समाज

भूकम्पमा भागेका कैदीलाई थप कैद सजाय

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्ला अदालतले भूकम्पको समयमा भागेर फरार रहेका ९८ कैदीबन्दीलाई थप कैद सजायको फैसला सुनाएको छ। 

जिल्ला न्यायाधीश दीपक खनालको इजलासले भूकम्पका बेला भागेर अझै सम्पर्कमा नआउने (फरार) कैदीबन्दीलाई भागे÷भगाएको कसुरमा डेढी सजाय हुने फैसला सुनाएको हो। 

२०७२ वैशाख १२ को भूकम्पमा जिल्ला कारागारबाट २ सय १६ कैदीबन्दी भागेका थिए । भूकम्पबाट कारागार भवन क्षतिग्रस्त बनेको थियो । भूकम्प कम्पनसँगै भवन भत्कन थालेपछि खोजेका बेला सम्पर्कमा आउन भन्दै कारागार प्रशासनले नै उनीहरुलाई छोडेको थियो। 

अदालतका स्रेस्तेदार लेखनाथ पौडेलका अनुसार कारागार ऐन २०१९ को दफा २४ बमोजिम फरार कैदीबन्दीलाई भागे/भगाएको कसुरमा डेढी सजाय थपिएको हो । अदालतको फैसलाअनुसार  अदालतबाट चार वर्ष कैद सजाय पाएका कसुरदारले तीन वर्ष भुक्तान गरी भागेकोमा बाँकी एक वर्ष कैदमा डेढी बढाई अर्थात् थप ६ महिना कैद भोग्नुपर्नेछ । त्यस्तो कैदीले बाँकी एक वर्ष र भागे/भगाएको कसुरमा थपिएको ६ महिनासहित डेढ वर्ष कैद बस्नुपर्ने हुन्छ । अदालतका अनुसार डेढी सजाय भनेको भुक्तान गर्न बाँकी कैदको आधा कैद थप जस्तै हो । अदालतले विभिन्न माध्यममार्फत कारागारको सम्पर्कमा आउने १ सय १८ कैदीबन्दीलाई भने डेढी सजाय हुनेछैन । स्रेस्तेदार पौडेलले उनीहरुले अदालतबाट सुरु मुद्दामा तोकिएको कैद सजाय भुक्तान गरे पुग्नेछ। 

भूकम्पपछि समय सामान्य बन्दै जाँदा जिल्ला कारागारले कैदीबन्दीलाई सम्पर्कमा आउन सार्वजनिक सूचनामार्फत अपिल गरेको थियो । २०७२ जेठको सूचनापछि ४६ कैदीबन्दी सम्पर्कमा आएका थिए । उनीहरु नजिकको प्रहरी, कारागार र अदालतमार्फत सम्पर्कमा आएका थिए। 

अझै ठूलो संख्याका कैदीबन्दी सम्पर्कमा नआएपछि जिल्ला कारागारले उनीहरुलाई कारागार ऐन अनुसार डेढी सजाय माग गर्दै सोही वर्षको साउनमा अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा फैसला हुने बेलासम्म  १ सय १८ कैदीबन्दी कारागारको सम्पर्कमा आए ।  तीमध्ये धेरैलाई प्रहरीले विभिन्न स्थानबाट फरार अवस्थामै पक्राउ गरी ल्याएको थियो । अदालतले तोकेको जरिवाना तिर्न नसकेर सोबापत कैद बसिरहेका कैदी भने डेढी सजायबाट जोगिएका छन् । ऐनमा कैद तोकिएका कैदीलाईबाहेक अरुलाई त्यस्तो सजायको व्यवस्था छैन। 

फरार ९८ कैदीबन्दीमध्ये अधिकांश जघन्य अपराधका छन् । फरारमध्ये दुई पाकिस्तानीसहित ११ चिनियाँ नागरिक छन् । उनीहरु सुन चोरी पैठारी, खोटाचलन मुद्दाका आरोपी हुन् । मानव बेचविखन मुद्दामा कैद सजाय पाएका ६ जना फरार कैदीको सूचीमा रहेको जिल्ला कारागारका प्रवक्ता टीका दाहालले बताए। 

प्रकाशित: १३ फाल्गुन २०७४ ०४:०३ आइतबार

भूकम्पमा भागेका कैदीलाई कैद सजाय