समाज

कामनपाले करको दायरामा नआएका युवा उद्यमीलाई ४० प्रतिशत छुट दिने

काठमाडौं महानगरपालिकाले ५ लाखसम्मको लगानी भएका तर करको दायरामा नआएका युवा उद्यमीलाई २०८१ असार मसान्तसम्म कर तिरे ४० प्रतिशत छुट दिने प्रस्ताव भएको छ।

काठमाडौं महानगरपालिका नगर सभाको १४ औं अधिवेशनमा महानगरपालिकाको चालु आर्थिक वर्ष २०८०/०८१ को कार्यक्रम बजेटमा प्रश्तावित संशोधनमा सो प्रस्ताव ल्याएको हो। करको दायरामा नआएका ३५ वर्ष भन्दा कम उमेरका युवा उद्यमीहरुको उद्योगले २०८१ असार मसान्तसम्म कर तिरे ४० प्रतिशत छुट दिने महानगरकी उपप्रमुख सुनिता डंगोलले बताइन्।

उनले नियमित कर दाखिला गर्ने कर दाताका हकमा कर रकमको २५ प्रतिशत छुट दिने आर्थिक विधेयकमार्फत प्रस्ताव गरेको बताइन्। त्यस्तै महानगरले चालु आर्थिक वर्षको कार्यक्रम बजेटमा कार्यालय सञ्चालन र प्रशासनिक खर्च आर्थिक विकास र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रबाट ९ करोड २१ लाख घटाउने प्रस्ताव गरेको छ। सोही बराबरको रकम पूर्वाधार विकास र सामाजिक विकास क्षेत्रमा थप गर्ने प्रस्ताव ल्याएको बताइन्। राजश्व प्रशासनलाई थप चुस्त र प्रभावकारी बनाउन जरुरी देखिएको उपप्रमुख डंगोलले बताइन्।

उनले भनिन्, ‘चालु आर्थिक वर्षको कार्यक्रम बजेटमा संशोधन प्रस्ताव तयार गर्दा स्वीकृत कुल बजेट रकममा कुनै थप घट, नगरी केही क्रियाकलापमा मात्रै संशोधनको प्रश्ताव पेस गरेको छु। संशोधित प्रस्तावमा कार्यालय सञ्चालन र प्रशासनिक खर्च आर्थिक विकास र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रबाट ९ करोड २१ लाख घटेको छ भने पूर्वाधार विकास र सामाजिक विकास क्षेत्रमा सोही बराबरको बजेट थप हुन गएको छ। चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम तथा बजेटमा प्रस्ताव गरिएको संशोधनको विस्तृत विवरण सभाका सदस्यहरुलाई उपलब्ध गराइएको छ। राजश्व प्रशासनलाई थप चुस्त र प्रभावकारी बनाउन जरुरी देखिएको छ। हालको वित्तीय बजार र आर्थिक अवस्थालाई मध्यनजर गरी करको दायरामा नआएका जुनसुकै उमेरका महिला, जनजाति, दलित, अपांगता भएका र ३५ वर्ष भन्दा कम उमेरका युवाको नाममा दर्ता भइ सञ्चालनमा रहेका ५ लाखसम्म पुँजीगत लगानी भएका उद्योग, व्यवसाय, कम्पनी, संस्थाहरुले २०८१ असार मसान्तसम्म कर दाखिला गरे जम्मा कर रकमको ४० प्रतिशत र नियमित कर दाखिला गर्ने कर दाताका हकमा कर रकमको २५ प्रतिशत छुट दिने आर्थिक विधेयकमार्फत प्रश्ताव गरेको छ।’

महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयनको क्रममा रहेको र सञ्चित कोषबाट हुने आय तथा व्ययमध्ये कुल विनियोजित रकम २४ अर्ब ४ करोड ५४ लाख १ हजारमा चालु आर्थिक वर्षको पुुस २६ गतेसम्म ४ अर्ब २७ करोड ४१ लाख ५० हजार रुपैयाँ खर्च भएको बताएको छ। उपप्रमुख डंगोलले हालसम्म पूर्वाधार विकासमा ११.६४ प्रतिशत, आर्थिक विकासमा १३.३४ प्रतिशत, सामाजिक विकासमा १८.७९ प्रतिशत खर्च भएको बताइन्। उनले सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १०.८४ प्रतिशत खर्च भएको र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा भने ३६.४७ प्रतिशत खर्च भएको बताइन्। राजश्व आम्दानीतर्फ चालु आर्थिक वर्षमा १० अर्ब ८० करोड ७८ लाख २० हजार रुपैयाँको लक्ष्य निर्धारण गरिएकोमा पुस २६ गतेसम्म कुल ४ अर्ब ७६ करोड ३३ लाख १२ हजार ६२४ रुपैयाँ राजश्व संकलन भइसकेको उनले बताइन्। उनले आन्तरिक राजश्व असुलीको लक्ष्य ६ अर्ब ३९ करोड २० लाख रुपैयाँ रहेकोमा आन्तरिक आय अन्तर्गत २ अर्ब ८७ करोड ७८ लाख ९८ हजार ८७७ रुपैयाँ राजश्व संकलन भइसकेको बताइन्।  

प्रकाशित: २९ पुस २०८० ११:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App