समाज

पशुको आहारा बन्यो मुसहरको सहारा

फाइल तस्बिर : नागरिक

वर्षभरि वस्तुभाउलाई खुवाउनका लागि जम्मा गरेको आहारा (पराल) महोत्तरी जिल्लाको एकडारा गाउँपालिका ३ भटौलिया गाउँका मुसहर समुदायका लागि जाडोबाट बच्ने सहारा बनेको छ।

भटौलिया गाउँको उत्तरपट्टी रहेको सय परिवारको मुसहर बस्तीको घरमा वस्तुभाउलाई खुवाउने पराल नै ओढ्ने, पराल नै ओछ्याउने र परालकै आगो ताप्ने बनाइरहेको दृश्यले त्यहाँका मुसहर समुदायलाई जाडोबाट बचाउने सहारा नै पराल बनेको देखिन्छ।

चिसो स्याँठले असह्य भएको जाडोको बीच चारैतिर परालको कुन्यु, परालबाटै बनेको गुन्द्री, पराल नै जुटको बोरामा कोचेर बनाइएको सिरक, डसना र परालकै आगो बालेर भटौलिया गाउँका सम्पूर्ण मुसहरी (मुसहर बस्ती) यतिबेला जाडो छलिरहेको छ।

चारैतिर खर परालकै झिक्राझिक्री (टाटी) र खर र परालले नै छाएको सानो झुपडीमा उमेरले ६५ वर्ष नाघिसकेका जोगिया सदा आफ्ना लालाबाला र घरपरिवारसहित चिसो स्याँठका बीच बसिरहेको देखियो। उनको शरीरमा समेत चिसो छल्न सक्नेजति लुगाफाटा थिएन भने भने बालबालिकाको शरीर लुगाफाटाले पूर्ण रुपमा छोपिएको थिएन, महिला इज्जत ढाक्नैका लागि लगाउनुपर्ने लुगाबाहेक अरु बाक्लो कपडामा भेटिँदैनन्। आर्थिकरुपले चरम गरिबीले छोएको उनको झुपडीमा कुनै घेराबेर छैन। चिसो आकाशमुनि बस्दै आएको जोगियाको ११ जनाको परिवार जाडो बढेसँगै आगोकै वरिपरि लुटपुटिएको हुन्छ।

उनकै छिमेकी ५० वर्षीया सुमित्रादेवी सदाको अवस्था पनि उस्तै छ।  छ÷सात जना छोराछोरीसहित उनँको परिवार पनि परालको ठुट्टो (लार) ले चारैतिरबाट घेरिएको र माथि च्यातिएको प्लास्टिकबाट ठाउँठाउँमा घरभरि उज्यालो आउँदै गरेको सानो झुप्रोमा बस्दै आएको छ। झुप्रोभित्र चारैतिर पराल ओछ्याएको छ भने राति सुत्नका लागि जुटको ठूलाठूला बोरामा पराल कोचेर ओढ्ने ओछ्याउने विस्तार बनाइएको छ।

उनका कुनै छोराछोरीका जीउमा पनि पूरा कपडा छैनन्। घरभित्रैबाट चिसोले काप्दै सुमित्राले भने, ‘हजुर हमरा सब लग केऊ नै अबैछै, मैर रहलछी लेकिन केकरो कोनो फिकिर नै है।’ (हजुर हामीकहाँ कोही आउँदैनन्। मरिरहेछौँ तर पनि कसैलाई कुनै मतलब छैन) ६ वर्षदेखि चिसो, वर्षा र घामको सामना गर्दै यसै झुप्रोमा दिन बिताउन बाध्य उनको परिवारलाई दुई छाक हातमुख जोर्न पनि समस्या छ। उनी भन्छन्, ‘परिवारमा खानेकुराको अभावले भोकै बस्नुपर्ने अवस्था छ भने लुगाफाटा र ओढ्ने ओछ्याउने कहाँबाट ल्याउनु ?’

