समाज

मुगुमा कर्मचारीबाटै किशोरी बलात्कृत

मुगुमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन्। उनी प्रहरी, सरकारी कर्मचारी र केही स्थानीयबाट बलात्कृत हुँदै आएकोमा किशोरीको गर्भमा बच्चा बसेपछि बल्ल घटना बाहिरिएको हो।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी वीरेन्द्र थापाले पीडित किशोरीले आफूमाथि बलात्कार भएको जाहेरी दर्ता गराएपछि चारजना पक्राउ गरिएको जानकारी दिए।

गत भदौमा भएको बलात्कारको घटनामा नगर प्रहरी, सरकारी कार्यालयका कर्मचारी र केही स्थानीय व्यक्तिमाथि आरोप छ। प्रहरीका अनुसार प्रकाउ पर्नेमा तीन जना किशोर छन्। प्रहरीले किशोरको परिचय गोप्य राखेको छ।

यस्तै, पक्राउ पर्ने दुई युवकमा छायाँनाथ रारा नगरपालिका–५ बस्ने ३० वर्षीय वसन्तबहादुर कार्की र सोरु गाउँपालिका–८ का २२ वर्षीय वसन्त रोकाया रहेको प्रहरीले जनाएको छ। कार्की नगरपालिकाका नगर प्रहरी र रोकाया कृषि विकास कार्यालय, गमगढीका कार्यालय सहयोगी हुन्।

सुरुमा १४ वर्षकै किशोरहरूले गत १६ भदौमा आफूमाथि बलात्कार गरेको पीडितले बताएकी छन्। १० असोजमा नगर प्रहरी कार्कीसहित रोकाया र पदमबहादुर कठायतले बलात्कार गरेको पीडित बालिकाले बयान दिएको प्रहरी प्रमुख थापाले जानकारी दिए। बलात्कारपछि पेट दुख्नेलगायत समस्या देखापरेपछि जिल्ला अस्पताल मुगुमा पीढित युवती जाँच गराउन पुगेकी थिइन्।  

प्रकाशित: ३ माघ २०८० ०२:५५ बुधबार

१४ वर्षीया किशोरी बलात्कृत जिल्ला प्रहरी कार्यालय मुगु प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी वीरेन्द्र थापा