समाज

दलित लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय विभेदै विभेदमा

हुम्लाकी २४ वर्षीय निशा सुनार जब ११ कक्षामा पुगिन। उनलाई आफू लैङ्गिक अल्पसंख्यक भएको थाहा भयो। उनी घर जान सकिनन्। काठमाडौँमै बसेर पढाइ अघि बढाइन्। उनलाई संस्कृति पाठशालामा वेद पढ्ने इच्छा थियो। उनलाई दलित यौनिक अल्पसंख्यक भएकै  कारण कलेजले वेद पढ्न वञ्चित गर्यो।

त्यसपछि उनी स्नातक पढ्नको लागि विएमसी कलेज भर्ना भइन्। कलेजमा ब्लु डाइमनण्ड सोसाइटीकी भूमिका श्रेष्ठ पुगिन्। त्यसपछि मात्र उनी परिवारसंग आफ्नो यौनिकता बारेमा खुलिन्। तर हुम्ला जस्तो विकट गाउँमा उनको यौनिकता खुलेर बाँच्न सहज थिएन।

‘दलितको छोरो केटी भएर आयो भन्ने गर्थे’ उनले भनिन्।गाउँघरमा हुने यो घृणाले उनलाई बिझाइ रहयो। त्यसपछि काठमाडौँमै बसेर पढ्न थालिन्। यो बिचमा उनको एक पुरुषसँग प्रेम बस्यो । यो प्रेम सम्बन्ध आठ वर्ष सम्म चल्यो। बच्चा नजन्मिने देखेपछि उनलाई प्रमीले छोडे। यो घटनापछि उनको मनमा थप चोट पुथ्यो।कलेजमा हुने घृणाकै कारण उनले स्नातक तहको पढाइ पनि पुरा गर्न सकिनन्।

काठमाडौँमा डेरा खोज्न जाँदा दलित समुदायकै लैङ्गिक अल्पसंख्यक भएकोले कतै डेरा नपाएको पीडा झेलेको निशाले सुनाइन्। यतिमै चिया पसल खोलेकी थिइन। चिया पसल पनि प्रहरीको दबाबमा बन्द गरिन्। यी सबै दुःख झेल्नुमा लैंगिक तथा यौनिक अल्पसंख्यक दलित समुदाय भएकाले नै भएको उनले सुनाइन।  

महोत्तरीका ५६ वर्षीय यौनिक अल्प संख्यक कमलेश राउतले दलित लैंगिक तथा यौनिक अल्पसंंख्यक हुनुकाे कारणले समाजमा थुपै अपमान झेलेका छन्। जीविका चलाउन चिया पसल खोलेका छन्। तर उनले हरेक दिन जसो स्थानीयको मुखबाट अपमानित शब्द सुनिरहनु पर्छ।

हरेक दिन छक्का,हिजडा जस्ता शब्दले गाली गर्छन्,गाउँ छोडेर जाने ठाउँ छैन’ राउतले दुखेसो पोख्दै भने। यति मात्र हैन स्थानीयले कोही चिया पिउन जाने मान्छेलाई समेत दलितको चिया पसल हो नजाऊ भनेर भनेको कुरा सुन्दा अर्को चोट पर्छ। तर उनीसँग प्रतिकार गर्ने क्षमता छैन। धारामा जाँदा अरूले पानी भरेपछि मात्रा भर्न दिने अपमान उनको दैनिकी हो।

गाउँ–घरमा हुने भोज भतेरमा अलग्गै राखेर केराको पातमा खान दिने दृष्य अर्को डरलाग्दो विभेद छ। ‘हामीलाई थालमा कसैले खानदिंदैन, केराको पातमा मात्र दिन्छन्’ उनले भने। ५६ वर्ष पुगेका कमलेशको पति भने ८० वर्षका छन्।दलित भएकै कारण लैंगिक तथा यौनिक अल्पसंख्यकको पहिचानमा बाँच्न सहज नभएको खोटाङकी रोजन परियाले बताए।  

उनि जन्मिँदा महिला भएर जन्मे पनि उनको यौनिकता पुरुष हो। उनी थाहा पाउने भएपछि पुरुषको भेषमा हिँडेको र पुरुषले जस्तै व्यवहार गरेको कुरा आफ्नै आमाले स्वीकार गर्न सकेकी छैनन्। ‘मैले मेरो शारीरिक गुणको बारेमा आमालाई पटक–पटक भने पनि स्विकार्न सक्नु भएन, फोनमा यस्ती भइस् भनेर रोइदिनुहुन्छ, यो कुराले पीडा हुन्छ’ परियारले भनिन्।

