समाज

जहाँ प्रहरी त्यहीँ तस्करी

तस्करीले बदनाम मधेस प्रदेश

माडर नाकाक्षेत्रबाट प्रवेश गरेको तस्करीको प्याज लोड गरिएको भारतीय नम्बरको मोटरसाइकल माडर प्रहरी चौकी, विभिन्न चेक पोइन्ट पार गरी विष्णुपुर प्रहरी कार्यालय विनारोकटोक पार गरिँदै। तस्बिर: मिथिलेश/नागरिक

गत साता मधुबनी जिल्लाको सीमावर्ती जयनगर प्रहरीले नौ थान मोटरसाइकलमा लोड गरिएको ठूलो परिमाणमा नेपाली देशी–विदेशी मदिरा बरामद गर्‍यो। मदिराको कार्टुन बोरामा भरेर मोटरसाइकलमा लोड गरी नेपाली सीमानाकाबाट भारततर्फ तस्करी भइरहेको जयनगर प्रहरीको भनाइ छ।

मदिरा तस्करीमा पक्राउ परेकाहरूले नेपालबाट मदिरा भारत तस्करी गर्ने गरेको स्वीकार गरेको जयनगर प्रहरीको भनाइ छ। नेपालबाट मदिरा भारत तस्करी गर्नेहरू यसरी पक्राउ परेको घटना नौलो होइन। प्रहरीकाअनुसार मदिरासहित धेरैजना पक्राउ परेका छन्। धेरै अझै थुनामा सजाय भोग्दै छन्। तर, नेपालबाट मदिरा भारत तस्करी रोकिएको छैन बरु बढ्दै गएको छ। भारतको विहार सरकारले मदिरा निषेध गरेपछि तस्करले नेपालबाट मदिरा सीमावर्ती भारतीय गाउँ सहरमा पुर्‍याउँदै आएका छन्।

सप्तरी, सिरहा, धनुषाका नाकाबाट तस्करी हुने मदिरा जयनगर क्षेत्र हुँदै भारत पुग्ने गरेको प्रहरी स्रोत बताउँछ। मदिरा मात्र नभई मटर, मरिच, छोकरा, सुपारी, गाँजा, सुन भारत तस्करीका लागि पछिल्लो समय सिरहा र सप्तरी सीमानाकाले चर्चा पाएको छ।

यी नाका भएर पारिबाट दैनिक उपभोग्य सामग्री चिनी, प्याज, आलु, दाल, चामल, धान, लताकपडा, तेलसहित लागुऔषध, मोटरपार्टस्, कस्मेटिक्सका सामान तस्करी भएर वारिका सहर पुग्ने गरेको छ।

पछिल्लो समय लाइटर (ग्यास चुलो बाल्ने), तुथपेस्ट, कपालमा लगाउने तेलको भारत तस्करी यस भेगका लागि नौलो घटना बनेको छ। भारतको जयनगर प्रहरीले गत साता नेपाल–भारत सीमास्तम्भ २७०/१५ बाट तीन किलोमिटर दक्षिणबाट ठूलो परिमाणमा लाइटर, टुथपेस्ट र तेल बोकेका तीनवटा सवारी साधन नियन्त्रणमा लिएपछि नेपालबाट यी सामान भारत तस्करी भइरहेको खुलेको हो।

जयनगर प्रहरीकाअनुसार इपिक विन्डप्रुफ लाइटर ५६ हजार पिस, बरनिस लाइटर ७१ हजार पिस, क्लोजअप टुथपेस्ट ४७ सय ५२ पिस, इन्दुलेखा केस तेल १५ हजार तीन सय ३६ पिस बदारमद गरिएको छ। उल्लेखि तस्करीका सामान सिरहा र धनुषा नाकाबाट पारि पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सप्तरीको बेल्ही नाकाको चिया पसलमा भेटिएका हरिनारायण मण्डलले भने, ‘सरकारी संयन्त्र मिलेपछि जे पनि वारपार गर्न सम्भव छ। यसमा प्रहरी प्रशासन र भन्सार मिलेपछि कसले रोक्न सक्छ?’ सिरहाको सीमावर्ती गाउँका मूल निवासी उनको सप्तरीको सीमावर्ती बेल्हीमा कुटुम्ब छ। ‘हाम्रा लागि ‘तस्करी’ नौलो, अनौठो र आश्चर्यको शब्द होइन,’ उनले भने, ‘गत असोजमा तस्करी मुद्दामा सिरहाबाट सशस्त्रका एसपी र डिएसपी मुख्यालय तानिएको खबर पढेँ। यस जिल्लाका लागि यो पहिलो घटना थियो। अब त तस्करीको लाइन चलाउने आट कसैले नगर्लान् भनेको त पहिलाभन्दा कयौं गुण बढी र खुला रूपमा तस्करी भइरहेको छ।’

