समाज

इमल्सन प्लाण्टमा कच्चा पदार्थ अभाव

काठमाडाैँ – नेपाली सेनाले उत्पादन गर्दै आएको बिस्फोटक पदार्थका लागि आवश्यक कच्चा पदार्थ अभावको समस्या लामो समयसम्म पनि समाधान हुन सकेको छैन। 

विकास निर्माणमा प्रयोग हुने बिस्फोटक पदार्थ उत्पादन गर्न सेनाको कल्याणकारी कोषमार्फत सञ्चालन भइरहेको इमल्सन प्लान्टले विगत डेढ÷दुई वर्षदेखि कच्चा पदार्थ अभाव व्योहोर्दै आएको छ । सेनाले कच्चा पदार्थ ल्याउने प्रक्रियाका कारण ढिला भएको जनाए पनि रोकिनुको मुख्य कारण खुलाएको छैन। 

सेनाका लागि आवश्यक पर्ने कच्चा पदार्थ भारत तथा चीनलगायत मुलुकबाट आयात हुँदै आएको छ। ‘हामीले जहाँबाट बढी सस्तो पर्छ त्यहीँबाट कच्चा पदार्थ आयात गछौँ, भण्डारीले भने । उनले अभाव हटाउन सेनाले पहल गरिरहेको र छिट्टै आयात सुचारु हुने बताए।   

मकवानपुरको सुनाचरीमा इमल्सन प्लान्ट स्थापना गरी सेनाले बिस्फोटक पदार्थ उत्पादन गर्दै आएको छ । सेनाले आफूले गरिरहेका सडक विस्तार, जलविद्युत् आयोजनालगायतका आयोजनामा आवश्यक पर्ने  विस्फोटक पदार्थ आफैँले उत्पादन गरिरहेको छ । सेनाले आफूलाई आवश्यक पर्नेबाहेक अन्य साना किसिमका विकास निर्माणसम्बन्धी आयोजनालाई समेत आफैँले बिस्फोटक पदार्थ दिँदै आएको छ। 

कच्चा पदार्थको अभावमा उत्पादनमा समस्या भएपछि भने साना आयोजनाले समेत विदेशबाटै ल्याउनुपर्ने अवस्था आएको छ । नेपालमा सञ्चालनमा रहेका ठूला आयोजना तथा अन्य सुरक्षा निकायले  भने सेनाको अनुमतिमा विदेशबाटै बिस्फोटक पदार्थ आयात गर्दै आएका छन् ।  ‘साना आयोजनाहरुलाई हामीले नै दिँदै आएका छाैँ, ठूला आयोजनाले हाम्रो अनुमतिमा बाहिरबाटै ल्याउँछन्,’ प्रवक्ता भण्डारीले भने । ठूला आयोजनालाई सेनाले उत्पादन गरेको विष्फोटक पदार्थले माघ धान्न नसक्ने भएकाले बाहिरबाट आयातका लागि अनुमति दिनुपरेको सेनाले जनाएको छ। 

सेनाले नेपालको माघ धान्ने गरी नयाँ इमल्सन प्लाण्ट सञ्चालनमा ल्याउने तयारी गरेको छ। हाल सुनाचरीबाट  सिंगल बेसमा सञ्चालन भइरहेको इमल्सन प्लाण्टको एक हजार दुई सय टन बिस्फोटक पदार्थ उत्पादन गर्ने क्षमता रहेको छ।  नयाँ प्लान्ट डबल बेसको हुने भएकाले यसबाट उत्पादन बढने र यसले मुलुकको मागलाई धान्ने सेनाको दाबी छ । ‘हामीले सञ्चालनमा ल्याउन लागेको नयाँ इमल्सन प्लान्टले नेपालको माघलाई पूरा गर्नेगरी उत्पादन गर्छ,’ प्रवक्ता भण्डारीले नागरिकसँग भने। 

सेनाले नयाँ प्लान्ट  स्थापनाका लागि पनि तयारी गरेको छ । नयाँ इमल्सन प्लान्ट स्थापनाका लागि सरकारले समेत सेनालाई डेढ अर्ब रुपैयाँ भुक्तानी गरिसकेको छ । नयाँ प्लान्टबाट वार्षिक ३ हजार ६ सय टन बिस्फोटक पदार्थ उत्पादन हुने सेनाको भनाइ छ । ‘हामीले नयाँ प्लान्ट स्थापना गरेर दुई सिफ्ट प्लाण्ट चलाउँदा ३ हजार २ सय टन इमल्सन उत्पादन हुन्छ,’ सैन्य प्रवक्ता भण्डारीले भने।

हाल नेपालमा वार्षिक ३ हजार देखि बढीमा ५ हजार टन इमल्सन आवश्यक पर्ने सेनाको भनाइ छ । सेनाले इमल्सन उत्पादन नेपालमै गरेपनि कच्चा पदार्थको आयात भने बाहिरबाटै गर्ने गरेको छ । सेनाले उत्पादन गरेको इमल्सन र बाहिरबाट आयात हुने इमल्सनको लागतमा भने खासै फरक नरहेको सेनाले जनाएको छ। 

प्रकाशित: १३ फाल्गुन २०७४ ०३:५६ आइतबार

इमल्सन प्लाण्टमा कच्चा पदार्थ अभाव