समाज

फोहरको डङ्गुरमा नवजात शिशु

उदयपुरको कटारीमा फोहोर फाल्ने डम्पिङ साइटमा सालनालसहितको नवजात शिशु फेला परेको छ। कटारी नगरपालिका ३ राजावासस्थित डम्पिङसाइटमा फालिएको अवस्थामा मृत नवजात शिशु फेला परेको हो।

डम्पिङसाइटको फोहोर संकलन गर्ने क्रममा नगर कर्मचारीले बुधबार दिउँसो फोहोरको डङ्गुरमा प्लास्टिकभित्र कपडाले बेरेर फालेको अवस्थामा मृत शिशु फेला पारेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।

डम्पिङसाइटको फोहोर कुहिने र नकुहिने छुट्याउन खटेका नगर कर्मचारीले फोहोर छुट्याउने क्रममा शिशुको शव फेला पारेको इप्रका कटारीका इन्स्पेक्टर उमेश महतोले बताए।

महतोका अनुसार डम्पिङसाइटमा मृत शिशु फेला परेको खबर स्थानीयबाट आएपछि टोली  पठाउँदा घटना पुष्टि भएको हो। शिशुको शवमा झ्याउ पलाएकाले निकै दिन पहिले फालेको अनुमान गर्न सकिने प्रहरीले जनाएको छ।

शिशुको शव कटारी नगर अस्पतालमा राखेर प्रहरीले अनुसन्धान सुरु गरेको छ। अस्पताल प्रमुख (मेडिकल सुपरिटेन्डेन्ट) डा. गौरव साहले फोहोरमा भेटिएको भन्दै शिशुको शव प्रहरीले अस्पताल पठाएको तर पोस्ट्मार्टम गर्न आदेश नदिएको बताएका छन्।

प्रकाशित: ४ माघ २०८० ०६:१९ बिहीबार

डम्पिङ साइट नवजात शिशु कटारी उदयपुर