समाज

सेन्सर बोर्डको वेबसाइट सुरु

केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले वेबसाइट सञ्चालनमा ल्याएको छ। शुक्रबार जावलाखेलस्थित प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सेन्सर बोर्डको वेबसाइट सुरुवात गरेकी छिन्।

फिल्म सेन्सरसम्बन्धी विभिन्न जानकारीसहित सेन्सर बोर्डले वेबसाइट सञ्चालनमा ल्याएको हो। ‘सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेको १ वर्ष मात्र भएको हुँदा फिल्म क्षेत्र मेरा लागि नौलो हो,’ सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले भनिन्, ‘फिल्म हेर्ने र कलाकार चिन्ने काम मात्र भइरहेको स्थितिमा यस क्षेत्रका विभिन्न समस्याबारे जानकारी हुनसकेको छैन। कानुन परिमार्जनको क्रममा भएकाले यस क्षेत्रको समस्या समाधान गर्न सकिने भएकाले सरोकार संस्थाहरूलाई परिमार्जन हुन लागेको कानुनका लागि आफ्नो रायसुझाव दिन आग्रह गर्दछु।’

उनले अहिलेको स्थितिमा फिल्मसम्बन्धी कानुन परिमार्जित हुनुपर्ने तर्क गरिन्। ‘२०२६ सालमा निर्माण भएको फिल्मसम्बन्धी कानुनले अहिलेको आवश्यकतालाई पूरा गर्न सक्दैन।

हामीले यस क्षेत्रका लागि आवश्यक छुट्टै कानुन तयारी गरिरहेका छौं। सम्भवतः माघदेखि सुरु हुने संसद्को अर्को अधिवेशनमा फिल्म कानुन पेस गर्ने तयारी गरिरहेका छौं। फिल्म र मनोरञ्जन मात्रै नभएर आम सञ्चारको क्षेत्र पनि हो। कम्तीमा पनि २० वर्ष काम गर्नसक्ने कानुन बनोस् भन्ने गरी सुझावको अपेक्षा गरेका छौं।’

सेन्सर बोर्डको कार्यालय नहुँदा भएको समस्यालाई ध्यान दिएर लाग्ने बताउँदै मन्त्री शर्माले सहजीकरण गर्ने वातावरण मिलाइने प्रतिबद्धता पनि जनाइन्।

प्रतिस्पर्धी फिल्म निर्माणका लागि गुणस्तर व्यवस्थापन गर्नु महŒवपूर्ण विषय भएको बताउँदै उनले स्वदेशी तथा विदेशी बजारमा प्रतिस्पर्धालाई ध्यान दिनुपर्ने तर्क गरिन्।

 महिला फिल्मकर्मीले भोग्नुपरेका समस्या पनि पृथक् भएकाले यसका लागि नीति तथा बजेट तर्जुमा गर्न आवश्यक सुझाव पेस गर्न आग्रह गरिन्।

सो कार्यक्रममा सेन्सर बोर्डका अध्यक्ष नेत्रप्रसाद सुवेदीले फिल्म जाँचको सेरोफेरो विषयमा आफ्नो प्रस्तुति राखेका थिए। नेपालमा फिल्म क्षेत्रको विकास र कार्यदिशामाथि चलचित्र विकास बोर्डका विशाल सापकोटा र सेन्सर बोर्ड र सरोकारवालाबीचका सम्बन्धबारे चलचित्र सेन्सर बोर्डका सदस्य ऋषिराज आचार्यले प्रस्तुति दिएका थिए।

प्रकाशित: २८ पुस २०८० ०२:५९ शनिबार

अक्षर सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा फिल्म सेन्सरसम्बन्धी विभिन्न जानकारी सेन्सर बोर्ड सेन्सर बोर्डका अध्यक्ष नेत्रप्रसाद सुवेदी