुगेको, राति भए अकल्पनीय मानवीय क्षति हुनसक्ने खतरा रहेको उनले बताए। ‘खाना खाँदै थिएँ, टाउकैमाथि आगो बल्यो, धन्न विहान भएर सुरक्षित भएँ’ उनले भने ‘रातिको समय भएको भए अकल्पनीय मानव क्षति पनि हुने खतरा थियो।’ 

वाईरिङ सबै जलेर नष्ट भएका कारण विद्युत आपूर्ति नहुँदा बाहिनीको महत्वपूर्ण काम रोकिएको बाहिनीले जनाएको छ। विद्युत नहुँदा सञ्चार सेट प्रयोग गर्न नपाएको तथा टेलिभिजन कम्प्युटर ध्वस्त भएपछि सूचनाबाट वञ्चित हुनुपरेको हो। ‘अरु भौतिक क्षति त भएकै छ, सञ्चार सेटसमेत चार्ज गर्न नपाउँदा सुरक्षा संयन्त्रणमै समस्या आईसक्यो’ बाहिनी स्रोतले भन्यो। प्राधिकरणको यो गम्भीर लापरबाही भएको भन्दै तत्काल सुधार गर्नुपर्ने खाँचो स्थानीयले औंल्याएका छन्। 

विद्युत सर्टले मोतिगडा र भुल्के क्षेत्रका २ सय २६ घरधुरी स्थानीयको विद्युतीय सामग्रीमा क्षति पुगेको छ भने मिटरबक्स सबैको जलेको छ। भुल्केका यदुप्रसाद ढकालले खाना पकाउँदापकाउँदै मिटर बक्समा आगलागी हुँदा परिवारका सबै भागाभाग भएको बताए। उनले घटना भएको ४८ घण्टा बितिसके पनि प्राधिकरण र नगरपालिकलो मर्मत र क्षति विवरण लिने चासो नदेखाएको ढकालले गुनासो गरे। 

त्रिनपा ३ की वडासदस्य हरिमाया शाहीठकुरीले प्राधिकरणले स्थानीयलाई उचित क्षतिपूर्ति दिएर तत्काल नयाँ ट्रान्समिटर जडान गर्न भुल्केबासीले माग गरेको बताएकी छिन्। वर्षाैंअघिको पुरानो र कामै नलाग्ने ट्रान्समिटरका कारण घट्ना भएको र यस्तो खतरनाक घट्ना दोहोरिन सक्ने भएकाले दीगो विकल्पको व्यवस्था नगरे प्राधिकरण कार्यालय घेराउ गर्न जाने चेतावनी गाउँलेबाट आएको उनले बताईन्। उनले नगरपालिकाले पनि तत्काल प्राधिकरणलाई भनेर भयरहित विद्युत बाल्ने व्यवस्था मिलाउन आग्रह गरेको बताईन्।

त्रियुगा नगरपालिकाले क्षति विवरण लिन अनुगमन टोली खटाउने तयारी गरेको जनाएको छ। नगपालिका उपमेयर देवीकुमारी चौधरीले पीडितहरुलाई निवेदन लिएर वडा कार्यालयमार्फत आउन आग्रह गरेको बताईन्। निवेदन आएपछि प्राविधिक टोली खटाएर क्षति विवरण यकिन गरेपछि क्षतिपूर्तिका लागि प्राधिकरणसँग आग्रह गर्न नगरपालिकाले पहल थाल्ने उनले बताईन्। 

प्राधिकरणका इन्जिनियर सञ्जिव कर्णले बाहिनीको वाईरिङ पूरै बदल्नुपर्ने गरी क्षति भएकाले तत्काल काम चलाऊ गर्न वैकल्पिक पोर्टबाट विद्युत आपूर्ति गराएको दावी गरे। कार्यालय प्रमुख रामअयोध्या यादव कामको सिलसिलामा क्षेत्रीय कार्यालय जनकपुर गएकाले उनी फर्केपछि थप प्रक्रिया अघि बढाउने इन्जिनियर कर्णले बताए। 

प्रकाशित: १४ फाल्गुन २०७४ १२:१७ सोमबार

विद्युत प्राधिकरणको लापरबाहीले सैनिक ब्यारेकमा अन्धकार