सीमावर्ती झाझपट्टीका स्थानीयको भनाइ पनि मण्डलको भन्दा फरक छैन। कारण हो, प्रहरी र भन्सारको उपस्थिति रहेको सीमानाकाबाट तस्करले भन्सार छली निर्धक्क मालसामान वारपार गर्नु।

मधेस प्रदेशमा सुरक्षाकर्मीको उपस्थिति रहेकै सीमानाकाबाट तस्करको राज चलेको छ। सिरहाको ठाढी, नगरी, कुसन्डी, झाझपट्टी, मड्र, बुधौरा, लगडीगोठ, चतरी, कल्याणपुर, बरियारपट्टी, औरही, पटेर्वा नाका अहिले तस्करलाई जिम्मा लगाइदिए जतिकै अनुभूति गर्छन्, स्थानीयबासी। यी नाकाबाट चिनी, प्याज, कपडा, मोटरपार्टस्, लताकपडा, किसान सामान, पान मसाला, सुर्तीजन्य पदार्थ(रजनीगन्धा, गुटखा) भन्सार राजस्व छली गरी भित्रिन्छ। वारिबाट मदिरा, चिनियाँ स्याउ, मटर, लाइटर, गाँजा पारि पुर्‍याइन्छ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सारसँगको त्रिपक्षीय सेटिङमा (लाइन मिलाएर) यहाँ तस्कर राज चलेको सीमावर्ती क्षेत्रका स्थानीय बताउँछन्।

झाझट्टीको सिमा प्रवेशद्वारनजिक आगो ताप्दै गरेका एक सर्वधारणले भने,‘ यस नाकाबाट रातभर पारिबाट सामान ल्याएर मोटरसाइकल र टेम्पोमार्फत सहरतर्फ ढुवानी हुन्छ। सुरक्षाकर्मीबाट ‘लाइन क्लियर’ रहेको संकेत पाएपछि अन्धाधुन्द सामान ढुवानी सुरु हुन्छ। सीमादेखि सहरसम्म लाइन क्लियर गर्न मोटरसाइकलमा तस्कर र प्रहरीका प्रतिनिधि(घुमुवा) खटिएका हुन्छन्। सडक छेउमै घर हुने उनले भने, ‘हामीसँग आँखा, कान र मुख थुनेर बस्नुको विकल्प छैन।’

उनले भने, ‘प्रहरीका ‘घुमुवा’ले नै तस्करका बाटो पहिल्याइदिने गरेको पाइन्छ। सीमाक्षेत्रमा तस्कर र प्रहरीसँगै बसेर खानपिन गर्छन्। तस्करसँग हिमचिम र जनतासँग रुखो प्रहरीको व्यवहारले सीमाक्षेत्रका बासिन्दा आजित छन्। रातभर मोटरसाइकल, पिकअप जिप र टेम्पोमा सामान वारपार भैरहेको जनताको आँखाले देख्ने तर प्रहरीले नदेख्ने कस्तो खेला हो!’

‘भित्र बोरा र पोकामा के भरिएको हुन्छ त्यो त हामीलाई थाहा हुने कुरा भएन,’ उनले भने, ‘तस्करका बोरा र पोका प्रहरीले हेर्दा पनि हेर्दैनन्।’ यस नाकाबाट भित्रिने मालसामान सिधैं लहान स्थित तस्करको गोदाममा पुग्छ।

माडर, पटेर्वा, कल्याणपुर र चतरी सीमानाका भएर भित्रिने मालसामान मिर्चैया, सिरहा र गोलबजार स्थित तस्करको गोदाममा पुग्छ। बरियारपट्टी नाका भएर भित्रिने मालसामान गोलबजार स्थित तस्करको गोदाममा पुग्छ। भारतबाट भन्सार राजश्व छली गरी ल्याइएका सामान भण्डारण गरिने लहान, सिरहा, मिर्चैया र गोलबजारका गोदामबारे स्थानीयबासी जानकार छन्। तर, प्रहरी बेखबरजस्तै चुपचाप छन्।

