समाज

भूकम्पमा भागेका ९८ कैदीलाई थप सजाय

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्ला अदालतले भूकम्पको समयमा भागेर फरार रहेका कैदीलाई थप कैद सजायको फैसला सुनाएको छ। जिल्ला न्यायाधीश दीपक खनालको इजलासले भूकम्पको समयमा भागेर अझै सम्पर्कमा नआएका ९८ जना कैदीलाई उक्त फैसला सुनाएको हो। 

२०७२ वैशाख १२ को भूकम्पमा जिल्ला कारागारबाट २ सय १६ कैदी, बन्दी भागेका थिए। भूकम्पका बेला कारागार भवन क्षतिग्रस्त बनेको थियो। भूकम्पले भवन भत्कन थालेपछि खोजेका बेला सम्पर्कमा आउन भन्दै कारागार प्रशासनले उनीहरुलाई छोडेको थियो। 

अदालतका स्रेस्तेदार लेखनाथ पौडेलका अनुसार कारागार ऐन २०१९ को दफा २४ बमोजिम फरार कैदीलाई भागे/भगाएको कसूरमा डेढी सजाय थपिएको हो। अदालतको फैसला अनुसार कुनै कसूरमा अदालतबाट चार वर्ष कैद सजाय पाएको कसूरदारले तीन वर्ष भूक्तान गरी भागेकोमा बाँकी एक वर्ष कैदमा डेढी बढाई अर्थात ६ महिना थप कैद भोग्नु पर्ने छ। 

त्यस्तो कैदीले बाँकी एक वर्ष र भागे÷भगाएको कसूरमा थपिएको ६ महिनासहित डेढ वर्ष कैदमा बस्नु पर्ने हुन्छ। अदालतले विभिन्न माध्यममार्फत कारागारको सम्पर्कमा आउने १ सय १८ कैदी, बन्दीलाई भने डेढी बढाइ सजायमा सफाय दिएको छ। 

भूकम्पपछिको समय सामान्य बन्दै जाँदा जिल्ला कारागारले कैदी, बन्दीलाई सम्पर्कमा आउन सार्वजनिक सूचनामार्फत अपिल गरेको थियो। २०७२ जेठमा गरिएको सूचनापछि ४६ कैदी, बन्दी सम्पर्कमा आएका थिए। उनीहरु नजिकको प्रहरी, कारागार र अदालतमार्फत सम्पर्कमा आएका थिए। 

अझै ठूलो संख्यामा कैदी, बन्दी सम्पर्कमा नआएपछि जिल्ला कारागारले उनीहरुलाई कारागार ऐन अनुसार डेढी सजय माग गर्दै सोही वर्षको साउनमा अदालतमा मुद्दा दायर गरेको थियो। मुद्दा फैसला हुने बेलासम्म  १ सय १८ कैदी, बन्दी कारागारको सम्पर्कमा आए।  

तीमध्ये धेरैलाई प्रहरीले विभिन्न स्थानबाट फरार अवस्थामै पक्राउ गरी ल्याएको थियो। अदालतले तोकेको जरिवाना तिर्न नसकेर सो बापत कैद भोगिरहेका कैदी भने डेढी सजायबाट जोगिएका छन्। ऐनमा कैद तोकिएका कैदीलाई बाहेक अरुलाई त्यस्तो सजायको व्यवस्था छैन। 

फरार ९८ कैदी, बन्दीमध्ये अधिकांश जघन्य अपराधका छन्। फरारमध्ये दुई पाकिस्तानीसहित ११ चिनियाँ नागरिक छन्। उनीहरु सुन चोरी पैठारी, खोटाचलन मुद्दाका आरोपी हुन्। मानव बेचविखन मुद्दामा कैद सजाय पाएका ६ जना कैदी पनि परार रहेका कारागारका प्रवक्ता टीका दाहालले बताए।

प्रकाशित: ११ फाल्गुन २०७४ १२:४५ शुक्रबार

भूकम्पमा भागेका ९८ कैदीलाई सजाय