समाज

छ महिनामा पाथीभरा मन्दिरमा ९१ हजार दर्शनार्थी

चालु आर्थिक वर्षको ६ महिने अवधिमा ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिरमा ९१ हजार दर्शनार्थी आएका छन्। पाथीभरा क्षेत्र विकास समितिले गत साउनदेखि पुस मसान्त सम्ममा ९१ हजार ७ सय दर्शनार्थीले पाथीभरा मन्दिरको दर्शन गरेको विवरण सार्वजनिक गरेको छ।

क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार सबैभन्दा बढी दर्शनार्थी कात्तिक महिनामा आएका छन्। सो महिनामा ४९ हजार एक सय ६३ जनाले पाथीभरा मन्दिरको दर्शन गरेको समितिले जनाएको छ।

कात्तिकपछि मंसिर महिनामा २० हजार एक सय ४६ जना, असोजमा १० हजार तीन सय ४३, पुसमा पाँच हजार ६ सय ५५, भदौमा पाँच हजार र साउनमा एक हजार एक सय २२ जनाले पाथीभरा मन्दिरको दर्शन गरेको क्षेत्र विकास समितिले जनाएको छ।

समितिले मन्दिरबाट संकलन भएको भेटी हरेक महिना सार्वजनिक गर्नसमेत सुरु गरेको छ। कार्यकारी निर्देशक हाङवाङका अनुसार पुस महिनामा मात्र मन्दिरबाट ३५ लाख २९ हजार रूपैयाँ संकलन भएको छ।

क्षेत्र विकास समितिको खातामा मंसिर मसान्त सम्ममा आठ करोड ३५ लाख २३ हजार पाँच सय ४८ रूपैयाँ मौज्दात रहेकोमा पुस महिनामा थप भएको रकम सहित खातामा आठ करोड ७० लाख ५२ हजार रूपैयाँ मौज्दात रहेको समेत क्षेत्र विकास समितिले जनाएको छ।

शुद्धीकरणपछि १७८ तोला सुन

पाथीभरा मन्दिरमा संकलन भएको सुन शुद्धीकरणपछि एकसय ७८ तोला बढी कायम भएको छ। पाथीभरामा संकलित सुन शुद्धीकरण (रिफाइन) पछि उक्त परिमाणमा शुद्ध अर्थात एक नम्बरी सुन कायम भएको हो।

पाथीभरा दर्शनमा आएका भक्तजनले चढाएको सुन तथा सुनजन्य गरगहाना पाथीभरा क्षेत्र विकास समितिले संकलन गर्ने गरेको छ। संकलित सुनका गरगहानामध्ये पछिल्लो पटक शद्धीकरण गरिएको ९१ तोला ८९ लाल र पहिले शुद्धीकरण गरिएको ८६ तोला ९३ लालसमेत कुल एक सय ७८ तोला ८२ लाल शुद्ध सुन कायम भएको क्षेत्र विकास समितिले जनाएको छ।

पछिल्लो पटक संकलन भएको ९८ तोला ४१ लाल सुनका गरगहाना शुद्धीकरण गरिएको थियो। उक्त परिमाणको सुन शद्धीकरणपछि ९१ तोला ८९ लाल कायम भएको कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिए।

यस्तै पाथीभरामा संकलन भएको ९२ किलोग्राम ६ सय ५० ग्राम चाँदी पनि शुद्धीकरण (रिफाइन) गरिएको छ ।

प्रकाशित: १ माघ २०८० ०३:४५ सोमबार

पाथीभरा क्षेत्र विकास समिति