समाज

कारबाही नगरे आन्दोलनको चेतावनी

काठमाडौं – नेपाल चिकित्सक संघले जिल्ला अस्पताल डोटीमा कार्यरत डा. जितेन्द्रकुमार सिंहमाथि आक्रमण गर्ने व्यक्तिहरुलाई तत्काल पक्राउ गरी बिनाधरौटी जेल चलान (जेल विथआउट बेल) नगरे देशव्यापी विरोध कार्यक्रम ल्याउने घोषणा गरेको छ । घटनाको एक साता बितिसक्दा पनि दोषीमाथि कारबाही नभएको भन्दै संघले डोटीमा कार्यरत चिकित्सकलाई काठमाडौं बोलाएर आन्दोलनको तयारी गरेको हो । संघले गम्भीर घटना हुँदा पनि स्थानीय सुरक्षाकर्मीले समेत पीडककै संरक्षण गरेपछि जिल्लाका सरकारी र निजी अस्पतालमा कार्यरत चिकित्सकलाई डोटी छोड्न निर्देशन जारी गरेको थियो। 

संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले आइतबार आयोजित पत्रकार सम्मेलनमा सेवामा खटिएकै अवस्थामा चिकित्सकमाथि आक्रमण हुँदा सरकारले बेवास्ता गरेको आरोप लगाए । कार्यक्रममा उपस्थित सिंहले फागुन ६ गते आफू अस्पतालमै सेवारत रहँदा सुरुमा पेट दुःखेको भन्दै इमर्जेन्सी कक्षमा आएका बिरामीको तत्काल दुखाइ कम गरेपछि भिडियो एक्सरे गर्ने क्रममा सुरुमै बिरामीले अस्वाभाविक शंका गरेको र पटकपटक सम्झाउँदा पनि शंका जारी राखेपछि आफूले अन्यत्र जान सुझाव दिएर पैसा फिर्ता गरिदिएको बताए । ‘पहिला अन्यत्रै जान्छु भनेर पैसा फिर्ता लिएर गए, पछि जत्था नै बाँधेर आएर आक्रमण गरे,’ डा. सिंहले भने।

सिंहमाथि आक्रमण गर्नेलाई राजनीतिक दलको आडमा स्थानीय प्रशासनले समेत संरक्षण दिइरहेको र चिकित्सकमाथि असुरक्षा बढेपछि आफूहरुले डोटी छोड्न आग्रह गरेको संघका महासचिव डा. लोचन कार्कीले बताए । ‘कानुनसम्मत तरिकाबाट हामीले सुरक्षित र भयरहित हुने वातावरण खोजेका छौं,’ डा.कार्कीले भने, ‘तर सरकार अति असंवेदनशील भइरहेको छ, यस्तो अवस्थामा हामी कसरी सेवा दिइरहन सक्छौ ?’ 

डा. कार्कीले स्वास्थ्यसेवा प्रवाहका लागि खटिएको अवस्थामा चिकित्सकमाथि हातपात र स्वास्थ्यसंस्था तोडफोडमा संलग्नलाई बिनाधरौटी जेल चलान गर्नुपर्ने संघको प्रमुख माग भएको बताए । संघका अनुसार डोटीमा कार्यरत तीन डाक्टर राजधानी आएर बसेका छन् भने अरु धनगढीमा बसिरहेका छन् । ‘सुरक्षित तबरले सेवा दिनसक्ने अवस्था नबनेसम्म हामी कोही पनि फिर्ता जानसक्ने अवस्था छैन,’ डोटीबाट राजधानी आएका डा. विवश पराजुलीले भने । 

संघले चिकित्सक कार्यरत रहँदैको अवस्थामा सांघातिक हमला गरी गम्भीर घाइते बनाइँदा पनि उल्टै चिकित्सकलाई बदनाम गर्ने र अरुलाई पनि भौतिक कारबाही गर्छौं भन्दै मानसिक तनाब दिइरहेको भन्दै ९ गते डोटीका डाक्टरलाई राजधानी आउन अराएको थियो । संघले यस्ता घटनापछि सरकार तथा सुरक्षा निकायका उच्चपदस्थ अधिकारीहरुलाई समेत भेटेर जानकारी गराए पनि संवेदनहीन पाएको आरोप लगाएको छ । ‘हामीले भेट्दा दोषीउपर कानुनी कारबाही गर्छौं भनेर आवश्वासन दिने तर कारबाही नगर्ने’, संघको विज्ञप्तिमा उल्लेख छ, ‘राज्य हामीसँगको प्रत्यक्ष भेटमा मात्र संवेदनशील हुने अनि अलग भएपछि ती प्रतिबद्धता र आश्वासनका वाणी बिर्संदै जाने हो भने हामीले कहिलेसम्म धैर्य गर्ने?’

प्रकाशित: १४ फाल्गुन २०७४ ०३:५१ सोमबार

कारबाही नगरे आन्दोलनको चेतावनी