तस्करलाई लाइनमा ल्याउन भन्सारका कर्मचारी र राजमार्गतिरका प्रहरीले कहिलेकाहीँ केही सामान समात्ने गरेको पाइन्छ। लाइन मिलेपछि सबै नदेखेझैं गरेर चुप बस्ने गरेको सीमाक्षेत्रका बासिन्दा बताउँछन्।

जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, प्रहरी चौकीका सादा पोसाकका प्रहरी(घुमुवा) सीमाक्षेत्र र सहरमा अखाडा बनाएर तस्करको लाइन मिलाउँछन्। सीमाबाट सहरका गोदामसम्म तस्करलाई सघाउने काम यिनै घुमुवाहरूले गर्छन्।

भारतीय सहरबाट तस्करीको सामान बोकेको भारतीय नम्बरको मोटरसाइकल वारिका दर्जनौं सुरक्षा पोष्ट पार गर्दै तस्करको गोदामसम्म पुग्छ। सीमादेखि सहरसम्मका जनताले देख्छन् तर नियन्त्रणकारी निकायले(सुरक्षा र भन्सार) चाल पाउँदैन। यसले पनि मिलेमतोमा तस्करीलाई प्रष्ट्याउँछ।

सिरहाका प्रही प्रमुख(एसपी) टेकुनन्द लिम्बुका अनुसार यस जिल्लाको विभिन्न ठाउँबाट विभिन्न समयमा तस्करीका सामान पक्राउ गरिएको छ।  

तस्करी नियन्त्रणका लागि सीमामा खटिने सशस्त्र प्रहरी गण सिरहाका निमित प्रमुख(डिएसपी) शियाराम चौधरीका अनुसार तस्करीका घटनाबारे सूचना छ। मातहतबाट विभिन्न समय र स्थानबाट सामान बरामद गरिएको उनले बताए।

तस्करीको साइड इफेक्ट

सिरहामा तस्करको जालो कतिको मजबुत छ भने तथ्य भन्सार असुलीको तथ्यांकबाट समेत प्रष्ट हुन्छ। राज्यकोषलाई धारासायी बनाउँदै व्यक्तिलाई आर्थिक हिसावले बलियो बनाउने तस्करी धन्दा फस्टाउँदा सिरहामा भन्सार असुली निकै कमजोर बनेको छ।

‘ठाढी भन्सार कार्यालयका निमित प्रमुख रामेश्वर प्रसाद चौधरीका अनुसार यस नाकामा अस्थायी पैठारी मात्र हुन्छ। हाम्रो भन्सारमा व्यावसायिक सामानको भन्सार कटाउन आउँदैन,’ चौधरीले भने, ‘प्याज, आलु लगायतका यती धेरै सामान कहाँबाट सहरसम्म पुग्छ थाहा भएन। हामी गस्तीमा जान्छौ तर खाली हात फर्किन्छौं।’

यो भन्सारले चालु आर्थिक वर्षमा लक्ष्यको १८ प्रतिशत पनि राजस्व असुल गर्न सकेको छैन। नौ करोड नौ लाख ९३ हजार रूपैयाँ असुली लक्ष्य रहेकोमा मंसिर मसान्तसम्म एक करोड ६० लाख ६० हजार रूपैयाँ मात्र असुली भएको निमित प्रमुख चौधरीले बताए। यो तथ्यांकले राजस्व चुहाबटलाई पुष्टि गर्छ।

राजश्व छलेर समान भित्र्याउने क्रम ठाढी नाकाक्षेत्रमा मात्र सीमित छैन। तस्करी उकालो लाग्दा ओरालो झरेको ठाढी भन्सारको राजस्व भन्दा माडर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पुस २६ गतेसम्म लक्ष्यको २३ प्रतिशत मात्र राजस्व उठाउन सकेको छ।

माडर भन्सार कार्यालयका अनुसार ११ करोड ९९ लाख ५६ हजार रूपैयाँ असुली लक्ष्य रहेकोमा दुई करोड ७३ लाख ९४ हजार रूपैयाँ मात्र असुली हुन सकेको छ। माडर भन्सारअन्तर्गत रहेको बरियारपट्टी छोटी भन्सार नाका त बेहिसाब तस्करीका लागि नामी छ।

प्रकाशित: १ माघ २०८० ०२:३० सोमबार

जहाँ प्रहरी त्यहीँ तस्करी तस्करीले बदनाम मधेस प्रदेश