समाज

छोरी ‘नक्कली’, कागज सबै सक्कली

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले ‘नक्कली छोरी’ बनाई नागरिकता दिलाएको आरोप पुष्टि हुने सबै कागजातहरू सक्कली भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

रुबिना श्रेष्ठ भन्ने युवतीलाई मेयर सिंहले नागरिकता दिलाएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्सामा परेको उजुरीका आधारमा छानबिन गर्दा बाहिरिएका सबै कागजात आरोप पुष्टि हुने र कुनै पनि कागजात नक्कली नभएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिए।

‘जाहेरी परिसकेपछि अहिले जिल्ला प्रशासन कार्यालयमा अभिलेख कागजातको खोजी कार्य तथा सूचना संकलनमा लागीसकेका छौं,’ उनले भने, ‘छोरी रुवीना श्रेष्ठ र बुवा राजेशमान सिंह भन्ने नागरिकता अहिले मिडियामा आइरहेका सबै अभिलेख यहाँ कार्यालयको ढट्टामा भेटिएको छ।

उजुरीका आधारमा अहिले जिल्ला प्रशासन कार्यालय पर्सामा नागरिकता दिने समय चाहिने पुरक कागजातको खोजी सुरु भएको छ। ती कागजातहरू फेला पर्नासाथ नागरिकताको वास्वविकता पत्ता लाग्ने सहायक सिडियो लम्सालले बताए। नागरिकताको प्रतिलिपि पनि जारि भएको उनको भेटिएको उनको भनाइ छ।

‘यस विषयमा अहिलेसम्म छुट्टै छानबिन समिति बनाइएको छैन, तर कार्यालयको काम संगसगै यसका आवस्यक कागजातहरूको पनि खोजी कार्य सुरु भइसकेको छ,’ उनले भने।

मेयर सिंहको नक्कली नागरिकताको कागजात बाहिरिएपछि पहिलो दिन मंगलबार कारबाहीको मांग गर्दै पनि जिल्ला प्रशासन कार्यालय पर्सामा नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ का सभापति मोहम्मद सहाबुदिनले जाहेरी दरखास्त दर्ता गराएका थिए भने बुधबार सचेत नागरिक समाज वीरगन्जले छानबिन प्रक्रिया अगाडि बढाउन १५ जनाले समूहिक रूपमा उजुरी दिएका दिए।

प्रकाशित: २७ पुस २०८० ०३:०५ शुक्रबार

वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंह