समाज

स्वास्थ्य शिविरमा १५ सय लाभान्वित

सन्धिखर्क- अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका–९ ढिकुरामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरबाट ढिकुरा, धनचौरसहितका एक हजार ५०० जनाभन्दा बढी बिरामी लाभान्वित भएका छन् । शिविरमा भरतपुर अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ डा रुद्र मरासिनीसहित २१ जना डाक्टरले एक हजार ५०० बिरामीको जाँच गरेका हुन्। 

भूमिका स्थान नगरपालिका र अर्घाखाँचीको ढिकुराबाट काठमाडौँ, बुटवल बस्नेहरुको आर्थिक सहयोगमा दुई दिने बृहत् शिविर सम्पन्न भएको हो। 

उपचारका लागि अर्घाखाँची जिल्लाको ढिकुरासहित धातिबाग, धारपानी, जुकेना, धन्चौर, खाचीकोट, नुवाकोट, नरपानीलगायतका एक हजार ५०० बिरामीले जाँच गराउनुभएको ढिकुरा समाज अर्घाखाँची काठमाडौंका अध्यक्ष कृष्ण पोखरेलले जानकारी दिए। 

 गाउँमा निःशुल्क शिविर सञ्चालन गर्दा धेरै बिरामीलाई आफ्नो रोग पत्ता लगाउन र सामान्य रोग निको पार्नका लागि निःशुल्क स्वास्थ्य शिविर निकै प्रभावकारी भएको सेवा लिएका बिरामी सन्तोष भुसालले बताए। 

ढिकुरा समाज अर्घाखाँची काठमाडौंको आयोजना र लायन्स क्लब अफ काठमाडौं ढिकुरा, ढिकुरा अर्घाखाँची रुपन्देही समाजको सहआयोजना तथा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवाको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो। समाजले गएको वर्ष पनि ढिकुराको शारदा माविमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको जानकारी ढिकुरा समाजका सचिव भेषराज घिमिरेले दिए । (रासस) 

प्रकाशित: ९ फाल्गुन २०७४ ११:३० बुधबार

स्वास्थ्य शिविरमा १५ लाभान्वित