लैङ्गिक तथा यौनिक अल्पसंख्यक शरीर विज्ञान हो भन्ने कुरा गैर दलित समुदायमा हुने चेतनाले सजिलै स्वीकार गरेका छन् भने दलित समुदायमा यसको अशिक्षाको कारण यौनिक अल्पसंख्यकलाई यातना हुने गरेको उनको दावी छ। ‘ मेरा साथीहरू पनि छन,कुरा बुझेर आमा बुवाले स्वीकार गरेको देख्छु’ उनले गैर दलित साथीहरूको विषयमा इङ्गित गर्दै भनिन्।

उल्लेखित दलित लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरू शुक्रवार राजधानीमा सामरी उत्थान सेवाले आयोजना गरेको‘ नेपालको क्लियर आन्दोलन र दलित क्लियर अन्तर संवाद’कार्यक्रममा सहभागी हुन आएका हुन्। उनीहरुले अरु लैङ्गिक तथा यौनिक अल्पसंंख्यकले भोग्ने पीडा भन्दा दोब्बर झेल्नु परेको सुनाए। कार्यक्रम आयोजक सामरी उत्थान सेवाले नेपालमा सञ्चालित क्लियर आन्दोलनले विविधतालाई समेट्न नसकेको बिषयमा गम्भीर हुनु पर्ने सुझाएको छ।

नेपाल जस्तो भौगोलिक, जातिगत, सांस्कृतिक,वर्गीय विविधता भएको देशमा विविधतालाई आन्दोलनले समावेशी बनाएर लैजानु पर्ने सामरी उत्थान सेवाकी कार्यक्रम निर्देशक विमला गायकले बताइन्। नेपाली समाजमा अन्तरजातीय प्रेम विवाहको कारण मारिएका, जेल जीवन भोगिरहेका दलित समुदायलाई क्विर आन्दोलनले उपेक्षा गर्नुको सट्टा समेटेर लैजानु पर्ने उनको धारणा छ। नेपालमा विस २०६८ देखि २०७८ सालको अवधिमा ७० जना दलित समुदायको हत्या भएको छ। हत्या हुनुको पछि अन्तरजातीय प्रेम र विवाह मुख्य कारण हुन्।  

नेपालको क्विर आन्दोलन यौनिक तथा लैंगिक अल्संख्यकको पहिचानमा सफल भए पनि त्यो भित्रको विविध समूहलाई समेट्न नसकेको अन्तरसंवादकी वक्ता गौरी नेपालीले बताइन्। ‘ लैंगिक तथा यौनिक अल्पसंख्यक बिचमा पनि दलितको तुलनामा गैर दलित लैंगिक तथा यौनिक अल्पसंख्यकलाई बढी स्वतन्त्रता छ,त्यो स्वतन्त्रता दलित क्विरलाई छैन, उनीहरु रोजेको प्रेम प्रस्ताव  राख्न पनि त्रासमा हुन्छन्’ नेपालीले भनिन्।  

सोही क्रममा ब्लु डाई मण्ड सोसाइटीकी अध्यक्ष भूमिका श्रेष्ठले क्विर आन्दोलन भित्र विविध समुदायका क्वियरलाई अहिलेको महिला, दलित तथा जनजाति आन्दोलनले समेत नसमेटेको उनको आरोप छ।‘जनजाति,महिला र दलितको लागि आरक्षण छ, ती आरक्षणमा कतै यौनिक तथा लैङ्गिक अल्प संख्यक समेटिएका छैनन्’ उनले भनिन्।दलित क्विरको मुद्दा दलित आन्दोलन भित्र पनि उठिनु पर्ने कार्यक्रमकी वक्ता कैलाश राईले बताइन्।  

‘दलित क्विरको मुद्दा महिला तथा दलित आन्दोलन भित्र पनि उठिनु पर्छ’ उनले भनिन्।सामरी उत्थान सेवाका कार्यक्रम संयोजक शिव हरी ज्ञवालीका अनुसार नेपालमा हाल २ सय जना दलित क्विर संगठित छन्। तर संगठित नभएका दलित क्लियर ७ सय जना भएको अनुमान छ। जात व्यवस्थाको प्रभाव लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायमा पनि रहेकोले दलित क्वियरहरुले अरुको तुलनामा बढी कठिनाइ झेल्नु परेको ज्ञवाली बताउँछन्।

प्रकाशित: २२ पुस २०८० १३:५२ आइतबार