समाज

‘सानै छु बढ्न देऊ, विबाह होइन बढ्न देऊ’ अभियान

उदयपुर – ‘सानै छु बढ्न देऊ, बाल विबाह होइन बढ्न देऊ’ भन्ने नारा लिएर बाल विबाहविरुद्ध अभियानरत उदयपुरको जाल्पा एकीकृत विकास समाजले आगामी दिनमा थप पैरवीमूलक योजना सार्वजनिक गरेको छ। सदरमुकामस्थित गाईघाटमा क्रियासिल जाल्पाको मंगलबार सम्पन्न साधारणसभा तथा अधिवेशनल आगामी दिनमा बाल विबाहविरुद्ध थप सशक्त कार्यक्रम सञ्चालन गर्दै संस्थालाई पूर्णरुपमा सञ्चारमैत्री बनाउने नीति तथा कार्यक्रम पारित गरेको जनाएको छ। 

अधिवेशनमा संस्थाका अध्यक्ष पुष्पराज पोखरेलले प्रस्तुत गरी पारित भएको भावी कार्यक्रममा संस्थाको नीति, नियमावली र निर्देशिका निर्माण तथा आवश्यक अनुसार परिमार्जन गर्ने, विभिन्न गतिबिधि र सामग्री प्रकाशन गर्ने, साझेदार संस्था विस्तार गर्ने, जनशक्ति विकास गर्ने, संस्थागत विकास र सञ्चारमैत्री नीति अघि सार्ने योजना छन्। अधिवेशनबाट पुनः निर्वाचित अध्यक्ष पोखरेलले संस्थाको कामकाजलाई आगामी दिनमा थप प्रभावकारी र समुदायमुखी बनाउँदै लाने प्रतिबद्धता व्यक्त गरे । पोखरेलले संस्था अझ बढी जवाफदेही र सुशासनमुखी हुँदै आफना गतिविधी समुदायमाझ लान सञ्चारमैत्री भएर अघि बढ्ने योजना अघि सारेको बताएका छन्।

उदयपुरका अगुवा गैरसरकारी संघसंस्थामध्येको एक जाल्पाको सोमबार र मंगलबार गाईघाटमा सम्पन्न २ दिने २३ औं साधारणसभा तथा ९ औं अधिवेशनले आउँदो ३ वर्षका लागि नीति तथा कार्यक्रम पारित गर्दै अध्यक्षमा पोखरेलललाई पुनः दोहो-याएको हो। ‘प्रगति र परिवर्तनका लागि युवा’ भन्ने नाराका साथ सम्पन्न अधिवेशनले बालविबाह रोक्न बिभिन्न कार्यक्रम गर्दै आएको छ। 

बालविबाह रोक्नका लािग संस्थाले ‘सानै छु बढ्न देऊ, बालविबाह होईन पढ्न देऊ’ भन्ने मूल नारा तय गरेर जिल्लाका बिभिन्न स्थानीय तहहरुमा पैरवीमूलक कार्यक्रम गर्दै आएको छ। पैरवीसँगै उसले बालमैत्री गतिबिधिलाई सहयोग पुग्ने भौतिक पूर्वाधार निर्माण र बृतिविकासका काम पनि गर्दै आएको संस्थाका कार्यक्रम संयोजक रुद्र पोखरेलले बताए। पोखरेलका अनुसार आगामी दिनमा संस्थाले जिल्लाका ४ नगर र ४ गाउँपालिका गरी ८ वटै स्थानीय तहसँग समन्वय र साझेदारी गर्दै बाल विबाहविरुद्धको कार्यक्रमलाई जिल्लाव्यापी बनाउने योजना अघि सारेको छ। 

प्रकाशित: ९ फाल्गुन २०७४ १०:२६ बुधबार

सानै छु बढ्न देऊ विबाह होइन बढ्न देऊ अभियान