समाज

पचहत्तर प्रतिशत निर्माण सकियो अत्याधुनिक र विश्वकै नयाँ प्रविधिजडित नयाँ संसद् भवनको

सिंहदरबारमा निर्माणाधीन संघीय संसद् भवन निर्माण जारी रहे पनि यसको निर्माण सम्पन्न हुन २५ प्रतिशत बाँकी रहेको छ। हिउँदे अधिवेशन बस्न नसके पनि आगामी बर्खे अधिवेशनमा बैठक बस्न सकिनेगरी काम अघि बढाइएको छ।

 २०७६ असोज १६ गते सम्झौता भई २०७९ असोज १६ गतेसम्म सम्पन्न गर्नेगरी काम सुरु भएको भए पनि कोभिडका कारण ६ महिना म्याद थप भएको थियो। एक सय ५६.७७ रोपनी क्षेत्रफलमा फैलिएको सिंहदरबारको पुतली बगैंचामा निर्माणाधीन भवनको हालसम्मको भौगिक प्रगति ७५ प्रतिशत भइसकेको छ भने यसको वित्तीय प्रगति ६५ प्रतिशत भएको छ।

अत्याधुनिक सुविधासम्पन्न र विश्वमै उत्पादन भएका नयाँ प्रविधि जडान गरी निर्माण गर्न लागिएको सो भवन सहरी विकास तथा भवन निर्माण विभाग मातहतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयबाट भइरहेको छ।

गत कात्तिकमा सभामुख देवराज घिमिरेले आयोजना प्रमुखसँग यसबारे जानकारी लिएका थिए। राज्य व्यवस्था तथा सुशासन समितिले पनि भवन निर्माणबारे सोमबार जानकारी लिएको छ।

परियोजना व्यवस्थापक प्रमेन्द्रकृष्ण श्रेष्ठले छानामा फलामको विम जडानमा ढिलाइ भएका कारण हिउँदे अधिवेशनमा बैठक कक्षलाई सम्पन्न गर्न नसिकिएको प्रतिक्रिया दिए। कुल पाँच अर्ब ६७ करोड २७ लाख (भ्याटसहित) सम्पन्न गर्नुपर्ने गरी सम्झौता भएको थियो। आयोजनाको निर्माण अवधि सुरु भएपश्चात तीन वर्ष हुने भनिएको छ। निर्माण व्यवसायी टुण्डी एसएचइसी जेभीले यसको ठेक्का लिएको छ।

भवन परिसरको बीच भागबाट देब्रेतर्फ प्रतिनिधिसभा भवन, दाहिनेतर्फ राष्ट्रियसभा भवन, बीचमा साझा लवी, अति विशिष्ट व्यक्तिको कार्यालय भवन, चमेनागृह, देब्रेतर्फ संसदीय समितिको भवन, पुस्तकालय/संग्राहलय, दाहिनेतर्फ संसदीय दलको कार्यालय भवन, संसद् सचिवालयको भवन, प्रेस छपाइ र सात सयवटा सवारीसाधन पार्किङ सुरक्षाकर्मी भवन रहेका छन्।

भवन निर्माणका लागि हाल दैनिक तीन सयभन्दा बढी कामदार खटिएको आयोजना कार्यालयले जनाएको छ। पछिल्लो सम्झौता बमोजिम आगामी चैत १५ गतेसम्म भवन हस्तान्तरण गरिसक्नुपर्ने हुन्छ।

प्रकाशित: २४ पुस २०८० ०२:५६ मंगलबार

सहरी विकास तथा भवन निर्माण विभाग सिंहदरबारमा निर्माणाधीन संघीय संसद् भवन निर्माण जारी