समाज

थारु समुदायले टुँडिखेलमा माघी महोत्सव मनाउने

संस्कृतिको संरक्षण गर्न थारु समुदायले काठमाडौंको टुँडिखेलमा माघी महोत्सव मनाउने भएका छन्। माघ १ बाट थारु समुदायको नयाँ वर्ष सुरु हुने भएकाले थारु भाषा, संस्कृति र जनचेतनाको लागि पुस २९ र माघ १ गते टुँडिखेलमा महोत्सव आयोजना गरेको आयोजकले जनाएका छन्।

‘थारु संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान’ भन्ने नारा सहित माघी पर्व मनाउन लागिएको थारु राष्ट्रिय माघी महोत्सव, २०८० का संयोजक प्रेमिलाल चौधरीले जानकारी दिए।

२० भन्दा बढी थारु संघ संस्थाहरुको संयुक्त आयोजनामा हुने माघी महोत्सवमा थारु खानपिन/परिकार, प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला, पुस्तक प्रदर्शनी लगायतका करिब एक सय भन्दा बढी स्टलहरू रहने प्रचारप्रसार समितिका सदस्य सहदेव चौधरीले बताए।

महोत्सव प्रचार प्रसार गर्ने उद्देश्यको थारु संस्कृति, भेषभूषा, बाजा गाजा, संघ संस्थाको तूल ब्यानरसहित र्‍याली निकाल्ने आयोजकले जनाएको छ।

महोत्सवमा थारू सांस्कृतिक नृत्य तथा गीत (मघौटा, सखिया, हुर्दगंवा, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रंहवा) नाचसहित दुई दर्जनभन्दा धेरै नृत्य तथा गीतहरुको धमाकेदार प्रस्तुति रहने सांस्कृतिक उपसमितिका संयोजक नन्दुराज चौधरीले जानकारी दिए।

महोत्सवमा थारू जातिले माघी पर्वमा खाने विशेष खाना परिकार (ढिक्री, अन्डिक भात, विचरी, तिलको लड्डु, लाईमुरी, भुजा, बन्डी जाँडको झोल, दारु, केराको तरुवा, सखरखण्ड, खरिया, सुंगुर र बंगुरको मासु, परेवाको मासु, माछा, घोघी, गंगटो, सिधरा, मसुलार) रहनेछन्।

बालू सिन्की, बयरको चटनी, वरिया, चामलको गुरी, काथ्या रोटी, अन्डीक रोटी, तेलपौर रोटी, झभ्झा रोटी लगायत विभिन्न परिकारहरुको राख्ने आयोजकले जनाएका छन्। महोत्सवमा देशभरका थारु समुदायको उपस्थिति रहने आयोजकको दाबी छ।

महोत्सवमा हस्तकलाका सामग्रीहरु भेष भूषाः गोन्या (गुन्यु) चोल्या (चोलो), लेहङा, भेग्वा, अंगुछा, धोती, लंगौटी, धोती, कुर्ता, आँचर खडकी, घंघरिया, चौबन्दी टोपी, मन्द्रक झालर सहित अन्यमा ढकीया, ढक्ली, डेल्वा, भौंका, भौंकी, फेर्वा, पैनसटोपी, डेलिया आदि हस्तकलाका सामग्रीहरु प्रदर्शनीमा राख्ने भएका छन्।

प्रकाशित: २६ पुस २०८० १३:४० बिहीबार