समाज

मदन पुरस्कार बिजेता महेश बिक्रमलाई ३ वर्ष कैद,१६ लाख जरिवाना

विशेष अदालतले नेपाल प्रहरीका पूर्व डीआईजी एवं मदन पुरस्कार बिजेता महेशविक्रम शाह र दिपेन्द्र पनेरूलाई जनही ३ वर्ष कैद र १६ लाख ६९ हजार जरिवाना र उत्तिनै बिगो ठहर गरेको छ।

अदालतले ४  जनाको भ्रष्टाचार मुद्दामा २ जनालाई सफाई दिएको छ।पूर्व डीआईजी शाहसहित मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनका तत्कालीन लेखापाल प्रहरी नायब निरीक्षक (सई) दिपेन्द्रप्रसाद पनेरुको भ्रष्टाचार मुद्दा ठहर भएको हो।

लेखा सहायक हवल्दार केशव सिंह ऐरी, कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सन्जीव विशंखेले सफाई पाएका छन्।

विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर तथा न्यायाधीशहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले पुस ११ मा कसुर ठहर गरेको थियो भने आज बुधबार सजाय निर्धारण गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी जवानको तलब भत्ता हिनामिनामा गरेको आरोपमा २०७६ साल फागुन २० मा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।मुद्दा दर्ता भएको चारवर्ष पछि विशेष अदालतले मुद्दा फैसला गरेको हो।

२०७२ वैशाख २७ मा तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनमा प्रहरी जवानमा भर्ना भइ २०७२ पुस २२ मा तालिम सकिएका व्यक्तिलाई प्रहरी प्रधान कार्यालयले माघ ११ मा सरुवा भएको ठाउँबाट तलब भत्ता पाउने गरी पठाएको थियो।चारजनाको मिलेमतोमा २०७२ माघ र फागुनको तलब भत्तासमेत हिनामिना गरी भ्रष्टाचार गरेको दाबीसहित अख्तियारले मुद्दा दर्ता गरेको थियो।

प्रकाशित: २५ पुस २०८० १५:४० बुधबार

मदन पुरस्कार बिजेता महेश बिक्रमलाई ३ वर्ष कैद विशेष अदालत नेपाल प्रहरीका पूर्व डीआईजी महेशविक्रम शाह दिपेन्द्र पनेरू केशव सिंह ऐरी सन्जीव विशंखे विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर तेजनारायण सिंह राई रितेन्द्र थापा