वर्षौंदेखि दमरोगको बिरामी रहेकी ६५ वर्षीया अनरिया देवी सदा झुत्रो कम्बल ओढेर काप्दै थिइन्। आफूलाई पति र छोराछोरीलेसमेत राम्ररी हेरचाह नगरेको भन्दै सहयोगको याचना गर्दै उनले भनिन्, ‘हजुर मलाई कुनै अनाथालयमा लगिदिनुस्, यो चिसोमा भोकभोकै रहनुपर्दा निकै कष्ट भएको छ। परिवारबाट पनि माया पाएको छैन।’

सोही बस्तीकी ५५ वर्षीया सीतादेवी सदा दुई सातादेखि रातिराति सुत्न पाएकी छैनन्। उनले भने, ‘हजुर दिनभरि जसोतसो काटे पनि रात काट्न परालै बाल्नुपर्छ। दुई सातादेखिको चिसो स्याँठबाट बालबालिकालाई बचाउन रातभिर पराल र पात पतिङ्गरको घुर जलाएर सुत्ने गरेकी छु।’

आगो बालेर सुत्दा जल्ने पोल्ने डरले बालबालिकालाई सुताउँदै आफू रात रातभरि जाग्राम नै बस्ने गरेको उनी बताउँछिन्। चरम गरिबीका कारण खानपानकै जोरजाम पनि राम्ररी पूरा गर्न नसक्ने उनका पति दिनभरि मजदुरी गरेर कमाएको पैसामध्ये आधी मदिरामा उडाइदिने र आधाले जहान परिवारका लागि खानेकुराको जोहो गर्नुपर्दा बालबालिकाका लागि न्यानो लुगाफाटा र पोसिलो खानेकुरा दिन नसकेको उनको दुःखेसो छ।

यस वर्षमा मात्रै नभएर आफूहरुले वर्षौंदेखि जाडोयाममा यसैगरी समय काट्ने गरेको स्थानीय ४८ वर्षीया कोशिलादेवी सदाले सुनाइन्। दिनमा घाम लागे खुसी हुने र बेलुका घाम ढल्दै जाँदा दुःखी हुँदै रातभरि घुरमा आगो ताप्दै रात बिताउने उनको दिनचर्या बनिसकेको छ। कोशिलाका घरमा उनी र उनका पतिसहित आठजना बालबालिका छन् भने सबैजना जाडो छल्नका लागि परालकै सहारा नै लिनुपरेको उनले बताइन्।

शीलतहर, चिसो हावा, बाक्लो हुस्सु र डम्म परेको कठ्याँग्रिदो जाडोकै बीच बस्तीनजिकै अर्काको खेतमा धान बढार्दै गरेकी ७४ वर्षीया भुटीदेवी सदा टाँढैबाट कराउँदै आफ्नो पीडा सुनाउन आइपुगिन्। ‘हजुर, खान पाएकी छैन। घरमा अन्नपति छैन। जीउमा लुगा छैन। छानामाथि ओत छैन। जाडोले ज्यानै लिन लाग्यो।’ ‘हजुर आफैँ त कसैगरी जाडो सहन सकिरहेको छु। तर बालबच्चालाई कसरी जोगाउनु ? घरमा चारैतिरबाट हावा पस्छ। जाडोले मुटु हल्लाउँछ। जाडोमा ओढ्ने–ओछ्याउने नहुँदा मनै रोएर आउँछ। कसैगरी कतैबाट राहत दिलाइदिनुस्।’

कहाँ जाऊँ, के गरूँ र कसरी बाँचु भन्ने चिन्ताले उनलाई पिरोलेको छ। उनको सात बालबालिकासहित ११ जनाको परिवार दैनिक मजदूरीबाट जसोतसो चल्दै आएको छ। एक दिन पनि मजदूरी नगरेमा चुल्हो बल्दैन भने परिवारका सबै सदस्य भोकभोकै बस्नुपरेको उहाँको दुःखेसो छ। ‘जाडो याममा कहिले काम पाइन्छ, कहिले पाइँदैन र त्यस्तो अवस्थामा भोकै बस्नुपर्ने बाध्यता छ’, भुटीले भनिन्, ‘हजुर कोही दाता छन् भने हामीलाई राहत दिलाइदिनुस् न। जाडो हटेपछि त काम पनि पाइन्छ, बालबालिका पनि भुलाउन सजिलो हुन्छ।’

केही दिनयता तराई÷मधेसका जिल्लामा बाक्लो कुहिरो लाग्ने, घाम नलाग्ने र शीतलहर हुने गरेकाले मुसहरजस्ता गरिब तथा विपन्न समुदायका वासिन्दाको जनजीवन कष्टकर बनेको छ। उनीहरूको अवस्था बढ्दो चिसोसँगै चिन्ताजनक हुँदै गएको छ। –रासस

प्रकाशित: ४ माघ २०८० ०७:२९ बिहीबार

मुसहर समुदाय भटौलिया गाउँ जाडो सहारा पराल स्याँठ