समाज

राप्ती र नारायणीमा भेटियो दुई भाले घडियाल गोही

चितवन–भाले गोहीविहीन भनिएको राप्ती र नारायणी नदीमा अहिले तीनबटा भाले गोही भेटिएको गणनाका क्रममा फेला परेको छ। 

गत वर्षको जेठ १० गते नारायणी नदीमा जालमा परेर एउटा घडियाल भाले गोही मरेपछि राप्ती र नारायणी नदी भाले गोहीविहीन बनेकाले गत पुस ८ गते बर्दियाबाट एउटा भाले गोही ल्याइएको थियो। 

निकुञ्ज विभागको नेतृत्वमा गत शुक्रबारदेखि तीन दिन लगाएर गरिएको गोही गणनाका क्रममा राप्ती नदीका दुई ठाउँमा भाले गोही फेला परेका हुन्। 

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार त्रिवेणी नजिकै नारायणी नदीको भेलौजी भन्ने ठाउँमा र राप्ती नदीको सौराहाघाटमा एक एक वटा भाले गोही फेला परेका हुन्। यीसँगै दुई नदीमा भालेको संख्या तीन पहिचान भएको छ। 

तीन वटा भाले गोही भएपछि प्रजननमा अब समस्या नआउने अनुमान गरिएको र अरु थप भाले हुन सक्ने अनुमानमा अनुसन्धान जारी छ। 

नारायणीको भेलौजीमा गत वर्षको जुनमा पनि सो गोही देखिएको भए पनि भाले हो भन्ने यकिन गर्न नसकेका कारण प्रष्ट भन्न नसकिएको उनले बताए। 

सहायक संरक्षण अधिकृत खड्काका अनुसार केही दिनपछि पछिल्लो गणनाको परिणाम आउने छ। राप्ती र नारायणी नदीमा ११ समूह बनाएर ५० जनाले तीन दिन लगाएर गोही गणना गरेका थिए। यसअघि गरिएको गणनामा राप्ती र नारायणी नदीमा १६६ वटा गोही फेला परेका थिए।  

यी दुई नदीसँगै बबई, कर्णाली, कालीगण्डकी र कोशी नदीमा गरी हालसम्म एक हजार २९४ वटा गोही प्रजनन केन्द्रमा हुर्काएर छाडिएको छ । हाल प्रजनन केन्द्रमा ४९५ वटा गोही छन् । सो केन्द्रमा पनि एकमात्र बूढो भाले गोही रहेकाले भारतबाट भाले गोही ल्याउनका लागि गृहकार्य भइरहेका बेला राप्ती र नारायणी नदीमा भाले गोही भेटिएपछि संरक्षणकर्मी उत्साहित भएको खड्काले बताए। 

राप्ती र नारायणी नदीमा गोहीको अण्डा संकलन गरी प्रजनन केन्द्रमा लगेर बच्चा कोरल्ने गरिन्छ । एउटा भालेले ठूलो संख्यामा पोथीलाई प्रजनन गराउन सक्ने क्षमता राख्ने गरेको सहायक संरक्षण अधिकृत खड्काले बताए। 

प्रकाशित: १४ फाल्गुन २०७४ ०८:१७ सोमबार

राप्ती नारायणीमा भेटियो दुई भाले घडियाल गोही