समाज

क्यासिनोमा जुवा खेलर बाहिरिएका युवाबीच झडप, एकजना घाइते

मध्यरातमा विराटनगरको एक क्यासिनोमा जुवा खेलर बाहिरिएका नेपाली युवाबीच झगडा हुँदा एकजना घाइते भएका छन्।

शनिबार बिहान साढे एक बजेतिर युवाबीच झगडा भएसँगै विराटनगरका क्यासिनोमा नेपालीले खुलेआम प्रवेश पाउने गरेको बाहिर आएको छ । रत्ना होटलमा ‘सम्राट’ र बिग होटलमा ‘च्याम्पियन जोन’ नामक क्यासिनो सञ्चालनमा छन्।

नेपालीबाहेक अन्य देशका नागरिकका लागि मात्रै क्यासिनोभित्र पस्न र जुवा खेल्न पाइने कानुनी प्रावधान छ, तर कानुनविपरीत विराटनगरका दुवै क्यासिनोमा नेपाली प्रवेश हुँदासमेत प्रहरी प्रशासन मौन छ।

विराटनगर महानगरपालिका ११ स्थित बसपार्कअगाडि शनिबार बिहान डेढ बजेतिर दुई युवा समूहबीच झगडा हुँदा एकजना घाइते भएको मोरङ प्रहरीले जनाएको छ। झडपमा परी विराटनगर ११ का ३१ वर्षीय रोशन कँडेल घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार खुकुरीले प्रहार गरेको जस्तो देखिने चोट कँडेलको देब्रे कानतर्फ रहेको छ।

झापाको घैलाडुब्बा घर भई विराटनगर ८ मा बस्दै आएका ३८ वर्षीय विक्रम थपलियाले कँडेलमाथि प्रहार गर्दा टाउको र देब्रे कानमा चोट लागेको थियो। उनको टाउकोमा १२ र कानमा पाँच टाँका लगाइएको छ । प्रहरीका अनुसार घटनामा संलग्न भएको आरोपमा थपलियालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ।

प्रकाशित: २८ पुस २०८० १३:२० शनिबार

क्यासिनो झगडा विराटनगर जुवा एकजना घाइते